काठमाडौं । विश्वकै ठूला पुस्तक प्रकाशक मध्येको एक पेन्गुइन र्यान्डम हाउसले आफ्ना पुस्तक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलको तालिमका लागि प्रयोग गर्न नदिने निर्णय लिएको छ । प्रकाशक पेन्गुइन र्यान्डम हाउसले एआईप्रतिको आफ्नो धारणा छापिएको रूपमा पुस्तकमा नै राख्ने भएको हो ।
यससँगै पुस्तकमा नै एआईको प्रयोगबारे आफ्नो धारणा लेख्ने पहिलो प्रकाशक पेन्गुइन र्यान्डम हाउस बनेको छ । अब नयाँ र पुनर्मुद्रण भएका पुस्तकहरूको प्रतिलिपि अधिकार पृष्ठमा ‘यस पुस्तकको कुनै पनि भाग एआई प्रविधि वा प्रणालीको तालिमका लागि प्रयोग गर्न नपाइने’ भनेर लेखिने बताइएको छ ।
पेन्गुइन र्यान्डम हाउसले यसअघि एक विज्ञप्ति जारी गर्दै आफ्नो लेखकको बौद्धिक सम्पत्ति संरक्षण गर्न प्रतिबद्धता समेत जनाएको थियो । यस कदमलाई सोही प्रतिबद्धताको हिस्साको रुपमा अर्थ्याइएको छ ।
यद्यपि पेन्गुइन र्यान्डम हाउसको यस कदमको कानुनी आधार भने कमजोर रहेको द भर्जले उल्लेख गरेको छ । तर वेबसाइटहरूले आफ्नो सामग्री एआईबाट बचाउन प्रयोग गर्ने robots.txt जस्तै यस कदमले भूमिका खेल्ने जनाइएको छ ।
अहिले विली, अक्सफोर्ड युनिभर्सिटी प्रेस, टेलर र फ्रान्सिस जस्ता शैक्षिक प्रकाशकहरू भने एआई मोडेलको तालिमका लागि सम्झौता गरिसकेका छन् ।