काठमाडौं । म्याग्दीमा अवस्थित अन्नपूर्ण गाउँपालिकामा अब सामान ढुवानी गर्ने काम ड्रोनबाट हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ८ को नागीदेखि मोहोरेडाँडासम्म अत्यावश्यक सामान ड्रोनबाट ढुवानी हुने भएको हो ।
यसका लागि राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको ड्रोन परीक्षण गरिएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार केन्द्रका प्राविधिकहरूले शुक्रबार र शनिबार सामान पठाएर परीक्षण गरेका थिए ।
नागीदेखि अलि उचाइमा रहेको मोहोरेडाँडासम्म सामान पुर्याएर फर्कन ड्रोनलाई १९ मिनेट लागेको थियो । त्यसक्रममा ड्रोनबाट पापड, चट्नी, टिस्यु पेपरलगायतका पाँच केजीसम्मको सामग्री ढुवानी गरिएको थियो ।
अहिले परीक्षण सफल भएको र आगामी दिनमा औषधी तथा अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्न ड्रोन प्रयोग गरिने गाउँपालिका अध्यक्ष पुनले सुनाए ।
नागी आविष्कार केन्द्रका संस्थापक एवं अध्यक्ष महावीर पुनको जन्मथलो हो । उनकै सक्रियतामा मोहोरेडाँडा पर्यटकीय स्थलमा समेत रूपान्तरण भएको छ । यसले गर्दा पनि ड्रोनबाट सामान ढुवानी गर्ने काम मोहोरेडाँडाका लागि विशेष हुने बताइएको छ ।