close

तिहारमा मिठामिठा परिकार बनाउन हेर्नुहोस् यी ५ युट्युब च्यानल

टेकपाना टेकपाना

कात्तिक १६, २०८१ १६:४८

तिहारमा मिठामिठा परिकार बनाउन हेर्नुहोस् यी ५ युट्युब च्यानल

काठमाडौं । समय तिहारको छ । नेपालीहरूको यस महान चाडलाई उज्यालोको पर्व भनेर समेत अर्थ्याइन्छ । तर यो चाड मिठोमिठो खानेकुराका परिकारका हिसाबले पनि उत्तिकै महत्त्व छ । चाहे आफन्तहरू घरमा आउँदा होस्, अथवा देउसी/भैलो खेल्न कोही आउँदा, परिकार चाहिन्छ । 

त्यति धेरै परिकार कसरी बनाउने ? के बनाउने ? यीबारे सबैलाई थाहा नहुन सक्छ । त्यस्तोमा युट्युब काम लाग्छ । युट्युबमा परिकार तयार पार्न सिकाउने युट्युब च्यानल बग्रेल्ती भेट्न सकिन्छ । त्यो पनि नेपाली भाषामा नै ।

आज हामी भिडिओ/अडियोको गुणस्तर, सब्सक्राइबर, अपलोड गरिएका भिडिओको सङ्ख्या, नियमितता, भ्युज, भिडिओमा खाना बनाउन सिकाउने शैली, इङ्गेजमेन्ट, परिकारको गुणस्तर जस्ता विषयलाई आधार मानेर पाँच युट्युब च्यानलबारे चर्चा गर्ने छौं: 


अमर पन्छि फुड वर्ल्ड (Amar Panchhi Food World)

खानाका परिकार बनाउन सिकाउनेमा यो पुरानो र सक्रिय मध्येकै एक च्यानल हो । यसमा माछामासु, तरकारी, अचार लगायतका परिकार बनाउन सिकाइएको छ । 

यसमा पनि परिकार बनाउन आवश्यक सामग्री र त्यसलाई बनाउने प्रक्रिया कथावाचन शैलीमा बताइएको छ । जसले गर्दा सिक्न इच्छुक व्यक्तिलाई पनि सहयोग पुग्छ ।

च्यानलमा खानाका परिकारहरू अनुसार प्ले लिस्ट बनाइएको छ । अकबरे खुर्सानीको अचार, गुन्द्रुक बनाउने तरिका, पिरो चाउचाउ बनाउने तरिका च्यानलका केही लोकप्रिय भिडिओ हुन् । 

सन् २०१७ देखि सक्रिय रहेको यो च्यानलमा एक लाख ६२ हजार सब्सक्राइबर छन् भने पब्लिस भएका भिडिओको संख्या ७५६ रहेको छ । यस च्यानलमा जान यहाँ क्लिक गर्नुहोस् । 

छेतेन दुक्पा रेसिपी (Tsheten Dukpa Recipe)

च्यानलमा छेतेन दुक्पा देखिन्छिन् । अनि बनाउन थाल्छिन् मिठामिठा परिकार । विगत पाँच वर्षदेखि युट्युब च्यानलमा ‘कुक’ र ‘प्रशिक्षक’को भूमिकामा यसरी नै उनी देखा परिरहेकी छिन् । 

सरल र सजिलो तरिकाले खाना पकाउन सकिने कुरामा विश्वास गर्ने उनले च्यानलमा नेपालीसँगै तिब्बती र भुटानी खानाका रेसिपीहरू लिएर आउने गर्छिन् । 

उनको च्यानलमा खाना, अचार, खाजा लगायतका विभिन्न परिकार कसरी बनाउने भनेर सिक्न सकिन्छ । कुल तीन लाख ७५ हजार सब्सक्राइबर रहेको उनको च्यानलमा भिडि‌ओको सङ्ख्या २९० छ । यस च्यानलमा जान यहाँ क्लिक गर्नुहोस् ।

सजिलो किचेन (Sajilo Kichen) 

युट्युब च्यानलमा परिकार बनाउँदै त्यसको प्रक्रियाबारे बताइरहेका भेटिन्छन् रमेश देउपाटे । नेपाली खानाका स्वादहरू तयार पार्न अरूलाई पनि सहयोग गर्न सकिन्छ भन्ने हेतुका साथ उनी युट्युबतिर लागेका हुन् । 

सोही कारण उनको च्यानलमा नेपालका विभिन्न जातजातिमा लोकप्रिय स्वादिष्ठ खानाका परिकार बनाउने शैली सिक्न सकिन्छ । त्यति मात्र नभएर ती खानाको अतिरिक्त जानकारीहरू समेत उनले भिडिओ मार्फत दिने गरेका छन् । 

खाना बनाउने प्रक्रिया, चाहिने सामान, तिनका गुण/विशेषता सबै उनले सकभर समेट्ने प्रयास गरिरहेका हुन्छन् । उनले पनि विगत पाँच वर्षदेखि च्यानलमार्फत परिकार बनाउन सिकाइरहेका छन् । कुल दुई लाख तीन हजार सब्सक्राइबर रहेको सजिलो किचेन च्यानलमा ८८९ ओटा भिडिओ छन् । यस च्यानलमा जान यहाँ क्लिक गर्नुहोस् । 

मेरो नेपाली किचेन (Mero Nepali Kitchen)

यो च्यानल पुरानो हुनुका साथै नियमित रूपमा सक्रिय पनि छ । च्यानलमा चाडपर्व अनुसारका खानेकुराहरू बनाउन सिकाइएको छ । त्यस्तै नेपाली बाहेक अन्य देशका खानेकुरा समेत यसमा देख्न सकिन्छ । 

परिकार बनाउने सरल तरिका, तिनको उपयोगिता च्यानलमार्फत सरल तरिकाले बताइएको छ । यस च्यानलमा कथावाचन शैलीमा परिकार बनाउन सिकाइएको छ । 

सेल, मासुको अचार, डुनोट, अनरसा, मेथीको अचार बनाउनरे तरिका यो च्यानलले सिकाउने केही परिकारहरू हुन् । च्यानलमा ३४६ ओटा भिडिओ अपलोड भइसकेका छन् । २०१७ देखि सक्रिय च्यानलमा आठ लाख १८ हजार सब्सक्राइबर छन् । यस च्यानलमा जान यहाँ क्लिक गर्नुहोस् ।

यम्मी नेपाली किचेन (Yummy Nepali Kitchen) 

'हेल्लो हाई नमस्ते…' सुरिलो अनि मिठो आवाजका साथ भिडिओको सुरुआत हुन्छ । अनि परिकार बनाउने सामग्री सँगसँगै त्यसको प्रक्रिया । यो स्वर हो 'यस्तै रहेछ यहाँको चलन', 'पिरतीको रहर', ‘ए हजुर ए हजुर’ लगायतका दर्जनौं गीत गाएकी देविका बन्दनाको । 

नेपाली भाषामा खाना बनाउन सिकाउने युट्युब च्यानलहरू नभएको समयमा नै गायिका बन्दनाले यो च्यानल सुरु गरेकी हुन् । सम्भवतः खाना बनाउन सिकाउने यो पहिलो नेपाली च्यानल पनि हो । सन् २०१५ मा सुरु भएको उनको च्यानल पछिल्लो वर्षहरूमा खासै सक्रिय देखिँदैन । यद्यपि च्यानलमा २०६ ओटा भिडि‌ओ अपलोड भइसकेका छन् । 

त्यस्तै नियमित नभएपनि उनले बेलाबेला भिडिओहरू राखिरहेकी छिन् । च्यानलमा खाना, खाजा, अचार, पेयका विभिन्न परिकारहरू बनाउन सिकाइएको छ । हालसम्म एक लाख ८९ हजार सब्सक्राइबर यो च्यानलमा जोडिएका छन् । यस च्यानलमा जान यहाँ क्लिक गर्नुहोस् । 

अन्य च्यानल

यी बाहेक खाना बनाउन सिकाउने थुप्रै नेपाली युट्युब च्यानल छन् । जस्तो: १० लाख सब्सक्राइबर कटाएको ‘यम्मी फुड वर्ल्ड’ । राम्रो सब्सक्राइबर बटुल्न सफल ‘रिताज् किचेन’ तथा ‘सेफ सुनी’ । तर यी च्यानल निष्क्रिय छन् । सेफ सुनीमा पछिल्लो समय केही भिडिओ अपलोड भएका छन् ।

त्यस्तै तीन वर्षको अवधिमा ९१६ बढी भिडिओ राखेको र राम्रो इङ्गेजमेन्ट भएको 'नेपाली भिलेज किचेन' । कम समयमा राम्रो चर्चा बटुल्न सफल ‘कान्छी किचेन’ । यी च्यानलमा परिकार तयार पार्दै गरेका भिडिओ नियमित राख्ने गरिए पनि परिकार त्यसको तरिका/प्रक्रियाको बारेमा भने खासै सिकाइएको छैन । सिक्नभन्दा पनि मनोरञ्जनात्मक उद्देश्यले हेर्ने दर्शकलाई लक्षित गर्दै ती च्यानल खोलिएका हुन् । 

यद्यपि ती च्यानलबाट सिक्नै नसकिने भन्ने पनि छैन । त्यस्तै अञ्जनाज नेपाली किचेनसादा रेसिपी, निना नेपाली किचेन, इजी किचेन रेसिपी, फुड एन्ड बेभरेज नेपाल, द फुड आर्टस, मम्स म्याजिक फुड, लर्न टु कुक विथ मी, राउन्ड चिली लगायतका अन्य च्यानल समेत तपाईँको छनौटमा पर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८१ १७:१४