close

अब ह्वाट्सएपमा आफूले चाहेअनुसार च्याट फिल्टर गरी सूची तयार पार्न मिल्ने

टेकपाना टेकपाना

कात्तिक १९, २०८१ १२:२७

अब ह्वाट्सएपमा आफूले चाहेअनुसार च्याट फिल्टर गरी सूची तयार पार्न मिल्ने

काठमाडौं । मेटाको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले च्याट व्यवस्थापनलाई थप सहज बनाउने भएको छ । कम्पनीले हालै एक ब्लग पोस्ट मार्फत प्रयोगकर्ता आफैंले च्याट फिल्टर बनाउन सक्ने फिचर आउन लागेको जानकारी दिएको हो ।

मेसेज फेला पार्न र व्यवस्थित गर्ने कार्यमा सहजता थप्न यसै वर्षको सुरुवात तिर ह्वाट्सएपले पहिलो पटक च्याट फिल्टर ल्याएको थियो । अहिलेको यो पछिल्लो संस्करणमा सोही लिस्ट (सूची) लाई थप परिष्कृत र विकसित तुल्याउन लागिएको हो ।

यो नयाँ कस्टमाइजेसनको विकल्पको सहयोगमा प्रयोगकर्ताले आफ्ना च्याटलाई Family, Local Neighborhood, work वा buddies जस्ता वर्गमा फिल्टर गर्न अथवा नयाँ व्यक्तिगत फिल्टर तयार पार्न सक्नेछन् । यसअघि सम्पूर्ण प्रयोगकर्तालाई All, Unread, Favorites र Groups फिल्टरमा सीमित राखिएको थियो ।

अब यस्ता फिल्टर आफैंले बनाउन सक्ने कुराले थप सहजता ल्याउने अपेक्षा गरिएको छ । प्रयोगकर्ताले च्याट ट्याबको माथिको फिल्टर बारमा रहेको (+) आइकनमा थिचेर सहजै आफ्नो चाहना अनुरूपका लिस्ट तयार पार्न र एडिट गर्न सक्नेछन् ।

यसरी नै फेभ्रेट फिल्टरमार्फत ग्रुप र एक एक जनासँग गरिने च्याटलाई लिस्टमा राख्न सकिनेछ । यसरी तयार पारिने लिस्ट फिल्टर बारमा देखिने ह्वाट्सएपले जनाएको छ ।

नयाँ लिस्ट बनाउन मिल्ने फिचर प्रयोगकर्ताका लागि गएको ३१ अक्टोबर, बिहीबारदेखि उपलब्ध हुन थालिसकेको छ । यदि तपाईंको ह्वाट्सपमा यो फिचर आइसकेको छैन भने आउँदा केही दिनमा उपलब्ध हुन सक्ने अपेक्षा राख्न सक्नु हुनेछ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८१ १२:२७