close

ह्याकरको निशानामा छन्, गुगलमा यी ६ शब्द टाइप गर्ने प्रयोगकर्ता

टेकपाना टेकपाना

कात्तिक २६, २०८१ १३:५१

ह्याकरको निशानामा छन्, गुगलमा यी ६ शब्द टाइप गर्ने प्रयोगकर्ता

काठमाडौं । प्रयोगकर्ता गुगलमा सबैभन्दा बढी के खोज्छन् वा कस्ता किवर्ड टाइप गरेर आफ्नो उत्सुकता मेट्छन् भन्ने विषयमा ह्याकरको बढी चासो हुने गर्छ । किनभने त्यस्ता उत्सुकता मेटाउने सामग्री राखेर उनीहरू प्रयोगकर्ताका संवेदनशील जानकारी हात पार्न सक्छन् । 

पछिल्लो समय गुगलमा ‘बेङ्गल क्याट (बाघ जस्तै देखिने बिरालो) पाल्नु कानुनी वा गैरकानुनी के हो’ भनी सर्च गर्ने व्यक्ति फरक किसिमको साइबर आक्रमणको शिकार बनेका छन् । साइबर सुरक्षा कम्पनी सोफोस (SOPHOS) ले आफ्नो वेबसाइटमा वार्निङ राख्दै सर्वसाधारणलाई यी ६ शब्द टाइप नगर्न सुझाव दिएको छ । 

गुगलमा ‘Are Bengal Cats legal in Australia ?’ भन्दै सर्च गर्ने प्रयोगकर्ताले सबैभन्दा माथि देखिने लिङ्कमा क्लिक गर्दा व्यक्तिगत जानकारी चोरी भएको जनाइएको छ । “यसमा सबैभन्दा पहिले पीडितहरूलाई प्रायः वैध मार्केटिङ जस्तो देखिने हानिकारक एडवेयर वा लिङ्कमा क्लिक गर्न प्रेरित गरिन्छ । वा यस अवस्थामा गुगल सर्चजस्तो देखिने लिंकमा क्लिक गर्न लगाइन्छ,” सोफोसले स्पष्ट पारेको छ । 

अहिले भने टाइप गरेको क्वेरिजमा ‘Australia’ राखेर सर्च गरियो भने हानिकारक लिङ्क शीर्ष स्थानमा देखिन्छ । यसको अर्थ यी किवर्ड गुगलमा सर्च गर्ने प्रयोगकर्ता आक्रमणको जोखिममा छन् । एक पटक रिजल्टको लिङ्कमा क्लिक गर्ने हो भने वैधानिक साइट जस्तो देखिन्छ । 

त्यसपछि उक्त साइटले गुटलोडर नामक प्रोग्राम मार्फत प्रयोगकर्ताको बैंक विवरण र अन्य व्यक्तिगत जानकारी चोर्छ । सोफोसका अनुसार यस प्रोग्रामले प्रोफाइलको कम्प्युटर नै लक गरी दिन सक्छ । ‘बेङ्गल क्याट’ शब्द सामान्य जस्तो लाग्ने भए पनि यो शब्दसँग ठुलो ह्याकिङको खतरा रहेको कम्पनीले उल्लेख गरेको छ । 

यही शब्द सर्च गरी फेला परेका वेबसाइटमा क्लिक गर्दा संवेदनशील जानकारी चोरी हुने खतरा छ । सोफोसका अनुसार ह्याकरले ‘एसईओ पोइजनिङ’का रूपमा चिनिने ट्रिक अपनाएर प्रयोगकर्तालाई खतरनाक वेबसाइटमा क्लिक गर्न लगाइरहेका छन् । 

यसमा ह्याकरले सर्च इन्जिनलाई झुक्याएर विभिन्न किवर्ड गुगलको शीर्ष स्थानमा देखिने बनाउँछन् । र, प्रयोगकर्ताले उक्त लिङ्कमा क्लिक गर्दा डेटा चोरी हुने जोखिम हुन्छ । 

सोफोसले एसईओ पोइजनिङको शिकार भएका प्रयोगकर्तालाई छिटोभन्दा छिटो पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ । नेपालको सन्दर्भमा पनि यस्तै किसिमको साइबर आक्रमणको घटना देखिएको छ । पछिल्लो समय आफूलाई समाचार पोर्टल दाबी गर्ने केही फेसबुक पेजले क्लिकबेट पोस्ट राख्ने र प्रयोगकर्तालाई खतरनाक विज्ञापनको लिङ्कमा क्लिक गराउने गरेका छन् । 

बेङ्गल क्याट

खासगरी फेसबुकको नयाँ ‘सजेसन एल्गोरिदम’को फाइदा उठाउँदै लिङ्कमा क्लिक गर्न लगाउँछन् र वेबसाइटको लिङ्कमा क्लिक गर्दा आईफोन जितेको भन्दै अर्को लिङ्क क्लिक गर्न लगाइन्छ । त्यस्ता लिङ्कमा क्लिक गर्दा फेसबुक अकाउन्ट ह्याक हुनेदेखि संवेदनशील डेटा चोरी हुने जोखिम रहन्छ । 

त्यस्तै कतिपयले फेसबुक पेजहरूले नेपालमा अवैध अनलाइन सट्‍टेबाजीका प्लेटफर्मको साइटमा समेत पुर्‍याउने गरेको पाइन्छ । भ्रामक जानकारी राखेर वेबसाइटको लिङ्क क्लिक गराउन खोज्ने फेसबुक पेज र वेबसाइटबाट जोगिन साइबर सुरक्षा विज्ञहरूले सुझाव दिँदै आएका छन् ।‍

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८१ १३:५४