close

न्युजिल्यान्डको संसदमा ‘हाका’ डान्स, विश्वभर भिडिओ भाइरल

टेकपाना टेकपाना

मंसिर १, २०८१ १९:१४

न्युजिल्यान्डको संसदमा ‘हाका’ डान्स, विश्वभर भिडिओ भाइरल

काठमाडौं । न्युजिल्यान्डको संसदमा एक युवा सांसदले आफ्नो परम्परागत नृत्यमार्फत विधेयकको विरोध जनाएपछि अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । माओरी समुदायकी २२ वर्षीया सांसद हाना रावहिती माइपी क्लार्कले​ आफ्नो समुदायको सांस्कृतिक नृत्य ‘हाका’ प्रस्तुत गर्दै  संसद्‌मा प्रस्तुत विधेयकको विरोध जनाएपछि उनको शैलीलाई धेरैले चासो देखाएका हुन् ।

संसद्‌मा माओरी समुदायको अधिकार खुम्च्याउने विधेयक प्रस्तुत भएको भन्दै ​उनले सांस्कृतिक नृत्यमार्फत आफ्नो असन्तुष्टि प्रकट गरिन् । उनले यसपहिले पनि यही शैली अपनाएर विरोध जनाएकी थिइन् ।

हानाले बिहीबार संसद्‌मा ‘टुतिरा माई नागा इवाई’ गीत गाएकी थिइन्, जसको अर्थ ‘आऊ, सबै जना सँगै आऊँ, एक जुट होऊ’ भन्ने लाग्छ ।​ यो गीत माओरी समुदायको सांस्कृतिक पर्वहरूमा गाइन्छ । आफ्नो समुदायलाई एकताबद्ध बनाउन र सरकारी कदमको विरोध जनाउन उनले यस्तो हर्कत अपनाएकी थिइन् ।

हानाले विधेयकको प्रति च्यात्दै हाका नृत्य सुरु गरेपछि संसद्‌का अन्य माओरी सांसद र ग्यालरीमा रहेका समर्थकहरूले पनि नृत्यमा साथ दिए । यस्तो शैलीको विरोधले संसद्‌लाई गुञ्जायमान मात्र बनाएन, छोटो समयमै विश्वभरको ध्यान पनि खिचिरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार सन् १८४० मा ब्रिटिस क्राउन र आदिवासी माओरीबिच एउटा सम्झौता भएको थियो, जसले माओरीहरूलाई अधिकार दिने आधारशीलाको काम गरेको थियो । तर अहिलेको सत्तारूढ गठबन्धनले सोही सन्धिमा भएका बुँदहरू पुन: व्याख्या गर्ने र आदिवासी माओरी समुदायको अधिकारमा कटौती गर्नेगरी विधेयक ल्याएपछि विवाद उत्पन्न भएको हो । 

१८४ वर्ष पुरानो उक्त सन्धिको पुनः व्याख्या गर्दै आफ्नो अधिकार कटौती गर्न खोजिएको भन्दै माओरी सांसदहरूले यसअघि नै विरोध जनाउँदै आएका थिए । बिहीबारको विरोधले भने यो विषयलाई थप चर्चामा ल्याएको छ ।

माओरी समुदायका सांस्कृतिक पहिचान र अधिकारलाई लिएर उठेको यो विवादले सामाजिक सञ्जालमा तीव्र बहस छेडेको छ । न्युजिल्यान्डका राजनीतिक विश्लेषकहरूले यस्तो विधेयकले देशमा जातीय विभाजन गहिराउने चेतावनी दिएका छन् ।

संसद्‌मा गरिएको विरोधले माओरी समुदायको सहनशीलता र गौरव झल्काएको भन्दै धेरैले प्रशंसा गरेका छन् । युवा सांसद हानाको यो साहसी कदमले उनी विश्वभर चर्चित बनेकी छन् ।

नेपालमा समेत सामाजिक सञ्जालमा यस भिडिओबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् । कतिपयले आफ्नो पहिचान जोगाउन माओरी सांसदले गरेको विरोधलाई सम्मान गरेका छन् । कतिपयले यस्तो अनौठो शैलीलाई लिएर चासो व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०८१ १९:२४