close

युट्युबकाे ग्लोबल ट्रेन्डिङमा आइपुग्यो सुशान्त केसीको ‘बार्दली’, रुकुम मैकोट ६० औं स्थानमा

टेकपाना टेकपाना

मंसिर २, २०८१ १९:३१

युट्युबकाे ग्लोबल ट्रेन्डिङमा आइपुग्यो सुशान्त केसीको ‘बार्दली’, रुकुम मैकोट ६० औं स्थानमा

काठमाडौं । गायक सुशान्त केसीको गीत ‘बार्दली’ ग्लोबल म्युजिक ट्रेन्डिङको शीर्ष ९३ औं स्थानमा परेको छ । तीन हप्ताअघि सार्वजनिक भएको यो गीत ग्लोबल ट्रेन्डिङमा पर्ने तेस्रो नेपाली गीत हो । 

सबैभन्दा पहिले ‘कस्मिरे पछ्यौरी’ गीत ग्लोबल ट्रेन्डिङमा परेको थियो । त्यस लगत्तै नेपाली कथानक चलचित्र खुस्माको गीत ‘रुकुम मैकोट’ ग्लोबल ट्रेन्डिङमा परेको थियो । शीर्ष ५७ सम्म परेको यो गीत पछिल्लो सातादेखि शीर्ष ६० औं स्थानमा यथावत् छ । यस गीतमा हालसम्म पाँच करोड ८९ लाख भ्युज आएको छ । 

युट्युबले हरेक आइतबार अद्यावधिक गर्ने ग्लोबल ट्रेन्डिङकाे सूचीमा यो साता सुशान्तको गीत परेको हो । तिहारकाे आसपासमा सार्वजनिक भएको यो गीत टिकटक भिडिओ, इन्स्टा र फेसबुक रिलमा अत्यधिक रुचाइएको छ । 

यो समाचार तयार पार्दासम्म यो गीत नेपालमा म्युजिकका लागि ट्रेन्डिङ वनमा रहेको छ । यसमा एक करोड ४५ लाख बढी भ्युज छ ।

ग्लोबल ट्रेन्डिङमा पर्नका लागि गीत अधिकांश देशबाट हेरिएको हुनुपर्छ । त्यसबाहेक अन्य प्लेटफर्ममा गीत कत्तिको रुचाइएको छ भन्ने विषयले पनि ग्लोबल ट्रेन्डिङमा पर्ने/नपर्ने भूमिका खेल्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०८१ १९:३८