close

डलर पाउने आशामा नक्कली अमेरिकी नागरिकको भर पर्दा अनलाइनबाट गुम्यो ८ लाख रुपैयाँ

टेकपाना टेकपाना

मंसिर ५, २०८१ १९:१४

डलर पाउने आशामा नक्कली अमेरिकी नागरिकको भर पर्दा अनलाइनबाट गुम्यो ८ लाख रुपैयाँ

काठमाडौं । सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ३७ वर्षीय राजेश श्रेष्ठ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपी श्रेष्ठलाई मङ्गलबार हाँडीगाउँबाट पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रेष्ठ सबैभन्दा पहिले पीडितसँग सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमा जोडिन्थे । त्यसपछि आफू अमेरिकी नागरिक भएको र मिसनका लागि सिरिया गएको भन्दै पीडितलाई विश्वस्त बनाउँथे । त्यसपछि आफूले सिरियामा कमाएको डलरबाट केही नेपाल पठाइदिने भन्दै उनी पीडितसँग नजिकिन्थे ।

पीडितले विश्वास गर्ने अवस्था सिर्जना गरिसकेपछि उनी तत्काल केही डलर कुरिअर गरेर पठाइदिएको बताउँथे । त्यसपछि पीडित पनि डलर पाउने आशमा पर्खिरहेका हुन्थे । त्यहीबेला भन्सारमा कस्टम चार्ज, एन्टी मनि लाउन्ड्रिङ लगायतका चार्ज लाग्ने भन्दै जालोमा पारेको पीडितलाई बैंक खाता पठाउँथे । र, पीडितलाई त्यसमा रकम पठाउन लगाउँथे ।

यसरी पटक पटक गरी कूल सात लाख ७५ हजार रुपैयाँ बढी लिएर सम्पर्कविहीन भएको भन्दै पीडितले कार्यालयमा उजुरी दिएका थिए । त्यसैको आधारमा अनुसन्धान गर्दा श्रेष्ठ पक्राउ परेको कार्यालयले जनाएको छ । उनीमाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८१ १९:५७