काठमाडौं । नेपालमा अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेटको एजेन्ट भई कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर घर भई हाल ललितपुर बस्दै आएका ३७ वर्षीय सुनिल राई रहेका छन् ।
राईले अवैध रूपमा अनलाइन जुवाको प्लेटफर्म सञ्चालन गरिरहेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरीको टोली खटिएको थियो । आरोपित राईलाई उक्त टोलीले बुधवार सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आरोपित राईले पाँचभन्दा बढी बैंक खाता, १२८ ओटा ईसेवा वालेट प्रयोग गरी हालसम्म ५५ करोड बढीको कारोबार गरेको देखिएको छ । उनी वनएक्सबेटमा बाजी राख्न चाहने व्यक्तिले पठाएको रकम वालेटमा राख्न लगाउँथे । र, वालेटमा रकम आइसकेपछि वन एक्स बेटको वालेटमा टपअप गरिदिन्थे । अर्थात् प्रारम्भिक अनुसन्धानका क्रममा उनले एजेन्टको काम गरेको देखिएको छ ।
मरेको व्यक्तिको नाममा पनि बैंक खाता खोल्थे
प्रहरी उपरीक्षक आचार्यका अनुसार आरोपित राई विभिन्न तवरबाट प्राप्त कागजात प्रयोग गरी सिम निकाल्ने, त्यसैबाट बैंक र वालेट खाता खोल्ने गर्थे । “उसले मरिसकेको व्यक्तिको नाममा पनि बैंक खाता खोलेको देखिएको छ,” प्रहरी उपरीक्षक आचार्यले भने, “सिमकार्ड र वालेट अकाउन्ट पनि त्यसरी नै अरू व्यक्तिको नाममा लिएको देखिन्छ ।”
बैंक तथा वालेट अकाउन्ट खोल्ने क्रममा बैंक तथा वालेट अकाउन्टलाई झुक्याउन उनी आफ्नै फोटो टास्ने गरेको पनि देखिएको छ । यसरी खोलेका बैंक खातामा ३७ करोड २० लाख ९६ हजार रुपैयाँ डेबिट र ३७ करोड २६ लाख ६२ हजार रुपैयाँको बराबरको क्रेडिट कारोबार गरेको देखिएको आचार्यले बताए ।
टेकपानासँगको कुराकानीमा आरोपी राईले बैंक खाता खोल्न, वालेट अकाउन्ट बनाउन र सिम लिन आफन्तहरूको नागरिकता प्रयोग गरेको बताए । तर, २०० भन्दा बढीको कागजात आफन्तबाट प्राप्त गर्ने विषय आफैंमा शङ्कास्पद छ ।
“मैले सबैभन्दा पहिले फेसबुकमा विज्ञापन देखेर वनएक्स बेटमा आएको थिएँ,” राईले भने, “त्यसपछि वनएक्सबेटकै मान्छेले जुम मिटिङबाट तालिम दिएर कारोबार गर्न सिकाए । अकाउन्ट बनाउन आफन्तको नागरिकता प्रयोग गरेको हुँ ।”
तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भने उनको भनाइ बनावटी रहेको बताउँछन् । राईले १०० ओटा सिमकार्ड कुनै व्यक्तिबाट प्राप्त गरेको जिकिर गरिरहेका थिए । राईको आईपी एड्रेस ट्रेस गर्दा यी सबै गतिविधि उनले नै गरेको देखिएको अनुसन्धानमा खटिएका प्रहरीले बताएका छन् ।
त्यसैगरी फरक-फरक व्यक्तिको नामबाट खोलिएका १२८ ओटा ईसेवा वालेट विभिन्न डिभाइसमा लगइन गरेको पनि देखिएको छ । फरक फरक डिभाइसमा लगइन गरेको ईसेवा वालेटमा उनले ११ करोड ६७ लाख १९ हजार रुपैयाँ डेबिट र ११ करोड ७० लाख ९७ हजार रुपैयाँ क्रेडिट बढीको कारोबार गरेको खुलेको छ ।
त्यस्तै वनएक्सबेटमा रकम पठाउनका लागि उनले बाइनान्स आईडी खोलेको देखिएको छ । उनको उक्त आईडीमा हालसम्म छ करोड २३ लाख २४ हजार रुपैयाँ बढी प्रयोग गरेको देखिएको छ ।
त्यसैगरी उनले २५ ओटाभन्दा बढी जिमेल अकाउन्टबाट वनएक्स बेट प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
आरोपी राईबाट दुई थान ल्यापटप, आठ थान मोबाइल सेट, ७० ओटा एनसेलको सिम, पाँच ओटा एनटीसीको सिम र दुई ओटा वाईफाई राउटर बरामद गरिएको छ । त्यस्तै ११ ओटा नागरिकता, १५ ओटा राहदानी, ४२ ओटा एटीएम कार्ड, २२ थान चेकबुक पनि बरामद गरिएको छ ।
राईमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ को दफा १२५ जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा अनुसन्धान भइरहेको छ । उनलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।