close

अनलाइनमा अहेबको सेवा दिने युवक यसरी बने हनिट्रयापको शिकार

टेकपाना टेकपाना

मंसिर १३, २०८१ ९:५४

अनलाइनमा अहेबको सेवा दिने युवक यसरी बने हनिट्रयापको शिकार

काठमाडौं । स्थान: काठमाडौं उपत्यकाको अपराध अनुसन्धान कार्यालय भवन, टेकु । समय: दिउँसो साढे २ बजे । प्रहरी उपरीक्षक अङ्गुर जीसीको कार्यकक्ष ।

कार्यालयको झ्यालबाट परसम्म प्रदूषण फैलिएको उपत्यकाको दृश्य देखिन्थ्यो । तर भित्रको माहौलले एउटा गहिरो तनावको अनुभूति गराइरहेको थियो ।

प्रहरी उपरीक्षक अङ्गुर जीसी आफ्नो कुर्सीमा गम्भीर मुद्रामा बसेका थिए । त्यसको दायाँपट्टि कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्य थिए । छेउमा दुई जना पत्रकार !

अगाडि दुई युवती र एक युवकको हातमा हतकडी बाँधिएको थियो । उनीहरूलाई कोठासम्म दुई अनुसन्धान अधिकारीले ल्याएका थिए । उनीहरूको अनुहारमा धेरै थकान, अलिकति डर र एक प्रकारको निस्सहाय मिसिएको देखिन्थ्यो । 

पक्राउ परेकाहरू २५ वर्षीया समृद्धि मगर, २५ वर्षीया वर्षा दर्जी र ३० वर्षीय दिपेन्द्र दर्जी हुन् । उनीहरू आफूले कसैलाई पनि नठगेको, बरु आफैं पीडित भएको जिकिर गरिरहेका थिए ।

पक्राउ परेका उनीहरूमाथि लागेको आरोप ‘हनी ट्रयाप’को थियो । तीमध्ये दिपेन्द्र दर्जी त्यसअघि आफ्नै श्रीमतीकै हत्या गरेको अभियोगमा जेल सजाय कटाइसकेका थिए । यद्यपि प्रहरीका अघि पनि उनी त्यो हत्या नियोजित रूपमा भएको बताइरहेका थिए । 

प्रहरी उपरीक्षक जीसीले आरोपीहरूसँग ‘हनी ट्रयापका विषय’मा केरकार गरिरहेका थिए । तर, वर्षा दर्जीले आफूमाथि बलत्कार भएको बताइरहेकी थिइन् । तर, भन्नलाई मात्रै त्यसो भनिरहेको जस्तो उनको अनुहारले भावले झल्काउँथ्यो । 

के हो घटना ?

यस घटनाको जरामा पुग्न पीडितसम्म पुग्नुपर्ने हुन्छ । ती पीडित व्यक्ति हुन्, रौतहटका २३ वर्षीय राधे शर्मा (नाम परिवर्तन) । उनी पेसाले अहेब हुन् । काठमाडौंको एक अस्पतालमा काम गर्दै आइरहेका उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन् ।

सामाजिक सञ्जालमा उनले आफूले दिने सेवाको बारेमा जानकारी राखिरहेका हुन्छन् । अर्थात् एक हिसाबले उनी आफ्नो सेवा अनलाइनबाटै पनि अगाडि बढाउँदै आइरहेका छन् । सामाजिक सञ्जालकै पोस्ट देखेर धेरैले उनलाई सम्पर्क गर्छन् । यस्तोमा उनी घरमै पुगेर सेवा दिन्छन् ।  

खासगरी उनको काम बिरामीलाई ड्रेसिङ गरिदिने र अन्य आवश्यक औषधि उपलब्ध गराइदिने थियो । त्यही क्रममा ६ मंसिर २०८१ मा उनलाई वर्षा दर्जीको फेसबुक मेसेज रिक्वेस्ट आयो । मेसेजमा दर्जीले घाउको फोटो पठाउँदै ड्रेसिङ गरिदिन कौशलटार बोलाइन् । 

दिनहुँ गरिरहने काम आएपछि शर्माले पनि सहजै स्वीकारे र लोकेसन मागे । लोकेसन पाएपछि उनी वर्षा दर्जीले बोलाएको ठाउँमा पुगे । तर, त्यहाँ वर्षाको खुट्टामा केही घाउ थिएन ।

त्यहाँ पुगेपछि वर्षाले ड्रेसिङ गर्नुपर्ने व्यक्ति अरू नै भएको बताइन् । पहिले मेसेजमा आफैंलाई ड्रेसिङ गर्नुपर्ने छ भनेकी उनले पछि अर्कै व्यक्ति भएको बताइन् । केही समय अकमकिएका शर्मा युवतीले अर्को व्यक्तिलाई ड्रेसिङ गर्नुपर्ने भनेपछि ‘होला त’ भन्ने हिसाबले अगाडि बढे । 

वर्षाले अहेब शर्मालाई सरासर आफ्नो भाडाको कोठामा लिएर गइन् । तर, त्यहाँ उनले असामान्य रूपमा यौन संकेत जनाउने व्यवहार देखाइन् । शर्मा एकछिन हेरेको हेर्‍यै भए । के भइरहेको छ भन्ने केही भेउ पाउन सकेनन् । त्यसपछि युवतीले युवकलाई कोठामा एकछिन बस्नु है भन्दै बाहिर निस्किइन् । 

बाहिर निस्किएको दुई मिनेटमै वर्षा फेरि कोठामा फर्किइन् । उनीसँगै अन्य कोठामा बस्ने व्यक्तिलाई केही थाहा नहोस् भन्ने उद्देश्यले झ्यालको पर्दा राम्रोसँग लगाइन् । त्यसपछि, वर्षाले युवकको र आफ्नै लुगा खोल्न सुरू गरिन् ।

युवकले पनि त्यो माहोलमा भुले । उनले युवतीलाई रोक्ने प्रयास गरेनन् । तर, त्यतिबेलासम्म पनि उनी अलमल्ल परिरहेका थिए । वर्षाले उनलाई बेडमा लगिइन् । केही समयपछि युवकलाई आफूले गलत गरिरहेको छु कि भन्ने महसुस भयो । अनि तत्कालै लुगा लगाएर कोठाबाट निस्किन तम्सिए ।

तर, युवतीले रोकिन् । युवकले आफूलाई त्यतातिर केही रुचि नभएको भन्दै हतार गरे । त्यहीबेला उनको ढोका बाहिरबाट समृद्धि मगर केही थाहा नभए जसरी भित्र प्रवेश गरिन् । त्यहाँ के भइरहेको छ भन्ने बुझ्न खोजेझैं वर्षालाई प्रश्न सोधिन् । वर्षाले जवाफमा अहेबले आफूलाई जबरजस्ती करणी गरेको बताइन् ।

“तिमीसँग सल्लाह गर्नुछ । मानेनौं भने हामी ‘जबरजस्ती करणी गरेको उजुरी’ प्रहरीमा दिन्छौं,” समृद्धि मगरले युवकलाई झपार्दै भनिरहेकी थिइन् । युवकले पनि आफूले केही नगरेको भन्दै त्यहाँबाट निस्किने अडान कसिरहेका थिए । पछि उनीहरूले रोक्ने प्रयास गर्दागर्दै पनि युवक आफ्नो स्कुटर लिएर निस्किए । 

त्यसको भोलिपल्ट समृद्धि मगर र दिपेन्द्र दर्जी युवक (अहेब)ले काम गर्ने अस्पतालसम्मै पुगे । र, क्षतिपूर्ति दिनुपर्ने माग राखे । सुरुमा क्षतिपूर्ति नै १८ लाख रुपैयाँ मागेपछि युवक झस्किए । उनले जे गर्छौ गर भन्ने जवाफ फर्काए । तर, सँगै गएका दीपेन्द्र दर्जीले युवकलाई थर्काउँदै प्रहरीको जिम्मा लगाउने बताए ।

नसकिने रहेछ भन्ने भएपछि उनले क्षतिपूर्ति वापतको रकम तिर्ने वाचार गरे । तर, रकम घटाउनु पर्ने बताए । समृद्धि र दिपेन्द्रले रकम घटाएर आठ लाख रुपैयाँ दिनुपर्ने अडान राखे । 

अहेब आफ्नो भविष्य र करिअर सम्झिएर त्यति रकम दिन तयार भएका थिए । सबैभन्दा पहिले उनले २५ हजार रुपैयाँ नगद बुझाए । त्यसपछि २५ हजार अनलाइनबाट पठाए । त्यस लगत्तै वर्षा दर्जीको नाममा चेक काट्न लगाइयो । उनले ७५ हजार रुपैयाँको चेक काटिदिए ।

त्यही समयमा अहेबले आफूमाथि भइरहेको घटना आफू काम गर्ने अस्पतालका सञ्चालकलाई भनेका थिए । अस्पताल सञ्चालकले अहेब हनी ट्रयापमा परेको अड्कल काटे । र, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय गई प्रहरी अधिकारीहरूसामु घटनाको बेलीविस्तार लगाए । 

उता अहेबले चेक लिन ११ मंसिरमा दीपेन्द्र दर्जी र समृद्धि मगरलाई बोलाए । चेक लिन गएको बेला कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लियो । त्यसको भोलिपल्ट अर्थात् १२ मंसिरमा प्रहरीले दिपेन्द्र दर्जी र समृद्धि मगरको सहयोगमा २५ वर्षीया वर्षा दर्जीलाई नियन्त्रणमा लियो । 

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार यस घटनामा अर्का एक व्यक्ति पनि संलग्न रहेको देखिएको छ । उनी बाहिर नदेखिए पनि भित्रबाटै यस गिरोहलाई सञ्चालन गर्ने गरेको पाइएको छ ।  “यसमा अहिले एक जना पीडित भएको देखिएको छ । तर, यिनीहरूको शैली हेर्दा अरू पनि पीडित भएको देखिन्छ,” प्रहरी अधिकारीले टेकपानासँग भने ।

उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८१ १०:३४