काठमाडौं । माई सेकेन्ड टिचरबाट कक्षा ११ र १२ मा कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीले अब बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट निःशुल्क प्रमाणपत्र पाउने भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लन्डन मेट्रोपोलिटन युनिभर्सिटी, माई सेकेन्ड टिचर र इस्लिङटन कलेजका प्रतिनिधिले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
“राज्यको करिब करिब शून्य प्रतिशत लगानी रहेको यो (आईटी) क्षेत्र मुलुकको आम्दानीका हिसाबले पर्यटनभन्दा बढी हुने तर्फ उन्मुख छ,” आईएनजी ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने, “हामीले युवाहरूलाई नेपालमै राखेर आईटी क्षेत्रमा संलग्न गराइ देशको कायापलट गर्न सक्छौं भन्नेमा हामी विश्वास राख्छौं ।”
उनका अनुसार माई सेकेन्ड टिचरबाट ११ र १२ कक्षामा कम्प्युटर साइन्स पढेका विद्यार्थीले निःशुल्क रूपमा यूकेको पब्लिक युनिभर्सिटी लन्डन मेट्रोपोलिटन युनिभर्सिटीले इन्डोर्स गरेको ग्लोबल सर्टिफिकेट पाएपछि नेपालको आईटी क्षेत्र अझै सफल बन्ने पक्कापक्की छ ।
युनिभर्सिटीका स्कुल अफ कम्प्युटिङ एन्ड डिजिटल मिडिया विभागका डिन क्रिस्टोफर लेन, इस्लिङटन कलेजका कार्यवाहक सीईओ रोहित पाण्डे र माई सेकेन्ड टिचरका प्रमुख मेधा भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालमै बसेर आईटी अध्ययन गर्न र विश्व बजारमा आफूलाई प्रतिस्पर्धी बनाउन यस अभियानले विद्यार्थीलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।