close

रवि लामिछानेको हिरासतको तस्बिर सामाजिक सञ्जालमा भाइरल, के हाे यथार्थ ?

टेकपाना टेकपाना

पुस ४, २०८१ ११:१५

रवि लामिछानेको हिरासतको तस्बिर सामाजिक सञ्जालमा भाइरल, के हाे यथार्थ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत कक्षको भनिएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्बिरमा एक व्यक्ति सिरक ओढेर सुतिरहेको देखिन्छ । ​टेबलमा केही पुस्तक, पानीको बोतल र अन्य सामाग्रीहरू छन् । एउटा प्याकेटमा ‘टोकला टी’ लेखिएको स्पष्ट देखिन्छ ।

रास्वपाका नेता, कार्यकर्ताहरूले ती व्यक्ति रवि लामिछाने भएको दाबी गर्दै प्रहरीले गलत नियतले तस्बिर लिक गरेको आरोप लगाएका छन् । "अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला’, रास्वपाका कोषाध्यक्ष दीपक बोहोराले फेसबुकमा लेखेका छन् ।

बुधबार साँझदेखि अनलाइनमा भाइरल भइरहेको यो तस्बीरलाई लिएर सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहस भइरहेको छ । कतिपले फोटो फेक भएको अड्कल गरेका छन् । केहीले भने टेबलमा राखिएका पुस्तक अरबी भाषाको भन्दै रास्वपा कार्यकर्ताले भ्रम फैलाएको जिकिर गरेका छन् ।

यसैबीच कास्की प्रहरी कार्यालयले फोटो सार्वजनिक भएको विषयमा छानबिन थालेको छ । कार्यालय प्रमुख एसपी श्याम ओलियाले घटनाबारे अनुसन्धान गरिसकेको भन्दै संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताए ।

यसैबीच आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले आफूले सीसीटीभी मनिटरबाट उक्त फोटो खिचेको दाबी गरेका छन् । उक्त फोटो केही दिनअघि भुसालकै आईडीबाट पोस्ट भएर डिलिट गरिएको पनि पाइएको छ । भुसालले एक सञ्चारमाध्यमसँग बोल्दै तस्बिर आफैंले खिचेको र कसैलाई दोषारोपण नगर्न आग्रह गरेका छन् ।

कानुनका जानकारहरूले कसैको फोटो अनुमति बिना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय अपराध भएको बताएका छन् । हिरासतमा रहेका व्यक्तिको तस्बिर सार्वजनिक गर्नु कानुनी दृष्टिकोणले पनि विवादास्पद हुने उनीहरूको भनाइ छ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०८१ ११:३६