काठमाडौं । नक्कली प्राविधिक कलेज सञ्चालन गरेर विद्यार्थी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल चितवनमा बस्दै आएका २८ वर्षीय प्रदीप सुवेदी रहेका छन् ।
प्रहरीका अनुसार, काठमाडौंमा मुख्य कार्यालय रहेको ईशा हेल्पलाइन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिले सुवेदीलाई चितवन, भरतपुरस्थित शाखा कार्यालय सञ्चालनको जिम्मा दिएको थियो ।
तर, सुवेदीले मुख्य कार्यालयको बोर्ड हटाएर जीडी मल्टी टेक्निकल कलेज प्रालिको बोर्ड राखी तालिम दिने गरेको पाइएको छ । उनले तालिमका लागि आउने विद्यार्थीलाई ईशा रिसर्च सेन्टर र जीडी टेक्निकल कलेज एउटै हो भनेर झुक्याउने गर्थे ।
सुवेदीले विद्यार्थीबाट रकम ठगी गर्नुका साथै मुख्य कम्पनीको लेटरप्याड र छाप दुरुपयोग गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठगीसम्बन्धी जाहेरी परेपछि उनलाई पुस २ गते चितवन प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि थप ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।