close

गुगल सर्चमा अब छुट्टै एआई मोड हुने

टेकपाना टेकपाना

पुस ६, २०८१ १५:१०

गुगल सर्चमा अब छुट्टै एआई मोड हुने

काठमाडौं । गुगल सर्चमा छुट्टै एआई मोड आउने भएको छ । गुगल सर्चमा एआईकै जवाफ चाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो । 

द भर्जका अनुसार यसका लागि गुगलले छुट्टै इन्टरफेस ल्याउन लागेको छ, जुन जेमिनाई एआईसँग मिल्दोजुल्दो हुनेछ । बाहिरिएका रिपोर्ट अनुसार गुगलमा केही सर्च गरिसकेपछि आउने रिजल्टसँगै एआई मोडको अप्सन पनि देखिनेछ ।

अहिले गुगल सर्च गर्दा इमेज, न्युज, भिडिओज लगायतका ट्याब देखिन्छन् । त्यही सँगै बायाँपट्टि अब एआई ट्याब मोड देखिनेछ । एआई मोडबाट प्राप्त रिजल्टको स्रोत पनि त्यसैमा देखिनेछ । उक्त रिजल्ट चित्त नबुझेको अवस्थामा थप प्रम्प्ट राखेर प्रश्न सोध्न सकिनेछ । 

अहिले गुगल सर्च गर्दा एआईले तयार पारेको जवाफ शीर्ष स्थानमा देखिन्छ । तर, प्रयोगकर्ता त्यसबाट सन्तुष्ट भएको देखिंदैन । त्यसैले एआईको जवाफ डेडिकेटेड ट्याबमार्फत उपलब्ध गराउने योजना गुगलले अगाडि सारेको बताइएको छ ।

अघिल्लो महिना एन्ड्रोइड अथोरिटी नामको प्लेटफर्मले गुगलमा आउने फिचरको जानकारी दिएको थियो । त्यतिबेला गुगलको नयाँ फिचर गुगल एपको बेटा भर्सनमा आइपुगेको उक्त प्लेटफर्मले उल्लेख गरेको थियो । 

नाइन टु फाइभ गुगलले विश्लेषण गरेको गुगलको कोडमा एआई मोडमा प्रयोगकर्ताले बोलेरै प्रश्न सोध्न सक्ने उल्लेख छ । यता ओपनएआईले च्याटजीपीटीमा सर्चको फिचर उपलब्ध गराउन थालेको छ । यो फिचर अधिकांश प्रयोगकर्तालाई उपलब्ध भइसकेको छ । गुगलको एआई मोडमा जस्तो फिचर हुन्छ भन्ने चर्चा गरिएको छ, ती फिचर च्याटजीपीटीको सर्च मोडमा आइसकेको छ ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८१ १५:१८