काठमाडौं । हेलो सरकारले २४ सै घण्टा आफ्नो सेवा दिँदै आएको छ । जनताका गुनासो तथा समस्या सुन्न सरकारले सञ्चालनमा ल्याएको हटलाइन सेवा कार्यालय बाहेकको समयमा पनि उपलब्ध हुन थालेको एक वर्ष पूरा भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको हेलो सरकार सूचना प्रविधिमा आधारित उजुरी तथा गुनासो व्यवस्थापन प्रणाली हो । फेसबुक, एक्स (ट्वीटर), स्काइप, भाइबर, ईमो, वेबसाइट, फोन, एसएमएस, फ्याक्स लगायतका माध्यमबाट हेलो सरकारले उजुरी तथा गुनासो सङ्कलन गर्दै आइरहेको छ ।
डिजिटल माध्यमबाट नागरिकलाई सरकारसँग जडान गर्न, सूचना प्राप्त गर्न र सरकारी सेवाहरूको पहुँचमा सहजता ल्याउन यो सेवा ल्याइएको हो । जसमा हालसम्म ५४ हजार ६३४ गुनासो दर्ता भइसकेका छन् ।
सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित गुनासो तथा उजुरी आउने गरेका छन् । त्यसपछि क्रमशः राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, सडक विभाग र काठमाडौं महानगरपालिका सबैभन्दा बढी उजुरी तथा गुनासो गरिने निकायका रूपमा रहेका छन् ।
प्राप्त उजुरीमध्ये धेरैजसो हेलो सरकार कक्षबाटै फर्छ्यौट हुने गरेका छन् । तर सम्बन्धित निकायबाट गुनासो समाधान हुने अवस्था भने एकदमै कमजोर छ ।