काठमाडौं । आईएमई पेका सीईओ प्रवीन रेग्मीको अध्यक्षतामा पेमेन्ट सर्भिस प्रोभाइडर्स (पीएसपी) एसोसियसन नेपाल गठन भएको छ । नेपालमा फिनटेक (वित्त प्रविधि) विकसित गर्न र सरोकारवालाबिचको सहकार्य प्रवर्धन गर्न एसोसिएसन गठन भएको हो ।
एसोसिएसनको उपाध्यक्षमा खल्तीका सीईओ विनय खड्का, महासचिवमा विनय रेग्मी (सिटी पे) र कोषाध्यक्षमा मनोज मेहता(माई पे) रहेका छन् । त्यस्तै कार्य समिति सदस्यमा सेलपेका पवन प्रधान, मोकोका प्रणय राजभण्डारी, प्रभु पेका विक्कि शाही, मोरुका पुनम बस्नेत र हाम्रो पेका शिशिर पोखरेल रहेका छन् । संस्थापक अध्यक्ष रेग्मीले पीएसपी एसोसिएसन नेपालका सम्पूर्ण भुक्तानी सेवा प्रदायकहरूको एकीकृत आवाज हुने र प्रगतिशील नीति, भुक्तानी प्रक्रियामा मापदण्डको प्रवर्धन र समग्र उद्योगमा इनोभेसनका लागि वकालत गर्ने बताए ।
"एकसाथ मिलेर हामी व्यवसायलाई सशक्त बनाउन, वित्तीय समावेशिता अभिवृद्धि गर्न र हाम्रो देशको डिजिटल अर्थतन्त्रका लागि नयाँ बेन्चमार्क तय गर्ने उद्देश्य लिएका छौँ," उनले भने । "पीएसपीएन सहकार्य, वृद्धि र प्रभावशाली परिवर्तनको प्लेटफर्म बन्नेछ । म सम्पूर्ण सरोकारवालाहरूलाई नेपालको सुरक्षित, प्रभावकारी र समावेशी वित्तीय भविष्यका लागि हातेमालो गर्न आमन्त्रण समेत गर्न चाहन्छु ।"