बायाँबाट एड्ट्राका सह-संस्थापकद्वय असिम श्रेष्ठ र प्रविन साह
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपमा डिजाइनर तथा रिसर्चरको रूपमा काम गरिरहेको समयमा असिम श्रेष्ठको दिमागमा एउटा आइडिया आयो, डिजाइनिङसँग सम्बन्धित एकेडेमी खोल्ने । त्यही समयमा कोरोना महामारी सुरु भयो । कोरोनाले धेरै समस्या निम्त्याएकै थियो, सँगैसँगै नेपाली समाजलाई डिजिटल दुनियाँतर्फ पनि धकेलिदियो । लकडाउनको समयमा स्कुल कलेजले पनि अनलाइनमा पढाउन थाले । समग्रमा नेपाली समाज अनलाइन कक्षासँग परिचित भयो ।
कोभिडपछि असिमले पनि आफ्नो आइइिया अनलाइन प्लेटफर्ममा नै फस्टाउने सम्भावना देखे । त्यही बेला असिमसँग प्रविन साह जोडिए । पेसाले सफ्टवेयर इन्जिनियर रहेका प्रविनसँगको भेटपछि डिजाइनिङसँग मात्र नभइ सबै क्षेत्रका सीप विकास गर्ने किसिमका कोर्सहरू राख्दा राम्रो हुन्छ भन्ने निष्कर्ष निस्कियो । त्यसपछि ‘कमन फ्रेन्ड’बाट परिचित असिम र प्रविन मिलेर सुरु गरे, एड्ट्रा (Edtraa) ।
एड्ट्रा एउटा त्यस्तो ई-लर्निङ प्लेटफर्म हो, जहाँ विभिन्न पेसागत क्षेत्रमा उत्कृष्ट काम गरेका तथा राम्रो नाम कमाएका मेन्टरहरूले सम्बन्धित क्षेत्रमा कसरी दक्ष हुन सकिन्छ भन्ने विषयवस्तुमा आधारित भएर प्रि-रेकर्डेड कोर्स उपलब्ध गराउँछन् ।
एड्ट्रा (Edtraa) नाम चाँही कसरी राख्नुभयो भन्ने प्रश्नमा असिम भन्छन्, ‘ईडी भनेको एजुकेसन हो । टीआरए ट्रान्सफर्मेसन र ए भनेको अ अर्थात् वर्णविन्यासको पहिलो शब्द । एजुकेसनमा एउटा ट्रान्सफरमेसन अर्थात् रूपान्तरण ल्याउँछौँ भन्ने सन्देश दिन चाहन्छौँ ।’ एड्ट्राले ‘Learning never stops’ नारा राखेको छ । यस नाराबाट पब्लिकलाई ‘सिकाई कहिल्यै सकिँदैन’ भन्ने सन्देश दिन चाहेको उनले बताए ।
डेढ वर्षअघि सुरु भएको एड्ट्रामा असिम र प्रविनको संयुक्त लगानी छ । २८ वर्षीय असिमले १६ वर्षकै उमेरबाट काम सुरु गरेका थिए । ३४ वर्षीय प्रविनले पनि एक दशकभन्दा बढी समय काम गरेको अनुभव बटुलिसकेका थिए । साथमा जागिर खाँदा गरेको केही बचत रकम उनीहरूसँग थियो । त्यही रकमबाट एड्ट्रा डटकम सुरु गर्ने निर्णय लिए र ठमेलमा एउटा घर नै भाडामा लिएर काम सुरु गरे । यता अफिस बन्दै थियो, उता जागिरबाट आउने तलबले अफिस बनाउन चाहिने खर्च धान्दै थिए ।
असिम भन्छन्, “हामीले आ-आफ्नो क्षेत्रमा राम्रै काम गरिरहेका थियौँ । तलब पनि राम्रै थियो । अब जागिर खाएर माथि जाने ठाउँ छ भन्ने लागेन । त्यही भएर थप एक्सप्लोर गर्न बिजनेस गर्ने सोच आयो । कान्तिपुर बस्दा बस्दै डोमेन रजिस्टर गरियो, अनि वर्डप्रेसमा आधारित सामान्य वेबसाइट बनायौं । त्यसले काम गर्नलाई थप प्रेरित गर्यो ।”
विस्तारै उनीहरूसँग निशान शाही र विद्या सागर प्रजापति पनि जोडिए । त्यसपछि चार जनाको कोर टिम तयार भयो । विस्तारै प्रोडक्सन टिम र टेक्निकल टिम पनि बने ।
एड्ट्राले मेन्टरको रूपमा दिग्गज व्यक्तित्व पाएको छ । तर, सबैभन्दा पहिले भने दिलभुषण पाठक जोडिएको असिमले सम्झिए । “एकजना ठूलो नाम जोडियो भने अरूलाई पनि विश्वासमा लिन सजिलो हुन्छ भन्ने थियो । म कान्तिपुरमा हुँदा दाइ पनि त्यहीँ हुनुहुन्थ्यो । उहाँसँग कुरा गर्दा म पाँच, छ चोटि बस्छु अनि डिसाइड गर्छु भन्नुभयो । दिलभुषण दाइले ओके भन्ने बित्तिकै कान्तिपुरबाटै अविन श्रेष्ठ पनि जोडिनुभयो । विस्तारै सुबिन भट्टराई आइसकेपछि, अनिल केशरी शाह पनि थपिनुभयो ।”
नेपालका चर्चित कार्टुनिस्ट अविन श्रेष्ठ, चर्चित ब्यांकर अनिल केशरी शाह, वरिष्ठ पत्रकार दिलभुषण पाठक, चर्चित उपन्यासकार सुबिन भट्टराई, कथक नृत्यिका नम्रता केसी, डिजिटल मार्केटिङ गुरु अश्विन न्यौपाने जस्ता आफ्नो क्षेत्रमा सफलतापूर्वक काम गरिरहेका अरू मेन्टरहरूका कोर्स पनि एड्ट्रामा उपलब्ध छन् । कोर्सहरू प्रकाशित नभएका तर एड्ट्रामा जोडिएका ६५ जनाभन्दा बढी अग्रज व्यक्तित्वहरू छन् । स्कुल, कलेजका पाठ्यक्रममा केन्द्रित तथा लोकसेवाका कोर्सहरू सिकाउने प्लेटफर्म धेरै भएपनि प्राक्टिकलमा आधारित भई सिकाएर रोजगार पनि बनाउने पहिलो ई-लर्निङ प्लेटफर्म एडट्रा नै भएको उनीहरूको दाबी छ ।
असिमका अनुसार यसमा तीन किसिमका कोर्सहरू उपलब्ध ; क्र्याश कोर्स, माइक्रो कोर्स र डिप्लोमा । उनी भन्छन्, “क्र्याश कोर्स भनेको कुनै एउटा ठूलो विषयको सानो अंशलाई एकदमै राम्रोसँग बुझाउनु हो । डिप्लोमा अन्तर्गत एउटा करियरमा हुने सम्पूर्ण कुराहरू, स्किल सिकाइन्छ । माइक्रो मास्टर्स लेभलमा इन्डेप्थमा गएर त्यहाँको मार्केट र त्यो करिअरमा कसरी बेस्ट हुने भन्ने सिकाइन्छ ।”
कोर्सहरूमा कत्तिको महत्वपूर्ण सामग्रीहरू राखिएका छन्, त्यसैको आधारमा नै ती कोर्सको मूल्य राखिएको उनी बताउँछन् । एड्ट्राले हाल नि:शुल्कदेखि आठ हजार रुपैयाँसम्मका कोर्सहरू उपलब्ध गराइरहेको छ । पछिल्लो समय सोसल मिडिया इन्फ्लुएन्सर बन्न चाहने धेरै भएकाले अश्विन न्यौपानेको त्यो कोर्स नि:शुल्क रूपमा नै उपलब्ध गराइएको छ । उनले भने, “हाम्रो अहिलेसम्मको सबैभन्दा कम मूल्य भएको कोर्स ९९९ रुपैयाँको हो भने सबैभन्दा महँगो अनिल दाइ (अनिल केशरी शाह) को कोर्स हो, जसको शुल्क ८,००० रुपैयाँसम्म छ । औसतमा ३२ सय रुपैयाँ एउटा कोर्सको पर्न जान्छ ।”
एड्ट्राका कोर्सहरू सकेसम्म सस्तो बनाउने प्रयासमा रहेको उनी सुनाउँछन्, “हाम्रा कोर्स फरक फरक उमेर समूहका मानिसका लागि टार्गेट गरिएका छन् । टिनएजरहरूलाई टार्गेट गरिएका कोर्सको मूल्य सकेसम्म कम राख्ने प्रयास गरेका छौँ ।”
एड्ट्राका जुनसुकै कोर्समा एक पटक शुल्क बुझाएपछि जीवनभरका लागि त्यो कोर्स उपलब्ध हुन्छ । कोर्स लिँदा त्यहाँ मेन्टरसँग आफूले नबुझेका कुराहरू सोध्न सकिन्छ । त्यहीँबाट प्रत्यक्ष रूपमा मेन्टरसँग अन्तरक्रिया गर्न पनि सकिन्छ । समय समयमा कोर्स अपडेट हुँदापनि एकपटक शुल्क तिरिसकेकाले पुन: शुल्क तिर्नु नपर्ने असिमले बताए ।
दशैंदेखि अनलाइन कोर्स सञ्चालन गरेको एड्ट्रामा करिब तीन महिनामा २७७ जना विद्यार्थीहरू जोडिएका छन् । सुरुवाती चरणमा जोडिएका विद्यार्थीबाट राम्रो प्रतिक्रिया मिलेको अनुभव उनीहरूले साटे । तर, आगामी तीन वर्षमा नेपालभित्र नै बसोबास गर्ने १० लाखभन्दा बढीलाई आफ्नो अनलाइन कोर्समा जोड्ने लक्ष्य एड्ट्राले लिएको छ । असिम भन्छन्, “यो वर्ष २४ ओटा कोर्स रिलिज गर्ने प्लान छ । विस्तारै विद्यार्थीहरूको रुचि कुन क्षेत्रमा बढी छ, त्यो बुझेर थप कोर्सहरू पनि ल्याउँछौँ ।”
कुनै एउटा क्षेत्रमा काम गर्ने व्यक्तिले कला क्षेत्रमा पनि रुचि राख्ने भएकाले कला क्षेत्रसम्बन्धित कोर्सहरू बढी राखिएको छ । असिम थप्छन्, “बैंकिङ क्षेत्रको कोर्स छ भने त्यही विषयसँग सम्बन्धित व्यक्तिले हेर्छन् । एआईसँग सम्बन्धित कोर्समा टिनएजर्सदेखि २५ वर्षसम्मका युवाहरूले बढी चासो राख्छन् ।”
कोर्स तथा कन्टेन्ट चोरी हुनबाट जोगाउन पनि उनीहरू सचेत देखिए । प्रविनका अनुसार कोर्सलाई सुरक्षित बनाउन कुनै पनि एप्लिकेसन प्रयोग गरेर रेकर्डिङ गर्न नमिल्ने व्यवस्था मिलाइएको छ । उनी भन्छन्, “मोबाइल रेकर्डिङ गरेर युटुबरहरूमा राख्यो भने कपिराइट क्लेम गर्छौँ । तर अहिलेसम्म त्यस्तो केही इस्यु आएको छैन ।”
युट्युबमा पनि नि:शुल्क रूपमा उपलब्ध सामग्री शुल्क तिरेर पढ्नमा चासो नराख्ने चुनौतीसँग पनि उनीहरू जानकार छन् । उनीहरूले भने, “अफिस सुरु गर्नुभन्दा अगाडि नै कलेज-कलेजमा गएर कस्ता कोर्सहरू मानिसहरूले खोजिरहेका छन् भन्ने बुझ्यौँ । त्यसैले युट्युबमा आउने कन्टेन्ट भन्दा फरक बन्न उत्कृष्ट मेन्टरहरूसँग सहकार्य गर्यौँ ।”
नेपाली समाजमा जीवनोपयोगी शिक्षाका लागि खर्च गर्न मानिसले चासो नदेखाउनु एड्ट्राको मुख्य चुनौती मान्छन्, असिम र प्रविन । उनीहरू भन्छन्, “फिल्म हेर्न जाँदा हजारौँ रुपैयाँ खर्च गर्छन्, तर एकेडेमिक एजुकेसन बाहेक अरू कुरा सिक्नका लागि भने खर्च गर्न चाहँदैनन् । यही समस्यालाई समाधान गर्न अफलाइनमा गएर पनि उहाँहरूलाई बुझाउनुपर्छ भनेर कलेज-कलेजमा युनिट खोल्दै छौँ । त्यो युनिटले पर्टिकुलर इन्स्टिच्युसनमा मेन्टरशिपको लागि हेल्प गर्छ । जसले गर्दा कलेज पढिरहँदा पनि बाहिरको दुनियाँमा के भइरहेकेा छ भन्ने बुझ्न र पढाइ सकिएपछि आफ्नै बिजनेस सुरु गर्नमा सहयोग गर्छ ।”
एड्ट्रा नेपालको पारम्परिक शिक्षण सिकाई अभ्यासको दरिलो विकल्प बन्नेमा उनीहरू ढुक्क सुनिन्छन् । उनीहरू भन्छन्, “नेपालका युनिभर्सिटीमा १० वर्षसम्म पनि सिलेबस परिवर्तन भएको हुँदैन । पढाइ सक्किएर काम गर्छु भन्दा राम्रो स्किल नभएका कारण जागिर पाइरहेका हुँदैनन् । फेरि जागिर नै छैन भन्ने पनि होइन । कति ठाउँमा जबको लागि मान्छे खोजिराखेका हुन्छन्, तर स्किल्ड म्यानपावर नै पाइँदैनन् । ५०० जनाकाे आवेदन आउँदा एक जना मुश्किलले खोजेजस्तो मान्छे भेटिन्छ ।”
यस्तो समस्याले नै एड्ट्राको जन्म भएको असिमले सुनाए । एड्ट्राले कुनैपनि विषयमा ज्ञान, सीप प्रदान गरेर त्यसलाई कसरी सही सदुपयोग गर्ने भन्नेसम्मका कुरा सिकाउने उनले बताए ।
कोर्स लिनेलाई सर्टिफिकेटसँगै इन्टर्नशिप पनि
एड्ट्राले अन्य संस्थाहरूसँग पनि सहकार्य गरिरहेको छ । ती संस्थासँगको सहकार्यबाट एड्ट्राले कोर्स पढ्नेहरूलाई इन्टर्नशिपको व्यवस्था मिलाइदिने गरेको छ । उनले भने, “कोर्स लिइसकेपछि एड्ट्राले सीभी बनाइदिन्छ । इन्टर्नशिप फर नेपालसँग सहकार्य गरेर इन्टर्नशिपको व्यवस्था पनि मिलाएका छौँ । विस्तारै हामीले नयाँ नयाँ संस्थासँग पार्टनरशिप गरिरहेका छौँ ।”
कोर्स लिइसकेपछि सर्टिफिकेटको समेत व्यवस्था मिलाइएको छ । कति कोर्सहरू सम्बन्धित संस्थाबाटै उपलब्ध गराइएका छन् । असिमले थप प्रष्ट पार्दै भने, “जस्तो कि, कथक डान्सको कोर्स एसथिक स्टुडियोबाट आएको हो । त्यो कोर्स जसले लिनुहुन्छ, उहाँले एसथिकबाटै सर्टिफिकेसन पाउनुहुन्छ । सोसल इन्टरप्रेनरशिप कोर्स हात्ती हात्ती अर्गनाइजेसनबाट आउँदैछ । त्यो कोर्स लिनेलाई हात्ती हात्तीले नै इन्टर्नशिप मिलाइदिन्छ ।” कोर्समा भएका कुराहरूलाई इन-डेप्थ आर्टिकलको रूपमा पनि वेबसाइटमा राखिएका छन् ।
एड्ट्रासँग जोडिएका मेन्टरहरूसँग पनि दीर्घकालीन सम्बन्ध राखिएको छ । “हामीसँग जति पनि मेन्टर जोडिनु भएको छ, उहाँहरूसँग पार्टनरशिप र सम्झौताहरू गरेका छौँ । उहाँहरूले हामी बाहेक अरूसँग काम गर्नु हुँदैन । त्यही भएर पनि एज अ प्लेटफर्म हामी बलियो स्थानमा छौँ ।”
पछिल्लो डेढ वर्ष प्लेटफर्मलाई बलियो बनाउनमा ध्यान दिएको र अब भने व्यवसायलाई पनि थप अघि बढाउने योजनामा रहेको असिमले सुनाए । उनले भने, “हाम्रो टिमको बन्डिङ निकै राम्रो बनेको छ । बिजनेस सुरु गर्नुभन्दा पहिले लामो समय काम गरिसकेको भएकाले अनुभवले पनि राम्रो साथ दिएको छ । तीन महिना हुन लाग्यो, एड्ट्राको कोर्स सुरु भएको । बाटो धेरै लामो नै छ ।”
एकआपसमाथिको विश्वासले नै आफ्नो टिमलाई बलियो बनाएकाे उनी बताउँछन् । टेक्नोलोजी, प्रोडक्सन, डिजिटल, म्यानेजमेन्ट टिमहरूको व्यवस्थापन, तलबका कामहरू एक आपसको विश्वासले नै सफल भएको उनी सुनाउँछन् । सुरुवाती चरणमा भएकाले आर्थिक रूपमा भने त्यति सबल भई नसकेको उनीहरू बताउँछन् ।
“अहिलेसम्मको अवस्था हेर्दा त जागिर खाँदा नै राम्रो कमाइ थियो । अहिले हामीले लिने स्यालरीभन्दा पाँच छ गुणा बढी त जागिरबाटै कमाइन्थ्यो । अहिले त कहिलेकाहीँ स्यालरी नै राख्दैनौँ । तर, हामीलाई लामो बाटो जानुपर्ने छ । त्यही भएर बिजनेस बढाउनेगरी मार्केटिङमा पनि ध्यान दिँदैछौँ । तर तत्कालै लगानीकर्ता खोज्ने मनस्थितिमा भने छैनौँ । दुई जनाले नै सबै व्यवस्थापन गरिरहेका छौँ,” प्रविन र असिम भन्छन् ।