close

विदेशी ग्राहकले ठगेपछि जन्मिएको ‘स्प्यारो एसएमएस’, जसले बदल्यो एसएलसीको नतिजा हेर्ने तरिका

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

चैत ७, २०८१ १९:४०

विदेशी ग्राहकले ठगेपछि जन्मिएको ‘स्प्यारो एसएमएस’, जसले बदल्यो एसएलसीको नतिजा हेर्ने तरिका

काठमाडौं । कोही योजना बनाएर गन्तव्यतर्फ हिँड्छन् । कोही भने बाटोमा हिँड्दा हिँड्दै नयाँ नयाँ गन्तव्य तय गर्छन् । स्प्यारो एसएमएस (Sparrow SMS) १५ वर्ष पूरा भई आजदेखि १६ औं वर्षमा प्रवेश गरिरहँदा यसका सह-संस्थापकहरूले यहाँसम्म आइपुगिएला भनेर कहिल्यै सोचेका थिएनन् । 

क्याम्पसमा इन्टर्नशिपको क्रममा भुक्तानी लिन खोलेको कम्पनीको पहिलो ब्रान्ड स्प्यारो एसएमएस अहिले आएर नेपालको एसएमएस सेवाप्रदायक कम्पनी मध्येकै उत्कृष्ट बन्न सफल भएको छ । सन् २००७ मा अमित अग्रवाल, अरविन्द साह, ध्रुव अधिकारी र मनिष मोदी स्नातक चौथो वर्षमा अध्ययनरत थिए । अरविन्द, ध्रुव र मनिष पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एउटै कक्षामा पढ्थे अनि अमित ह्वाइट हाउस कलेजमा । 

उनीहरूले इन्टर्नशिपका क्रममा नेपाल टेलिकमका लागि आवश्यक पर्ने दूरसञ्चारसँग सम्बन्धित सिस्टम बनाएका थिए । तर सिस्टम बनाए बापतको भुक्तानी सोझै लिन मिल्दैनथ्यो । भुक्तानी लिन कम्पनी दर्ता गर्नुपर्ने कुरा थाहा पाएपछि ‘जानकी टेक्नोलोजी’ नामको संस्था दर्ता भयो । 

विद्यार्थी जीवनमा चार साथी मिलेर सुरु गरेको जानकी टेक्नोलोजीले अब कलेजसँग सम्बन्धित प्रोजेक्टहरू गर्न थाल्यो । यसरी नै सन् २०१० सम्म उनीहरूले काम गरिरहेका थिए । 

सन् २०१० मा जोर्डनमा रहेका एक ग्राहकले रियल स्टेट बिजनेसको मार्केटिङ गर्नका लागि एसएसएसमा आधारित सिस्टम बनाउन रकम अफर गर्‍यो । सिस्टम बनाउन केही रकम अग्रिम भुक्तानीमा समेत पाइयो । र, ग्राहकले भने अनुसारको सिस्टम पनि तयार भयो । जब ग्राहकलाई उनीहरूले उक्त सिस्टम उपलब्ध गराए, बाँकी रकम भुक्तानी गर्नु त परको कुरा थियो, सिधै ब्लक गर्‍यो । 

त्यतिबेला काम गर्न पनि सहज थिएन । त्यो समय अहिलेको तुलनामा पैसाको महत्त्व बढी हुने समय थियो । ल्यापटप, कम्प्युटरजस्ता सामग्री किन्न पनि महँगो पर्ने गरेको कम्पनीका सह-संस्थापक अरविन्द साह बताउँछन् । १८ घण्टा लामो लोडसेडिङ हुन्थ्यो । ब्याकअपका लागि इन्भर्टर किन्ने पैसा हुँदैनथ्यो । 

“त्यो बेला जब बत्ती आउँथ्यो, हाम्रो लागि दिन आउँथ्यो । जब रात पर्थ्यो, हाम्रो लागि पनि अन्धकार हुन्थ्यो,” उनी कम्पनीका सुरुवाति दिन सम्झन्छन् । 

मेहेनत गरेर बनाएको सिस्टमको पैसा नदिई ग्राहक भागेपछि अर्को तनाव आयो । समय र पैसा खर्च गरेर बनाएको सिस्टम कसरी प्रयोग गर्ने र कम्पनी कसरी चलाउने भन्ने नयाँ तनाव थपियो ।

यता एसएलसीको नतिजा आउने समय पनि नजिकिँदै थियो । फलामको ढोका मानिने एसएलसी (हालको एसईई) को नतिजा हेर्न त्यति सहज थिएन । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको समाचार रेडियोमा आउँथ्यो । तर नतिजा हेर्न भने भोलिपल्ट छापिने गोरखापत्र नै पर्खिनु पर्थ्यो । अझ काठमाडौं र सहरभन्दा टाढा  दूरदराजका गाउँमा त नतिजा थाहा पाउन हप्तौँसम्म पनि गोरखापत्र पुग्दैन थ्यो । 

त्यही माहोलमा आफूले जोर्डनको कम्पनीका लागि बनाएको सिस्टम एसएलसीको नतिजा सहज रूपमै उपलब्ध गराउन प्रयोग गर्ने सोच आयो र स्प्यारो एसएमएस सुरु भयो । साह सम्झन्छन्, “एसएमएससँग सम्बन्धित भएर काम गर्न टेलिकमहरूबाट लाइसेन्स लिनपर्ने रहेछ ।” एनसेलबाट लाइसेन्स केही सहज तरिकाले प्राप्त भएपनि नेपाल टेलिकमको प्रक्रिया निकै लामो थियो । त्यस बेलामा अन्य लाइसेन्स प्राप्त कम्पनीसँग सहकार्य गरेर पनि काम गर्न थालेको उनले बताए । 

एसएलसीको नतिजा परीक्षा दिने विद्यार्थीमात्र नभएर परिवार, आफन्तदेखि छिमेकीसम्मको चासोको विषय हुन्थ्यो । “त्यति बेला वार्षिक रूपमा लगभग पाँच लाख जति विद्यार्थीहरूले एसएलसीको जाँच दिन्थे । एक जनाको रिजल्ट ६/७ जनाले एसएमएस गरेर हेर्थे ।”

नतिजा आएको बेलामा छिटो रिजल्ट दिनु पनि चुनौतीकै कुरा थिए । परीक्षा बोर्डले पेनड्राइभमा राखेर रिजल्ट दिन्थ्यो । तर रेडियोमा नतिजा आएको समाचार सुन्ने बित्तिकै नतिजा हेर्न खोज्नेहरूबाट एसएमएसको बाढी नै आउँथ्यो । 

कम्पनीका प्रमुख कार्यकारी निर्देशक (सीईओ) मनोज थापा भन्छन्, “रिजल्ट पेनड्राइभमा ल्याएर सिस्टममा राखेपछि एसएमएसमार्फत दिन समय लाग्थ्यो । जतिसक्दो छिटो रिजल्ट दिनु चुनौती नै थियो । रातभर बसेर भएपनि काम गर्थ्यौँ ।” प्रविधिको विकासँगै राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले नतिजा ईमेलमार्फत पठाउन थाल्यो । यससँगै नतिजा प्रकाशन भएको १० मिनेटमा एसएमएसमार्फत रिजल्ट दिन सकिने अवस्था बनेको उनले सुनाए । 

तर अहिलेको अवस्था भने फेरिएको छ । अनलाइनबाट नै विद्यार्थीहरूले आफ्नो अङ्कभारसहित रिजल्ट हेर्न सक्छन् । हालसम्म पनि नतिजा एसएमएसमार्फत हेर्ने क्रम नघटेको थापा बताउँछन् । उनी भन्छन्, “अनलाइनमा हेर्न मिल्ने भएपनि हामीलाई एसएमएस गरेर रिजल्ट हेर्ने पनि उत्तिकै हुनुहुन्छ । मेसेजमा आएपछि ढुक्क हुनुहुन्छ । यो हामीले यति समयमा आर्जन गरेको विश्वास पनि हो ।”

त्यो इगो र पिको-भिकोको असफलता 

त्यति बेला नेपालको प्रविधि क्षेत्रमा केही राम्रो प्रोडक्ट बन्न सक्दैन भन्ने भाष्य अन्तर्राष्ट्रिय बजारमा भएको साह सम्झन्छन् । किनभने विभिन्न भेटवार्तामा विदेशी क्लाइन्टहरूबाट यस्तै प्रतिक्रिया आउँथे । यससँगै नेपालमै विश्व स्तरीय प्रोडक्ट बनाउनुपर्छ भन्ने ‘इगो’ पनि टिममा थियो । र, सोही इगोको नतिजा थियो, पिको-भिको ।

सन् २०११ मा उनीहरूले फेसबुकमा राखिएका फोटोलाई भिडिओमा रूपान्तरण गर्न सक्ने पिको-भिको बनाए । यो उत्पादनको बजार राष्ट्रिय नभई अन्तर्राष्ट्रिय भएको कुरामा पनि उनीहरू प्रस्ट थिए । यता राम्रो प्रोडक्ट बनाउने जुनुन, अर्को तर्फ आर्थिक स्रोतको अभाव । चिली, ब्याङ्लोरदेखि अमेरिकासम्म यस प्रोडक्टका लागि बजार खोज्न पुगेको उनी सम्झन्छन् । यो प्रोडक्ट बनाउनका लागि थप खर्च लाग्ने अवस्था आएको थियो, तर पैसा थिएन । अन्तत: कम्पनी शून्यमा झरेपछि प्रोडक्ट नै बन्द गर्नुपर्ने अवस्था आइलाग्यो । 

लोडसेडिङको जानकारीदेखि हजारौँलाई ठगिनबाट जोगाउन एसएमएसको सहारा

त्यो समयमा १८ घण्टासम्मको लामो लोडसेडिङ हुन्थ्यो । लोडसेडिङको तालिका पत्रिकामा आउँथ्यो । त्यसैलाई काटेर भित्तामा टाँसिएको हुन्थ्यो । तर लोडसेडिङको तालिका परिवर्तन भएको र अन्धकारमा बस्नुपर्ने समयको पत्तो हुँदैनथ्यो । 

 त्यही बेलामा स्प्यारोले एसएमएसबाटै लोडसेडिङ सम्बन्धित जानकारी दिन थाल्यो । यसरी एसएमएसबाट रियल टाइम डेटा पाउने भएकाले यो सर्भिस जनस्तरमा निकै रुचाइयो । 

यस्तै सन् २०११ तिर जीएसएम मोबाइल प्रयोगकर्ताले स्प्यारोलाई एसएमएस गरेरै ईमेल पठाउन सक्थे । इन्टरनेट व्यापक भइ नसकेको समयमा ईमेल ठेगाना र टेक्स्ट पठाएपछि स्प्यारोले नै ईमेल पठाइदिन्थ्यो । 

स्प्यारो एसएमएसले मेसेजबाटै ईमेल पठाउन मिल्ने सेवा सुरु गरेपछि प्रकाशित समाचार

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू ठगिने क्रम पनि व्यापक थियो । म्यानपावर कम्पनीले श्रम स्वीकृति नभएको अवस्थामा पनि “श्रम स्वीकृत भइसक्यो” भन्दै सर्वसाधारणलाई ठगी गर्थे । यस्तो ठगीबाट बच्नका लागि वैदेशिक रोजगार विभागसँगको सहकार्यमा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको श्रम स्वीकृति, भिसा लगायतका जानकारी एसएमएसबाटै दिने सेवा सुरु भयो । 

यो कामको लागि कम्पनीले सन् २०१४ मा दक्षिण एसियाको एम बिलियन्थ अवार्ड २०१४ पनि पायो । हजारौँ श्रमिकहरूलाई ठगिनबाट जोगाएका कारण यो सेवाले सामुदायिक स्तरमा स्प्यारो एसएमएसलाई कनेक्ट गराएको साह बताउँछन् । यो प्रयासले अहिले पनि निकै गौरवान्वित बनाउने गरेको उनले सुनाए । 

२०७२ सालको भूकम्पको समयमा पनि फोन कल ठप्प भएका थिए । तर, मेसेजिङ सेवाले भने काम गरिरहेको थियो । त्यस बेलामा गुगलसँग सहकार्य गरेर स्प्यारो एसएमएसले “पर्सन फाइन्डिङ” सर्भिस दिन थाल्यो । यो सर्भिसमा एसएमएस पठाएको आधारमा को व्यक्ति कहाँ छ भनेर पत्ता लगाउन सकिन्थ्यो । यस्तै राहत वितरणमा पनि कोही व्यक्तिले सबैतिरबाट राहत पाउने र कोही पीडितले राहत नै नपाउने अवस्था थियो ।

त्यसैले राहत आवश्यक परेका भूकम्प प्रभावित र राहत दिन चाहने व्यक्तिहरूलाई कनेक्ट गर्न ‘ह्याक द क्विक’ अभियान चलाइएको थियो । यसको माध्यमबाट राहत आवश्यक पर्ने व्यक्तिको जियोलोकेसन लाइभ अपडेट हुन्थ्यो । जसले हजारभन्दा बढी घर परिवार लाभान्वित भएका थिए । यो प्रयासलाई गुगल बिजनेस ग्रुपले सरहना गर्दै पुरस्कृतसमेत गरेको थियो । 

सन् २०१७ जनवरी २६ मा स्प्यारो एसएमएसका चारै जना सह-संस्थापक मिलेर डिजिटल मोबाइल वालेट खल्ती सुरु गरे । त्यस बेला जानकी टेक्नोलोजीकै एउटा ब्रान्ड भएर सुरु भएको खल्ती सन् २०१९ देखि स्वतन्त्र कम्पनीका रूपमा सञ्चालनमा छ । 

साह भन्छन्, “हामीले खल्ती सुरु गर्दा ई-सेवा सुरु भएकै आठ वर्ष भइसकेको थियो । ढिलैगरी सुरु भए पनि खल्ती अहिले नेपालको सबैभन्दा बढी प्रयोग हुने दोस्रो मोबाइल वालेट बनिसकेको छ ।”

सन् २०१० मा एसएमएस सेवा निकै व्यापक थियो । अहिले भने इन्टरनेटको लोकप्रियताले गर्दा तुलनात्मक रूपमा केही कमी आएको छ । 

आफैँले कमाएर आफ्नो खर्च व्यवस्थापन गर्दै आएको ‘बुटस्ट्र्यापर कम्पनी’ हो, स्प्यारो एसएमएस । कम्पनीले ३० देखि ३५ जना कर्मचारीको साथमा नयाँ इनोभेसन समेत गर्दै आएको छ । तर पछिल्लो समयमा टेलिकम क्षेत्रको आम्दानी घटी रहदा कम्पनीको आम्दानीमा पनि केही कमी आएको सीईओ थापाले बताए । 

तर एसएमएसको महत्त्व भने नघटेको थापा बताउँछन् । “एसएमएस सेवाको प्रयोग गर्ने क्रम केही कम भएपनि यसको महत्त्व भने कहिल्यै घट्दैन,” उनी भन्छन् ।

स्प्यारो एसएमएस टिम

दिवा खाजालाई पारदर्शी बनाउने सिस्टम

नेपाल सरकारले सरकारी विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई दैनिक १५ रुपैयाँ खाजा खर्च उपलब्ध गराउँछ । देशैभरका सामुदायिक विद्यालयमा उक्त दिवा खाजा उपलब्ध गराउन वार्षिक आठ अर्ब रुपैयाँ सरकारको ढुकुटीबाट खर्च हुन्छ । 

त्यसैले दिवा खाजालाई पारदर्शी र सहज बनाउनका लागि स्प्यारोले एसएमएसमा आधारित मनिटरिङ प्लेटफर्म बनाइएको छ । हालसम्म दुई जिल्लाका स्थानीय तहमा लागु गरिएको यो प्लेटफर्मले विद्यालयका प्रमुख व्यक्तिलाई दैनिक एसएमएसमार्फत रिपोर्टिङ गर्छ । 

विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारलाई दैनिक रूपमा विद्यालयमा कति विद्यार्थी उपस्थित भए, कतिले दिवा खाजा खाए, कस्तो खाजा जान दिइयो भन्ने जस्ता जानकारी उपलब्ध गराइएको हुन्छ । यस प्लेटफर्मलाई देशभर विस्तार गर्ने योजना रहेको उनले सुनाए । 

कम्पनीको रिब्रान्डिङ

पछिल्लो समय एप्लिकेसन प्रोगामिङ इन्टरफेस (एपीआई) एसएमएस सर्भिस बढ्दै गएको छ । त्यसैले सन् २०२३ मा स्प्यारो एसएमएसले बल्क एसएमएस सर्भिस प्रोभाइडरबाट रिब्रान्डिङ गर्दै आफूलाई इन्टरप्राइज मेसेजिङ सर्भिस प्रोभाइडरमा रूपान्तरित गरेको छ । कम्पनीले वेबसाइट, लोगोसहित बाहिरी आवरण नै नयाँ बनाएको छ । 

रिब्रान्डिङलाई कम्पनीको सेवाको दिशा परिवर्तनको अर्थमा नभइ सेवा विस्तारको अर्थमा परिभाषित गर्न रुचाउँछन्, सीईओ थापा । एसएमएस मात्र मोबाइलमा आधारित मेसेजिङ होइन भन्ने बुझेर कम्पनीले बल्क एसएमएसका साथै भाइबर र मेटाको ह्वाटसएपसँग सहकार्य गरेको उनले बताए । यससँगै कम्पनीले बल्क एसएमएस र एपीआई सर्भिस ग्राहकहरूलाई प्रदान गर्दै आएको छ । 

स्प्यारो एसएमएसका सीईओ मनोज थापा

नेपालमा स्प्यारोजस्तै एसएमएस सर्भिस प्रोभाइडर कम्पनी अरू पनि छन् । तर आफूहरूले व्यवसायका लागि सूचना प्रदान गर्ने धेरै सञ्चार स्रोत उपलब्ध गराउन चाहेको उनले बताए । हाल सरकार, वित्तीय संस्था, विद्यालयहरू गरी ७,००० भन्दा बढीले संस्थाले स्प्यारो एसएमएसको सेवा ‍प्रयोग गर्दै आएका छन् । जसअन्तर्गत वार्षिक २५ करोडभन्दा बढी एसएमएस पठाइन्छ ।

सीईओ थापाका अनुसार यस्ता ग्राहकले एसएमएस, भाइबर र ह्वाट्सएपमध्ये अनुकूल प्लेटफर्ममार्फत आफ्ना सूचना लक्षित व्यक्तिलाई एकै पटकमा पठाउन सक्छन् । यस्तै तीनै प्लेटफर्म पनि उनीहरूले छान्न सक्छन् । 

यस्तै कुनै पनि उद्योगले १७० भन्दा बढी देशहरूमा अन्तर्राष्ट्रिय एसएमएस पठाउन सक्ने सुविधा कम्पनीले दिन्छ । सिटी एक्सप्रेसले जापानसहित विभिन्न अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गरेको उनले बताए । 

कम्पनीले अहिले एआईमा आधारित भोइस ब्रोडकास्टिङ सर्भिस दिने गरी काम गरिरहेको उनले जानकारी दिए । एसएमएसको विकाससँगै जानकी टेक्नोलोजीले भविष्यमा आरसीएस (रिच कम्युनिकेसन सर्भिस) मेसेजिङ सर्भिस अत्यावश्यक रहेको महसुस गरेको छ । त्यसैले यसका लागि पछिल्लो एक वर्षदेखि काम पनि सुरु गरिसकेको थापा बताउँछन् । 

तर टेलिकम कम्पनीहरूले आरसीएस सुरु गरेमा मात्र यस्तो सेवा दिन सम्भव रहेको उनी बताउँछन् । अन्य देशहरूमा व्यापक रूपमा आरसीएस एसएमएस सर्भिस सुरु भइसक्दा नेपालमा हालसम्म पनि आउन नसक्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न भविष्यमा समस्या हुन सक्ने उनी बताउँछन् । 

यस्तै नेपालमा विद्यमान नीतिहरू स्पष्ट नहुँदा पनि समस्या हुने गरेको उनले सुनाए । टेलिकम कम्पनी र नियामक निकायबिच असमझदारी हुँदा त्यसको असर बजारमा पर्ने उनको भनाई छ । हालसालै सुरु भएको डिभास (डिजिटल भ्यालु एडेड सर्भिस) राम्रो भएपनि यस अन्तर्गत कस्ता कम्पनी पर्छन् भन्ने स्पष्ट खुलाइएको छैन । नियामक निकायहरूले समय सापेक्ष निर्देशन जारी गरेमा थप सहज हुने समेत उनले सुनाए । 

१८ वर्षसम्म अटुट सहकार्य

इन्जिनियरिङमा ग्राजुएट हुनुभन्दा पहिलेदेखि नै साथी रहेको चारै जना सहसंस्थापक अहिले पनि सँगसँगै छन् । व्यक्तिगत स्वार्थभन्दा पनि टिमको विकासका लागि सोच्ने भएकाले यो सम्भव भएको उनले बताए । 

ब्याचलर्स सक्किएपछि मास्टर्स गरेमा कम्पनीलाई ध्यान दिन सकिँदैन भन्ने सोचले उनीहरूले पढाइ पनि बिचमै बिट मारे । “हामी चार जनामा मास्टर्स गर्ने म मात्र हो । त्यही पनि कलेजमा धेरै समय दिन नपरोस् भनेर ग्रामीण विकास विषय लिएर पढेँ,” साह भन्छन् । पढेको विषय र काम गर्ने फिल्ड एउटै भएपनि सबैमा आआफ्नो सोच्ने तरिका र दक्षता हुने उनी बताउँछन् । 

स्प्यारो एसएमएसको मुख्य उद्देश्य सूचनामा पहुँच पुर्‍याउनु रहेकाले कम्पनीको मुख्य नारा नै “पावर अफ टेक्स्ट” रहेको छ । उनी भन्छन्,  “एसएसएस साधारण टेक्स्ट मात्र होइन, यसले भ्यालु एड गर्छ ।” 

हाल स्प्यारो एसएमएसले १५ वर्ष पुरा गर्दा जानकी टेक्नोलोजी १८ वर्षको भएको छ । तर यति लामो यात्रामा आर्थिक लाभभन्दा पनि नयाँ नयाँ इनोभेसनलाई प्राथमिकता दिएको सह-संस्थापक साह बताउँछन् । 

कहिलेकाहीँ फाइनान्सियल समस्या पनि आइरहेको हुन्छ । तर, बाहिरबाट देख्नेले राम्रो काम गरिरहेका छौ भनेर तारिफ गर्छन् । यसले थप नयाँ इनोभेसन गर्न प्रेरित गर्ने उनले सुनाए ।

यता कुनै पनि संस्थालाई लामो समयसम्म सफलतापूर्वक टिकाउन इकोसिस्टम निकै महत्त्वपूर्ण हुने सीईओ थापा बताउँछन् । यसका लागि ग्राहक, सेवा प्रदायक र नियामक निकाय सबैको सहकार्य आवश्यक पर्छ । 

सबै पक्ष मिलेर अघि नबढेमा कुनैपनि उद्योग लामो समयसम्म चल्न सक्दैनन् । केही समयका लागि राम्रो आर्थिक लाभ लिने उद्देश्य राखेर कम्पनीले काम गरेमा त्यस्तो कम्पनी लामो समयसम्म चल्न नसक्ने उनी बताउँछन् । स्प्यारो एसएमएसको १५ वर्षे यात्रा कम्पनीका पार्टनर र ग्राहकहरूको विश्वासका कारण सम्भव भएको उनको भनाइ छ । 

उनका अनुसार, कम्पनीले ग्राहकलाई आम्दानीको स्रोतको रूपमा मात्र नलिई उनीहरूको समस्या बुझेर समाधानको खोजीमा बढी ध्यान दिने गरेको छ । यसले कम्पनीको ग्राहकसँग सम्बन्ध पनि राम्रो बनेको छ ।  

कम्पनीले एसएमएस सेवा सुरु गर्दा ग्राहकहरूलाई यसबारे बुझाउन र कम्पनीप्रति विश्वास गर्ने वातावरण बनाउन सह-संस्थापकहरूले निकै मेहेनत गरेको र सेवा दिँदै विश्वास जित्दै गएको उनले बताए । यस्तै सरकार र नियामक निकायबाट कुनैपनि क्षेत्रका उद्योग चलाउनका लागि सहज किसिमका नीति नियम बनाएर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत ९, २०८१ २३:१०