काठमाडौं। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप टिकटकको सेवा अमेरिकामा पुन: सञ्चालनमा आएपनि एलन मस्कले आफू सधैँ टिकटक प्रतिबन्धको विपक्षमा रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा मस्कले पुरानो पोस्टलाई शेयर गर्दै टिकटक प्रतिबन्धित हुनु भनेको अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुनु भएको बताएका छन् ।
तर टिकटक अमेरिकामा चलिरहेपनि चीनमा भने ‘एक्स’ अझै चलाउन नपाउने भएकाले असन्तुलनको अवस्था रहेको उनको भनाई छ । उनले अगाडि थप्दै भनेका छन्, “केही कुरा परिवर्तन हुन आवश्यक छ ।”
I have been against a TikTok ban for a long time, because it goes against freedom of speech.
That said, the current situation where TikTok is allowed to operate in America, but 𝕏 is not allowed to operate in China is unbalanced.
सन् २००९ देखि नै चीनमा एक्स (त्यस बेलाको ट्विटर) प्रतिबन्धित छ । चीनमा युट्युब, ह्वाटसएप, गुगल, फेसबुक जस्ता अन्य विदेशी एप पनि प्रतिबन्धित छन् ।
यता राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकमा लगाइएको प्रतिबन्धका कारण शनिबारदेखि अमेरिकामा टिकटक बन्द गरिएको थियो । तर नव निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको पहलमा उक्त प्रतिबन्ध तत्कालका लागि स्थगित भएपछि टिकटक बन्द भएको १४ घण्टामै पुन: सञ्चालनमा आइसकेको छ ।