close

साइबर सुरक्षाको जटिलता बुझ्न सघाउने ‘द भल्नरेबिलिटी पाराडक्स’, गर्नुहोस् निःशुल्क डाउनलोड

टेकपाना टेकपाना

माघ ९, २०८१ १६:३२

साइबर सुरक्षाको जटिलता बुझ्न सघाउने ‘द भल्नरेबिलिटी पाराडक्स’, गर्नुहोस् निःशुल्क डाउनलोड

काठमाडौं । “यदि तपाईं आईटी सुरक्षामा भन्दा कफीमा धेरै खर्च गर्नुहुन्छ भने, तपाईँ ह्याक हुनु हुनेछ । त्योभन्दा बढी तपाईँ ह्याक हुन लायक हुनुहुन्छ ।” यो भनाइ पूर्व अमेरिकी राष्ट्रिय सुरक्षा संयोजक तथा आतङ्कवाद विरोधी विशेषज्ञ रिचर्ड क्लार्कको हो । नेपालका साइबर सुरक्षा विज्ञ विजय लिम्बू सेनिहाङले आफ्नो पुस्तक ‘द भल्नरेबिलिटी पाराडक्स’मा यस्तै प्रेरक भनाइ समावेश गरेका छन् । 

साइबर सुरक्षाको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव बटुलेका लिम्बूले केही महिनाअघि यस पुस्तकको डिजिटल भर्सन अमेजनमा सार्वजनिक गरेका थिए । सफ्टवेयरमा हुने कमीकमजोरी र त्यसका कारण केलाउँदै साइबर सुरक्षाको विषयमा नयाँ दृष्टिकोण प्रदान गर्न यस पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ पुस्तक लेखिएको लिम्बुले बताएका छन् । पुस्तकमा सफ्टवेयर विकास गर्दा सुरक्षालाई प्राथमिकता नदिइनु, प्राविधिक ज्ञानको कमी र बजारको दबाब जस्ता कारणले कसरी साइबर सुरक्षामा चुनौती थप्छन् भन्ने विषयमा विस्तृत रूपमा चर्चा गरिएको छ । 

यसका साथै पुस्तकले विभिन्न ह्याकिङका घटनाको उदाहरण दिँदै साइबर सुरक्षाको आवश्यकतालाई औँल्याएको छ । लिम्बूले पुस्तकमा सुरक्षित सफ्टवेयर बनाउनका लागि सफ्टवेयर इन्जिनियर, नेता र नीति निर्माता सबैले कसरी सहकार्य गर्न सक्छन् भन्ने विषयमा प्रकाश पारेका छन् । 

उनले शैक्षिक संस्थाहरूले साइबर सुरक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने, कम्पनीहरूले कर्मचारीहरूलाई तालिम दिनुपर्ने र सरकारले सुरक्षा नीतिहरू बनाउनुपर्ने कुरामा जोड दिएका छन् । 

त्यस्तै सफ्टवेयरमा हुने कमजोरीका कारण, साइबर सुरक्षामा देखिएका चुनौती, सुरक्षित सफ्टवेयर बनाउनका लागि अपनाउनु पर्ने उपाय र साइबर सुरक्षामा शिक्षा र तालिमको महत्त्वबारे विस्तृतमा चर्चा गरिएको छ । 

यो पुस्तक साइबर सुरक्षा क्षेत्रमा काम गर्ने व्यक्ति, सफ्टवेयर डेभलपर र नीति निर्माताहरूका लागि निकै उपयोगी हुने बताइएको छ । यसले साइबर सुरक्षाका चुनौतीहरू बुझ्न र समाधान गर्न नयाँ मार्गनिर्देशन गर्ने लेखक लिम्बूको विश्वास छ ।

यस पुस्तकले साइबर सुरक्षाको क्षेत्रमा चेतना जगाउने र सुरक्षित डिजिटल भविष्य निर्माणमा सहयोग गर्ने आशा लिम्बूले व्यक्त गरेका छन् । ‘द भल्नरेबिलिटी पाराडक्स’ पुस्तक अहिले अमेजन किन्डलमा पढ्न सकिन्छ । त्यस्तै किन्डलको एपबाट पनि निःशुल्क पढ्न सकिन्छ । साथै हामीले यहाँ पनि पीडीएफ उपलब्ध गराएका छौं । तपाईँले यहीबाट डाउनलोड गरेर पनि पढ्न सक्नुहुन्छ ।

लेखक लिम्बु साइबर सुरक्षा कम्पनी भैरव टेकका संस्थापक तथा सीईओ हुन् । उनी नेपालका पहिलो साइबर सुरक्षा अडिटर र पेनिट्रेसन टेस्टर पनि हुन् । भैरव टेकले देश विदेशमा साइबर सुरक्षासम्बन्धी विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।

 

 

पछिल्लो अध्यावधिक: माघ ९, २०८१ १६:५२