close

एनसेलले ३ महिनामै गुमायो करिब २ लाख ५४ हजार सक्रिय मोबाइल ग्राहक, के होला कारण ?

टेकपाना टेकपाना

माघ ९, २०८१ १८:३९

एनसेलले ३ महिनामै गुमायो करिब २ लाख ५४ हजार सक्रिय मोबाइल ग्राहक, के होला कारण ?

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पछिल्लो तीन महिनाको अवधिमै करिब दुई लाख ५४ हजार सक्रिय मोबाइल प्रयोगकर्ता गुमाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो टेलिकम्युनिकेसन इन्डिकेटर्समा यस्तो अवस्था देखिएको हो ।

गएको असोज देखि नियामकले प्रतिवेदनमा दुवै टेलिकम कम्पनी एनसेल र नेपाल टेलिकमका सक्रिय मोबाइल प्रयोगकर्ताको तथ्याङ्क समेट्न थालेको छ । त्यसपछि कात्तिक मसान्तसम्म एनसेलका सक्रिय मोबाइल प्रयोगकर्ता (भोइस तर्फ) एक करोड ४९ लाख ९१ हजार १६ पुगेका थिए ।

 स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

सो समयमा प्रतिस्पर्धी नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताको सङ्ख्या एनसेल भन्दा कम (एक करोड ४६ लाख २९ हजार ८०४) रहेका थिए । त्यसयता एनसेलले लगातार आफ्ना सक्रिय मोबाइल प्रयोगकर्ता गुमाउँदै गएको छ भने नेपाल टेलिकमले त्यस्ता प्रयोगकर्ता आफूतर्फ आकर्षित गरिरहेको छ ।

यो ३ महिनाको अवधिमा नेपाल टेलिकमले एक लाख ७८ हजार ७२१ सक्रिय प्रयोगकर्ता बढाएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपाल टेलिकम एक करोड ४८ लाख ८ हजार ५२५ सक्रिय प्रयोगकर्ताका साथ देशकै सबैभन्दा ठुलो मोबाइल सेवा प्रदायक कम्पनी बनेको छ ।

दोस्रोमा रहेको एनसेलका भने सक्रिय ग्राहक एक करोड ४७ लाख ३७ हजार २०५ रहेका छन् । यस हिसाबले दुई ओटा मोबाइल सेवा प्रदायक मात्रै रहेको नेपालमा एनसेलको बजार हिस्सा ४९ प्रतिशतमा खुम्चिँदा नेपाल टेलिकमको बजार ५१ प्रतिशतमा विस्तार भएको छ ।

नोटः समाचार सच्याइएको छ । -स.

पछिल्लो अध्यावधिक: माघ ११, २०८१ १७:३९