close

टिकटक किन्ने दौडमा रहेका चर्चित युट्युबर मिस्टर बिस्ट भन्छन्ः मजाक होइन, मेरो अफिसियल अफर छ

टेकपाना टेकपाना

माघ ९, २०८१ १९:१७

टिकटक किन्ने दौडमा रहेका चर्चित युट्युबर मिस्टर बिस्ट भन्छन्ः मजाक होइन, मेरो अफिसियल अफर छ

काठमाडौं । चर्चित युट्युबर तथा टिकटक स्टार मिस्टर बिस्टले टिकटक किन्ने औपचारिक प्रस्ताव अघि सारेका छन् । चिनियाँ कम्पनीको स्वामित्वमा रहेको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भइरहेका बेला मिस्टर बिस्टले लगानीकर्ताको समूह बनाएर टिकटक किन्न प्रस्ताव गरेका हुन् ।

सामाजिक सञ्जाल कम्पनी टिकटकलाई गैर-चिनियाँ मालिक खोज्नको लागि ७५ दिनको समयसीमा दिइएको छ । यदि तोकिएको समयमा टिकटकले नयाँ मालिक फेला नपारेमा यसलाई स्थायी रूपमा प्रतिबन्ध लगाइनेछ ।

मिस्टर बिस्टका रूपमा परिचित अमेरिकी नागरिक जिमी डोनाल्डसनले १३ जनवरीमा सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “ठीक छ, म टिकटक किन्छु ताकि यो प्रतिबन्धित नहोस् ।” उनको यो भनाई मजाकको रूपमा आए पनि उनले टिकटक किन्नका लागि गम्भीरता देखाएको उनका वकिलले बताएको सीएनएनले उल्लेख गरेको छ । 

मिस्टर बिस्ट र लगानीकर्ताको समूहको यो प्रस्ताव टिकटकका लागि पछिल्ला केही दिनमा आएको एक महत्त्वपूर्ण घटना हो । औपचारिक रूपमा आइतबारदेखि प्रतिबन्ध लाग्ने पक्का भएपछि टिकटक आफैँले शनिबार राति नै प्लेटफर्मलाई अमेरिकामा डाउन गरेको थियो । 

तर राष्ट्रपति डोनल्ड ट्रम्पले ७५ दिनका लागि प्रतिबन्ध स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि टिकटक १२ घण्टापछि फेरि सञ्चालनमा आएको छ । एक्समा लेखेको दुई दिनपछि डोनाल्डसनले टिकटकमा एउटा भिडिओ पोस्ट गर्दै सामाजिक सञ्जाल प्लेटफर्म किन्ने आफ्नो मनसाय राखेका थिए । 

@mrbeast

Let’s save TikTok from going down again 🫡

♬ original sound - MrBeast

भिडिओमा उनले भनेका छन्, “मैले भर्खरै अर्बपतिसँगको बैठक सकेको छु । टिकटक, हामी व्यापार गर्न तयार छौं । मेरो वकिल यहीँ हुनुहुन्छ । हामीसँग तपाईंको लागि प्रस्ताव तयार छ । हामी यो प्लेटफर्म किन्न चाहन्छौँ ।”

अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई गैर-चिनियाँ कम्पनीलाई बेच्नुपर्ने वा प्रतिबन्ध लगाउन सकिने फैसला गरेपछि मिस्टर बिस्टले टिकटक किन्न प्रस्ताव गरेका हुन् । एम्प्लोयर डटकमका संस्थापक तथा सीईओ जेसी टिन्सलीको नेतृत्वमा रहेको लगानीकर्ता समूहमा संस्थागत लगानीकर्ता र धनाढ्यहरू छन् । उनीहरू यो एप बन्द भएको हेर्न चाहँदैनन् ।

लगानीकर्ता समूहका अनुसार यो प्रस्तावले टिकटकको सञ्चालनमा कुनै बाधा पुर्‍याउने छैन र यसले १७ करोड अमेरिकी प्रयोगकर्ताका लागि निरन्तरता सुनिश्चित गर्नेछ । टिन्सलीले एक विज्ञप्तिमा भनेका छन्, “हाम्रो प्रस्ताव एक विन-विन (दुवैको जीत) समाधान हो, जसले राष्ट्रिय सुरक्षा चिन्तालाई सम्बोधन गर्दै यो महत्त्वपूर्ण प्लेटफर्मलाई बचाउँछ ।” 

यद्यपि विज्ञप्तिमा प्रस्तावित रकम भने खुलाइएको छैन । टिकटकले यस विषयमा कुनै प्रतिक्रिया दिएको पनि छैन । अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्ने विषय सन् २०२० देखि नै चर्चामा छ । त्यस बेला राष्ट्रपति ट्रम्पले नै टिकटकलाई प्रतिबन्ध लगाउने प्रयास गरेका थिए ।

गत हप्ता सर्वोच्च अदालतले टिकटकलाई गैर-चिनियाँ कम्पनीलाई बेच्नुपर्ने फैसला सुनाएको थियो । त्यसपछि टिकटकले शनिबार एउटा मेसेज पठाउँदै भनेको थियो, “माफ गर्नुहोस्, टिकटक अहिले उपलब्ध छैन । अमेरिकामा टिकटक प्रतिबन्धित गर्ने कानुन लागु भएको छ । दुर्भाग्यवश, यसको मतलब तपाईँले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न ।”

तर ट्रम्पले सोमबार कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि टिकटक पुन: सञ्चालनमा आएको थियो । कार्यकारी आदेशले टिकटक प्रतिबन्धलाई ७५ दिनको लागि पछि सारे पनि यसले स्थायी समाधान भने दिँदैन ।

टिकटकको मातृ कम्पनी बाइटडान्सले टिकटक बेच्ने मनसाय नभएको बताएको छ । तर अमेरिकी सरकारले बाइटडान्सलाई टिकटक बेच्न बाध्य पार्ने वा नयाँ कानुन ल्याउने सम्भावना रहेको छ ।

चिनियाँ अधिकारीले टिकटकको केही हिस्सा टेस्लाका मालिक एलन मस्कलाई बेच्ने विचार गरिरहेको वाल स्ट्रिट जर्नल र ब्लुमबर्गले उल्लेख गरेका छन्। यद्यपि यस विषयमा कुनै पनि पुष्टि भएको छैन । बिजनेस रियालिटी शो शार्क ट्याङ्कका केभिन ओलेरी र अर्बपति फ्र्याङ्क म्याककोर्टसहितको समूहले पनि टिकटक किन्न प्रस्ताव गरेको छ । 

उनीहरूले टिकटकको मूल्य करिब २० अर्ब डलर रहेको बताएका छन् । तर बाइटडान्सले प्रस्तावको समीक्षा नगरेसम्म उनीहरूले वित्तीय विवरण सार्वजनिक नगर्ने बताएका छन् । वेडबुश सेक्युरिटिजका विश्लेषक ड्यान आइभ्सका अनुसार टिकटकको अमेरिकी सम्पत्तिको मूल्य ४० देखि ५० अर्ब डलर अनुमान गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ ९, २०८१ १९:१९