काठमाडौं । सामसङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक गरेको छ । बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्ट २०२५ मा कम्पनीले बहुप्रतिक्षित एस २५ सिरिज अन्तर्गतको एस २५ अल्ट्रा सार्वजनिक गरेको हो ।
यस फोनमा धेरै नयाँ विशेषताहरू छन् र यो पहिलेभन्दा धेरै शक्तिशाली र आकर्षक देखिएको छ । ग्यालेक्सी एस २५ अल्ट्राको डिजाइनमा धेरै परिवर्तनहरू गरिएको देख्न सकिन्छ । यसको कुनाहरू गोलो पारिएका छन्, जसले गर्दा फोन समात्न अझ सहज हुने कम्पनीले जनाएको छ ।
यो फोन ग्यालेक्सी एस २४ अल्ट्राभन्दा पातलो (८.२एमएम) र हल्का (२१८ग्राम) छ । यसमा टाइटेनियम फ्रेम प्रयोग गरिएको छ भने नयाँ कोर्निङ गोरिल्ला आर्मर टु ग्लास प्रयोग गरिएको छ, जुन अघिल्लो पुस्ताको भन्दा टिकाउ र चम्किलो छ ।
फोनमा ६.८ इन्चको क्यूएचडी प्लस डाइनामिक एमोलेड टु एक्स डिस्प्ले रहेको छ । यसले १ देखि १२० हर्जकोरिफ्रेश रेट, भिजन बुस्टर र एडाप्टिभ कलर टोन प्रदान गर्दछ ।
ग्यालेक्सी एस २५ अल्ट्रामा स्न्यापड्र्यागन ८ एलिट मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ, जसले १२ जीबी र्याम र ४० प्रतिशत ठूलो भेपर च्याम्बरको साथमा उत्कृष्ट प्रदर्शन दिने कम्पनीले उल्लेख गरेको छ । सामसङले यो चिप अघिल्लो चिपभन्दा ४० प्रतिशत छिटो एनपीयू, ३७ प्रतिशत छिटो सीपीयू र ३० प्रतिशत छिटो जीपीयू भएको दाबी गरेको छ ।
यो फोनमा धेरै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधाहरू छन् । साइड-स्ल्याश-पावर बटन थिचेर जेमिनीलाई एप खोल्न सकिन्छ । सर्कल टु सर्चले फोन नम्बर, ईमेल र यूआरएल पहिचान गर्न सक्छ । यसमा मल्टिमोडल एआई एजेन्टहरू छन् जसले टेक्स्ट, बोली, फोटो र भिडिओ व्याख्या गर्न सक्छन् । उदाहरणका लागि तपाईंले जेमिनीको सहायताले ग्यालरीमा कुनै खास फोटो खोज्न भन्न सक्नुहुन्छ ।
यसमा कल ट्रान्सक्रिप्ट र सारांश, राइटिङ असिस्टेन्ट र जेनेरेटिभएडिट जस्ता फिचर पनि छन् । यसका साथै, यसमा पर्सनल डेटा इन्जिन छ जसले प्रयोगकर्ताको डेटालाई सुरक्षित राख्न मद्दत गर्ने जनाइएको छ । भविष्यमा क्वान्टम कम्प्युटरबाट हुने खतराहरूबाट बचाउन पोस्ट-क्वान्टमक्रिप्टोग्राफी पनि दिइएको छ ।
अब यसमा हुने ब्रिफले दिनभरिका गतिविधिको सारांश देखाउँछ र सुझाव दिन्छ । यो फोन एन्ड्रोइड १५ मा आधारित वन यूआई ७ ओएसमा चल्छ। सामससङले सात पुस्ताको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेट दिने बताएको छ । एस २४ सिरिजमा पनि कम्पनीले यो सात वर्षको अपडेट उपलब्ध गराउने जनाएको थियो ।
ग्यालेक्सी एस २५ अल्ट्रामा नयाँ ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा थपिएको छ । यसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको फाइभ एक्स टेलिफोटो, १० मेगापिक्सेलको थ्री एक्स जुम र १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसले १०-बिट एचीडीआर भिडिओ रेकर्ड गर्न सक्छ र यसमा ग्यालेक्सी लग मोड पनि छ । एक्सपर्ट रअ (RAW) मा भर्चुअल एपर्चर मोड र पोर्ट्रेट स्टुडियो जस्ता नयाँ फिचर पनि छन् ।
सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा टाइटेनियम सिल्भरब्लू, टाइटेनियम ब्ल्याक, टाइटेनियम ह्वाइटसिल्भर र टाइटेनियम ग्रे रङमा उपलब्ध छ । यो १२/२५६ जीबी, १२/५१२ जीबी र १२ जीबी/१ टीबी कन्फिगरेसनमा उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य १२९९ डलर (करिब एक लाख ८० हजार रुपैयाँ ) तोकिएको छ ।