काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार निर्माण गर्न ५०० अर्ब डलरको लगानी घोषणा गरेका छन् । मङ्गलबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले उक्त लगानीको घोषणा गरेका हुन् ।
कार्यक्रममा ओपनएआईका सीईओ साम अल्टम्यान, सफ्टबैंकका सीईओ मासायोशी सन र ओराकलका अध्यक्ष ल्यारी एलिसन सहभागी थिए । सोही कार्यक्रममा ट्रम्पले ‘इतिहासकै सबैभन्दा ठुलो एआई पूर्वाधार’का लागि भन्दै लगानी घोषणा गरेका हुन् ।
यसका लागि ओपनएआई, सफ्टबैंक र ओराकलले ‘स्टारगेट’ नामक नयाँ कम्पनी खोल्नेछन् । सबैभन्दा पहिला तीन कम्पनीले सय अर्ब डलर लगानी गर्नेछन् र आगामी वर्षमा यो लगानी ५०० अर्ब डलर पुर्याउने लक्ष्य राखिएको छ । ट्रम्पले यो परियोजनाले अमेरिकामा एक लाख नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरेका छन् ।
स्टारगेटले एआई विकासका लागि आवश्यक भौतिक तथा भर्चुअल पूर्वाधार निर्माण गर्नेछ । त्यस अन्तर्गत देशभर डेटा सेन्टरहरू निर्माण हुनेछन् । ओराकलका अध्यक्ष ल्यारी एलिसनले अमेरिकाको टेक्ससमा पहिलो १० लाख वर्ग फिटको डेटा सेन्टर निर्माण भइरहेको जानकारी दिए ।
“यो परियोजना यस युगको सबैभन्दा महत्त्वपूर्ण परियोजना बन्नेछ । तपाईँ (ट्रम्प)को समर्थन नभए यो सम्भव हुने थिएन,” कार्यक्रममा बोल्दै अल्टम्यानले भनेका थिए । ओराकल हाल अमेरिकाको प्रमुख डेटा सेन्टर सञ्चालकमध्ये एक हो । त्यस्तै सफ्टबैंक एआई पूर्वाधार विस्तारका लागि आवश्यक आर्थिक स्रोत उपलब्ध गराउँदै आएको वित्तीय संस्था हो ।
अल्टम्यानले यसअघि अमेरिकी अधिकारीहरूलाई एआई पूर्वाधार विकासमा सहयोग गर्न आग्रह गरेका थिए । उनले भनेका छन्, “एआईले अर्थतन्त्रदेखि सैन्य क्षमतासम्म सबै क्षेत्रमा प्रभाव पार्नेछ । यसमा अग्रता लिन अमेरिकालाई उत्कृष्ट पूर्वाधारको खाँचो छ ।”
ओपनएआईले हालै सार्वजनिक गरेको एक रिपोर्ट (पोलिसी ह्वाइट पेपर)मा अमेरिकी एआई पूर्वाधारमा गरिने लगानीले नयाँ रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने उल्लेख छ । साथै यसले अमेरिकी प्रविधिलाई चिनियाँ प्रविधिभन्दा अगाडि राख्न मद्दत गर्ने दाबी गरिएको छ । रिपोर्टमा भनिएको छ, “यदि अमेरिकाले यो लगानीलाई आकर्षित गर्न सकेन भने यी स्रोतहरू चीन सम्बद्ध परियोजनामा प्रवाहित हुनेछन् । यसले चिनियाँ कम्युनिस्ट पार्टीको विश्वव्यापी प्रभावलाई बलियो बनाउनेछ ।”
ओराकलका अनुसार स्टारगेट परियोजनाले एआईमा अमेरिकाको प्रभुत्वलाई बलियो बनाउनेछ भने हजारौँ अमेरिकीलाई रोजगारी दिनेछ । त्यसैगरी यसले विश्वभर ठुलो आर्थिक लाभ पुर्याउनेछ । यसले अमेरिकालाई पुनः औद्योगिकीकरण गर्न र राष्ट्रिय सुरक्षाका लागि रणनीतिक सहायता उपलब्ध गराउने ओराकलको विश्वास छ ।
सफ्टबैंकले स्टारगेटको वित्तीय जिम्मेवारी लिनेछ भने सञ्चालनको जिम्मा ओपनएआईको हुनेछ । सफ्टबैंकका अध्यक्ष मासायोशी सन स्टारगेटको अध्यक्ष हुनेछन् । त्यसो त यो परियोजना सफल हुन्छ वा हुँदैन भन्नेमा विज्ञहरू द्विविधामा छन । किनभने यसअघि ट्रम्पले घोषणा गरेका केही ठुला परियोजना सफल नभएका उदाहरण पनि छन् ।
सन् २०१७ मा फक्सकन कम्पनीसँग गरिएको १० अर्ब डलरको इलेक्ट्रोनिक्स कारखानाको परियोजनाले १३ हजार रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको थियो । तर पछि त्यो परियोजना ६७२ मिलियन डलरमा सीमित भएको थियो भने त्यसले लगभग १५०० रोजगारका अवसर मात्रै सिर्जना गर्न सकेको थियो ।
फक्सकनले एक अर्ब डलर लगानी गरेको र अहिले पनि त्यहाँ एक हजारभन्दा बढी कर्मचारीसहित डेटा सर्भरको प्रमुख उत्पादन स्थल रहेको बताएको छ । तर, ट्रम्पले घोषणा गरेको सुविधामा अहिले माइक्रोसफ्टको डेटा हब बनेको छ । यसले कर्मचारी र उत्पादकलाई एआईको सही प्रयोग गर्नेबारे तालिम दिने लक्ष्य राखेको छ ।
त्यस्तै सोमबार ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडनले सन् २०२३ मा जारी गरेको कार्यकारी आदेशलाई उल्टाएका छन् । उक्त आदेशमा एआईका जोखिमको अनुगमन तथा नियन्त्रण गर्ने उद्देश्य राखिएको थियो । यद्यपि यो नयाँ एआई पूर्वाधार परियोजनाले अमेरिकी उद्योग र रोजगारीमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने भएकाले मूर्त रूप पाउने अपेक्षा गरिएको छ ।
ओपनएआईले सो परियोजना सम्बन्धी घोषणा गर्दै एक्समा एउटा लामो पोस्ट राखेको छ । त्यसमा वर्तमान विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले परियोजनाका लागि आवश्यक लगानी नै नभएको टिप्पणी गरेका छन् । "वास्तवमा तिनीहरूसँग पैसा नै छैन," मस्कले लेखेका छन् । "सफ्टबैंकसँग १० अर्ब डलर जति छ, म यो सूचना प्रति विश्वस्त छु," टेस्लाका सीईओ समेत रहेका उनले अर्को पोस्टमा भनेका छन् ।