close

एप्पल वाचले यसरी जोगायो स्कि खेलाडीको ज्यान

टेकपाना टेकपाना

माघ १४, २०८१ १७:३

एप्पल वाचले यसरी जोगायो स्कि खेलाडीको ज्यान

काठमाडौं । एप्पल वाचले धेरैको ज्यान बचाएको छ । एप्पलका सीईओ टिम कुकले हालै मात्र स्मार्ट वाचका कारण आफ्ना बुबाको ज्यान जोगिएको खुलासा गरेका थिए । 

हालैको अर्को एक घटनामा एप्पल वाच एक स्कियर (स्कि खेलाडी) का लागि उद्धारकर्ता साबित भएको छ । यदि वाच नभएको भए उनी सायद चिसोले जमेर मर्ने थिए । उनी हिउँले ढाकिएको ठाडो पहाडबाट लगभग एक हजार फिट तल खसेका थिए ।

उनको घडीले अचानक लडेको थाहा पाउने बित्तिकै यसको आपत्कालीन एसओएस (Emergency SOS) फिचर एक्टिभ भयो । स्कियरले केही गर्नु परेन । घडीले आफैँ उद्धारकर्तालाई उनको सही लोकेसन सहित अलर्ट पठायो ।

नाइन टु फाइभ म्याकको रिपोर्ट अनुसार उद्धारकर्ताले घडीबाट प्राप्त भएको सटीक जीपीएस लोकेसन प्रयोग गरेर स्कियरलाई चिसोले थप क्षति पुर्‍याउनु अघि नै फेला पारे । स्कियरलाई तुरुन्तै सुरक्षित स्थानमा लगियो र उनको उपचार गरियो । उद्धारकर्ताका अनुसार एप्पल वाचले उनको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

एप्पलले प्रयोगकर्तालाई आपतकालीन अवस्थामा सहयोग गर्नका लागि वाचमा फल डिटेक्सन (Fall Detection) र आपत्कालीन एसओएस (Emergency SOS) जस्ता फिचर समावेश गरेको छ । यदि यसले अचानक लडेको वा दुर्घटना भएको महसुस गर्‍यो भने तत्कालै मद्दतको लागि कल गर्न सक्छ । यदि उक्त वाच लगाएको व्यक्ति नेटवर्क नटिप्ने ठाउँमा छ भने पनि यसले स्याटलाइट सिग्नलमार्फत कल गर्न सक्छ । 

प्रयोगकर्ताले पहिले नै सेट गरेका आपत्कालीन कन्ट्याक्टलाई पनि वाचको यो फिचरले सूचित गर्छ । यस घटनामा त्यो प्रविधिले ठिक काम गरेको भन्दै चर्चा भइरहेको छ । स्कियरको लागि उनको एप्पल वाच केवल घडी मात्र नभएर जीवनदाता बनेको छ ।

 

पछिल्लो अध्यावधिक: माघ १४, २०८१ १७:६