काठमाडौं । भोलि अर्थात् बुधबारदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘एक्टर: टेक वान’ को प्रदर्शन रोकिएको छ । काठमाडौं जिल्ला अदालतले अल्पकालीन आदेश दिँदै यसको प्रदर्शन रोक्न आदेश जारी गरेको हो ।
माघ ४ देखि प्रदर्शनरत अर्को चलचित्र ‘एक्टर’को निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले आफ्नो चलचित्रसँग नाम जुधेको भन्दै ‘एक्टर: टेक वान’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेको थियो ।
उक्त रिटमा मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले २२ माघमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । साथै, उक्त समयसम्म ‘एक्टर: टेक वान’को प्रदर्शन रोक्न अल्पकालीन आदेश दिइएको छ ।
राजन भुसालले निर्देशन गरेको ‘एक्टर: टेक वान’ मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला लगायतका कलाकारहरूको अभिनय छ । चलचित्रका निर्माता थमनकुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनिश भुसाल हुन् ।
भोलिबाट प्रदर्शनमा आउने भनिएको यो चलचित्रका लागि मल्टिप्लेक्स सिनेमा हलहरूमा अग्रिम टिकट बिक्री सुरु भइसकेको थियो । चलचित्रले विभिन्न हलहरूमा १६० ओटा शो पनि पाइसकेको थियो ।