close

डिपसिकको चर्चाले चकित छन् ट्रम्प, भन्छन्- ‘अमेरिकी कम्पनीका लागि वेक-अप कल’

टेकपाना टेकपाना

माघ १६, २०८१ ११:२२

डिपसिकको चर्चाले चकित छन् ट्रम्प, भन्छन्- ‘अमेरिकी कम्पनीका लागि वेक-अप कल’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी डिपसिक विकास गरेको एआई च्याटबटलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि ‘वेक-अप कल’ भनेका छन् । ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विश्वव्यापी रूपमा प्रभुत्व जमाउने दौडमा यो एउटा महत्त्वपूर्ण मोड भएको बताएका हुन् ।

डिपसिकले २०२४ को अन्त्यतिर आरवन मोडलको च्याटबट विकास गरी सार्वजनिक गरेको थियो । यो ओपनएआईको च्याटजीपीटी र गुगलको जेमिनाई जस्ता प्रतिस्पर्धीहरूको तुलनामा निकै कम लागतमा तयार भएको बताइएको छ ।

डिपसिक सार्वजनिक भएसँगै सोमबार अमेरिकी प्रविधि कम्पनीको स्टकमा १० खर्ब डलरको गिरावट आएको थियो । डिपसिकको अत्यधिक चर्चा भइरहँदा कम्प्युटर चिप्सको अग्रणी निर्माता एनभिदियाको बजार मूल्य एकै दिन ६०० अर्ब डलरले घटेको छ । यो अमेरिकी शेयर बजारको इतिहासमा सबैभन्दा ठूलो एकदिने गिरावट हो ।

डिपसिकको चर्चाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि बोल्न बाध्य पारेको छ । सोमबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, “चिनियाँ कम्पनीले बनाएको डिपसिक एआई सार्वजनिक हुनु हाम्रो उद्योगका लागि वेक-अप कल हो । यसले हामीले प्रतिस्पर्धामा जित्नका लागि केन्द्रित हुनुपर्छ भन्ने सन्देश दिएको छ ।”

उनले डिपसिकले कम स्रोतमा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राख्ने भन्दै प्रशंसा गरेका छन् । “यो राम्रो हो किनभने यसमा धेरै पैसा खर्च गर्नुपर्दैन,” ट्रम्पले भने, “म यसलाई सकारात्मक रूपमा लिन्छु । यो एउटा सम्पत्ति हो ।”

सोमबार डिपसिक असिस्टेन्टले एप्पलको एपस्टोरबाट डाउनलोडको सङ्ख्यामा च्याटजीपीटीलाई उछिन्यो । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले डिपसिकबाट आफू प्रभावित भएको बताए, तर अमेरिकी उद्योगले विकासलाई गति दिने बताएका छन् । “मूल्यको हिसाबले डिपसिकको आरवन मोडलले जे दिइरहेको छ, त्यो प्रशंसनीय छ,” उनले एक्समा पोस्ट राख्दै भने, “हामी स्पष्ट रूपमा धेरै राम्रो मोडलहरू दिनेछौं र नयाँ प्रतिस्पर्धी हुनुले हामीलाई थप उत्साहित बनाएको छ । हामी केही नयाँ कुराहरू लिएर आउनेछौं ।”

डिपसिकका कारण अमेरिकामा देखिएको शेयर बजारको गिरावट एसियामा पनि फैलिएको छ । मङ्गलबार जापानको निक्केई शेयर औसत १.३ प्रतिशतले घट्यो । जापानी टेक स्टकहरूमा पनि गिरावट आएको छ । एडभान्टेस्ट ११ प्रतिशत, टोकियो इलेक्ट्रोन ६ प्रतिशत र डिस्को कर्पोरेसन लगभग तीन प्रतिशतले घटेको छ । प्रविधि लगानीकर्ता सफ्टबैंकको शेयर ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

अन्य ठूला एसियाली बजारहरू नयाँ वर्षका बिदाका कारण बन्द छन् ।

डिपसिकका अनुसार यसको आरवन मोडलले ओपनएआईको ओवन-मिनी मोडललाई “विभिन्न बेन्चमार्कहरू” मा उछिनेको छ । आर्टिफिसियल एनालिसिसको अनुसन्धानले यसलाई समग्र गुणस्तरको हिसाबले गुगल, मेटा र एन्थ्रोपिकले विकास गरेका मोडलहरूभन्दा माथि राखेको छ ।

यो कम्पनी लिआङ वेनफेङले स्थापना गरेका हुन्, जसले एक हेज फन्ड, हाई-फ्लायर क्यापिटल चलाउँछन् । यसले शेयरको मूल्यमा ढाँचा पहिचान गर्न एआई प्रयोग गर्दछ । लिआङले सन् २०२१ मा एआई मोडलहरू विकास गर्न एनभिदिया चिप्स किन्न थालेका थिए । सन् २०२३ मा उनले पूर्वी चिनियाँ शहर हाङझाउमा आधारित डिपसिकको स्थापना गरेका हुन् ।

यो कम्पनी व्यावसायिक उत्पादनको सट्टा अनुसन्धानमा केन्द्रित छ । डिपसिक असिस्टेन्ट र यसको आधारभूत कोड निःशुल्क डाउनलोड गर्न सकिन्छ । यसका मोडलहरू ओपनएआईको ओवनभन्दा सञ्चालन गर्न पनि सस्तो रहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १६, २०८१ ११:३७