close

आधा करोड खर्चेर ४३ जना सांसदका लागि नयाँ ल्यापटप खरिद गर्दै सुदूरपश्चिम सरकार

टेकपाना टेकपाना

माघ २८, २०८१ १५:७

आधा करोड खर्चेर ४३ जना सांसदका लागि नयाँ ल्यापटप खरिद गर्दै सुदूरपश्चिम सरकार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सांसदहरूका लागि नयाँ ल्यापटप खरिद गरि दिने भएको छ । प्रदेश सरकारको आर्थिक मामला मन्त्रालयबाट बजेट विनियोजन गरेर नयाँ ल्यापटप खरिद गर्न लागिएको जानकारी प्रदेश सभा सचिव देवबहादुर बोगटीले दिए । 

उनले भने, “४३ जना सांसदलाई ल्यापटप खरिद गर्नका लागि टेन्डर आह्वान गरेका छौँ,” मन्त्रालयले यसका लागि ४७ लाख रुपैयाँ विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । जसमध्ये मन्त्री पदमा रहेका १० जनालाई छोडेर बाँकी ४३ जनाका लागि नयाँ ल्यापटप खरिद गर्न लागिएको हो । 

यसअघि प्रदेश सरकारको अघिल्लो कार्यकालका सांसदहरूका लागि पनि ल्यापटप खरिद गरि दिएको थियो । “यस पटक चुनाव लड्नु भएका सांसदले पहिल्यै नै ल्यापटप फिर्ता गर्नु भएको थियो । चुनाव नलड्ने धेरैले अहिलेसम्म पनि ती ल्यापटप फिर्ता दिनु भएको छैन । धेरै पटक ताकेता गर्दा पनि फिर्ता नगरेपछि नयाँ ल्यापटप किन्न लागेका हौँ,” उनले भने । 

गत कार्यकालमा खरिद गरिएका ल्यापटप कमसल भएकाले काम गर्न समस्या भएको जिकिर उनले गरे । उनले भने, “स्टोरेज पनि कम थियो । चलाउँदा पनि स्लो हुन्थ्यो । त्यही भएर धेरै जनाले पुराना ल्यापटप फिर्दा गरि दिनु भयो । मैले पनि काम नलाग्ने भएर ल्यापटप फिर्ता गरेको छु ।”

पछिल्लो अध्यावधिक: माघ २८, २०८१ १५:८