सुरक्षित इन्टरनेट दिवसमा राष्ट्रिय स्तरको वेबिनार हुँदै, बालबालिकासहित यसरी बन्नुहोस् सहभागी
माघ २८, २०८१ १७:२१
काठमाडौं । 'सेफर इन्टरनेट डे' अर्थात् सुरक्षित इन्टरनेट दिवसको अवसरमा राष्ट्रिय स्तरको वेबिनार कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को अग्रसरतामा यस्तो कार्यक्रम आयोजना हुन लागेको हो ।
"सुरक्षित इन्टरनेटः सबैका लागि, सधैका लागि" भन्ने नाराका साथ आयोजना हुने वेबिनार भोलि १९ माघ मङ्गलबारका दिन बिहान ११:०० बजेदेखि १:०० बजेसम्म चल्नेछ । यो भर्चुअल छलफलमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, र नेपाल दूरसञ्चार प्राधिकरण समेतको आयोजकको रूपमा र विकास साझेदार तथा नागरिक सङ्घ-संस्था सञ्जालको समन्वय र सहयोग रहेको छ ।
जसमा बालबालिकाको अनलाइन सुरक्षा तथा सुरक्षित इन्टरनेट सेवा सम्बन्धी जानकारी लिन सकिनेछ । बालबालिकाको अनलाइन तथा इन्टरनेट सुरक्षा सुनिश्चित गर्न गराउन सम्पूर्ण विद्यालय, बाल गृह, बाल सुधार गृह, अस्थायी संरक्षण सेवा केन्द्र, परिवारमा आधारित हेरचाह गर्ने संस्था, पुनःस्थापना केन्द्र लगायतका सामाजिक एवम् निजी क्षेत्रका निकाय तथा संस्थालाई सामूहिक रूपमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न आग्रह गरिएको छ ।
यसका लागि यहाँ क्लिक गरी यथाशीघ्र रजिस्ट्रेसन गर्नुपर्नेछ । यसमा पहिला रजिस्ट्रेसन गर्ने ५०० जति विद्यालय तथा संस्थालाई पहुँच पुर्याउन सकिने भएको हुँदा जति छिटो रजिस्ट्रेसन गर्न सकिन्छ, उत्तिकै सहभागिता सुनिश्चित हुनेछ ।
पछिल्लो अध्यावधिक: माघ २८, २०८१ १७:२१
