काठमाडौं । सामाजिक सञ्जालमार्फत चिनजान गरेर किशोरीलाई अश्लीलता प्रदर्शन गर्न लगाई अनुचित लाभ लिन खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं वनस्थली बस्ने २० वर्षीय आयुष कुँवर रहेका छन् ।
साइबर ब्युरोका अनुसार, आरोपी कुँवरले सबैभन्दा पहिले किशोरीलाई स्न्यापच्याटमा साथी बनाएका थिए । कुरा गर्दै गएपछि किशोरीलाई भिडिओमा अश्लील हर्कत गर्न लगाए । र, त्यसको रेकर्ड आफूले राख्न थाले ।
“किशोरीको अश्लील भिडिओ राखेर शारीरिक सम्बन्धका लागि दबाब दिँदै बोलाउने रहेछ,” टेकपानासँग कुरा गर्दै ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने, “पछि किशोरीले ब्लक गरिन् ।”
ब्लक गर्दा पनि कुँवरले फरक-फरक आईडी बनाएर किशोरीलाई सताउन थाले । अत्ति भएपछि उनले घटनाको सबै बेलीविस्तार आमा बुवालाई लगाइन् । यसपछि उनका अभिभावकले ब्युरोमा उजुरी दिएका थिए ।
त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा कुँवरको संलग्नता भेटिएको अवस्थीले सुनाए ।
आरोपी कुँवरमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।