काठमाडौं । गुगलका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) एरिक स्मिड्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दुरुपयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । स्मिड्टले आतङ्कवादी वा ‘दुष्ट राष्ट्र’ ले एआई प्रयोग गरेर निर्दोष मानिसलाई हानी पुर्याउन सक्ने चेतावनी दिएका छन् ।
सन् २००१ देखि २०१७ सम्म गुगलको उच्च पदमा रहेका स्मिड्टले पेरिसमा हालै भएको एआई एक्सन समिटमा बोल्दै एआईबाट हुने जोखिमप्रति आफ्नो धारणा राखेका हुन् । “एआईको जोखिमबारे अरूले जस्तो धारणा राख्छन्, त्यसमा मेरो धारणा अरूको भन्दा फरक छ,” उनले भने, “म यसको चरम जोखिमको कुरा गर्छु ।”
उत्तर कोरिया, इरान, रुस जस्ता देशले यो प्रविधि अपनाएर जैविक हतियार बनाउन सक्ने उनले खतरा औंल्याए । यसैकारण उनले एआई मोडेल विकास गरिरहेका निजी प्रविधि कम्पनीलाई सरकारले निगरानी गर्नुपर्ने बताए । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले शक्तिशाली माइक्रोचिपलाई १८ बाहेक अन्य देशमा निर्यातमा लगाएको नियन्त्रणलाई उनले समर्थन गरेका थिए ।
यद्यपि, वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई उल्टाउन सक्ने सम्भावना छ । उपराष्ट्रपति जेडी भ्यान्सले यस्तो किसिमको नियमनले ‘परिवर्तनकारी उद्योगलाई समाप्त पार्ने’ बताएका छन् । “गलत व्यक्तिको हातमा परेको खण्डमा एआई प्रणालीलाई हतियार विकास गर्न प्रयोग गर्न सकिन्छ, जसले कुनै दुष्ट व्यक्तिबाट ‘खराब जैविक हमला' निम्त्याउन सक्छ,” उनले थपे ।
स्मिड्टले अगाडि भने, “मलाई सधैं ‘ओसामा बिन लादेन’ जस्तो परिदृश्यको डर लाग्छ, जहाँ कुनै दुष्ट व्यक्तिले हाम्रो आधुनिक जीवनको कुनै पक्षलाई कब्जा गरेर निर्दोष मानिसलाई हानी पुर्याउँछ ।”
ओसामा बिन लादेनले २००१ मा सेप्टेम्बर ११ मा आक्रमणको योजना बनाएका थिए । जसमा लादेनको समूहले विमान अपहरण गरेर हजारौं मानिसको ज्यान लिएको थियो ।
तर, एकै समयमा उनले अत्यधिक नियमनले नवप्रवर्तनलाई निरुत्साहित गर्न सक्ने उनले चेतावनी दिए । उनले भने, “एआई धेरै हदसम्म निजी कम्पनीहरूले निर्माण गर्नेछन् ।”
युरोपको उदाहरण दिँदै स्मिड्टले त्यहाँ एआईमा अत्यधिक नियमन भएकाले एआईमा क्रान्ति ल्याउन नसकिने बताए । उनका अनुसार बिजुलीको आविष्कारपछि सबैभन्दा ठूलो परिवर्तन एआई क्रान्ति हो ।