काठमाडौं । सन् २०२५ को ‘भ्यालेन्टाइन्स डे’ पनि सक्किनै लाग्यो । २० वर्ष पूरा भएर पनि कुनै ‘डेट’ जान पाउनुभएन ? चिन्ता नगर्नुहोस् ! आधुनिक प्रविधिले तपाईंलाई योग्य भ्यालेन्टाइन खोज्न मद्दत गर्न सक्छ ।
मन मिल्ने साथी तपाईँ पढ्ने कलेज, काम गर्ने अफिस वा कुनै सभा समारोहमा भेट्न सकिन्छ । फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल पनि साथी खोज्ने माध्यम बनेका छन् । यदि कतैपनि मन मिल्ने साथी भेट्नु भएन भने डेटिङ एप विकल्प बन्न सक्छन् । सामान्य अर्थमा बुझ्दा यस्ता डेटिङ एप तथा साइटले प्रेम जोडी मिलाउने काम गर्छन् । विभिन्न तथ्याङ्कले यस प्रकारका प्लेटफर्म प्रयोग गर्नेहरू बढिरहेको देखाउने गरेका छन् ।
यदि तपाईं यसअघि नै अरू कोहीसँग प्रेम सम्बन्धमा हुनुहुन्छ भने यस्तो प्लेटफर्मको खासै अर्थ नहोला । तर तपाईंले अझै आफ्नो जोडी भेट्नु भएको एउटा विकल्प चाहिँ बन्न सक्छ । के थाहा, तपाईंले आफ्नो जोडी यतैकतै भेट्नुहुन्छ कि !
तपाईँका लागि उपयुक्त हुनसक्ने केही डेटिङ एपका बारेमा यहाँ चर्चा गरिएको छ:
टिन्डर (Tinder)
डेटिङ एपहरू मध्ये निकै चर्चित नाम हाे, टिन्डर । कतिपयले यसलाई आधुनिक डेटिङ एप मान्ने गरेका छन् ।
यदि कसैको प्रोफाइल मन परे दायाँतिर स्वाइप गर्ने र मन नपरे बायाँतिर स्वाइप गर्न मिल्ने टिन्डरको यस स्वाइपिङ फर्म्याट निकै प्रख्यात छ । यदि दुवै प्रयोगकर्ताले दायाँतिर स्वाइप गरेको खण्डमा उनीहरू एक-अर्कासँग कुराकानी गर्न सक्छन् ।
यसमा राखिने प्रोफाइल वा बायो (व्यक्तिबारे संक्षिप्त जानकारी) पनि निकै सरल हुन्छन् । एपको आकर्षक फिचर भनेको प्रोफाइलमा राखिने फोटो र व्यक्ति सम्बन्धी लेखिएको ब्लर्ब (blurb) अर्थात् छोटो विवरण हो ।
याे एपमा प्रोफाइल अपडेट गरेपनि म्याच हेर्न सक्नुहुन्छ । यहाँ म्याचसँग कुराकानी गर्न र भिडिओ कल गर्ने सुविधा नि:शुल्क रहेको छ । प्रिमियम फिचरका लागि भने एक हप्ताको २२.९९ डलर तिर्नुपर्ने हुन्छ । मासिक प्याकेज लिनुपरे टिन्डरमा हप्ताको ११.२४ डलर तिर्नुपर्ने हुन्छ ।
एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।
बम्बल (Bumble)
बम्बल पनि डेटिङ एपमध्ये राम्रो विकल्प हो । यसले पनि टिन्डरमा जस्तै स्वाइप गर्न मिल्ने फिचर दिएको छ । एपले महिलाहरूलाई विशेष प्राथमिकतामा दिने बताउने गरेको छ । किनकि जोडी मिलेपछि एपले पुरुषभन्दा महिलालाई सुरुमा मेसेज पठाउने मौका दिन्छ ।
जोडी बाहेक एपले उस्तै रुचि भएका साथीहरू मिलाउन नेटवर्किङको समेत अवसर दिने गरेको छ । तर एपको पूरै फिचर चलाउन मासिक ४० डलर तिर्नुपर्ने हुन्छ ।
एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।
मिङ्गल २ (Mingle 2)
यस एपमा पनि कसैको प्रोफाइल मन परे दायाँतिर स्वाइप गर्ने र मन नपरे बायाँतिर स्वाइप गर्न मिल्छ । दुवै प्रयोगकर्ताले दायाँतिर स्वाइप गरेपछि उनीहरू एक-अर्कासँग कुराकानी गर्न सक्छन् ।
यस एपमा फोटो नै राख्नुपर्छ भनेर अनिवार्य गरिएको छैन । समय समयमा विज्ञापन आउने भएकाले केही झन्झटिलो पनि हुनसक्छ । तर यो एप प्रयोगका लागि नि:शुल्क गरिएको छ । एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।
बडु (Badoo)
२००६ मा सार्वजनिक भएको बडु सामाजिक सञ्जाल साइट जस्तै छ । यसमा आफू नजिकै रहेका व्यक्तिहरू खोज्ने लगायतका आकर्षक फिचर छन् । त्यस्तै टिन्डरमा भएको स्वाइपिङ फिचर यसमा पनि छ ।
यसका प्रिमियम फिचर चलाउन चाहनुहुन्छ भने मासिक १० डलरसम्म तिर्नुपर्ने हुन्छ । एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।
ग्राइन्डर (Grindr)
ग्राइन्डर एलजीबीटीक्यू (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) समुदाय केन्द्रित छ । यसका अधिकांश फिचर टिन्डरजस्तै छन् । प्रिमियम भर्सन चलाउन चाहनुहुन्छ भने मासिक शुल्क २० डलर रहेको छ ।
एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।
ओकेक्युपिड (OkCupid)
प्रयोगकर्ताको चाहना र व्यक्तित्वका हिसाबले जोडी खोजिदिने प्लेटफर्मका रुपमा परिचित नाम हाे, ओकेक्युपिड । यसका लागि एप प्रयोग गर्नुअघि प्रयोगकर्ताले ५० देखि १०० प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । जसको आधारमा एपको एल्गोरिदमले उपयुक्त जोडी खोजिदिने गर्छ ।
यसको प्रिमियम भर्सन चलाउन मासिक शुल्क १५ डलर तिर्नुपर्छ ।
एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।
कफी मिट्स बेगल (coffee meets bagel)
कफी मिट्स बेगल डेटिङ एप मात्र नभएर सामाजिक सञ्जाल पनि हो । एपले प्रयोगकर्तालाई ‘बेगल’ (बाक्लो र मिठो गोलाकार रोटी) र ‘लाइक अ बेगल’ शब्दले प्रतिबिम्बित गर्ने गरेको छ । जब दुई प्रयोगकर्ताहरूले एकअर्काको प्रोफाइल ‘लाइक’ गर्छन्, तब सात दिनसम्म कुराकानी गर्ने उनीहरूको बाटो खुल्छ ।
एपले विभिन्न प्रिमियम फिचर पनि दिने गरेको छ । तर त्यसका लागि पैसा तिर्नुपर्छ । यसका लागि मासिक २० डलर लाग्छ ।
एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।
बिहे नेपाल (Bihe Nepal)
नामले नै यो एप नेपाली हो भनेर थाहा पाउनु भयो होला । यो प्लेटफर्मबाट विवाहका लागि जीवनासाथी, मिल्ने साथी वा प्रेम सम्बन्धका लागि पाटर्नर खोज्न सकिन्छ । यसमा तपाईँलाई कसैको प्रोफाइल मन पर्यो भने एड युजरमा क्लिक गरेर रिक्वेस्ट पठाउन सक्नुहुन्छ । उताबाट रिक्वेस्ट एसेप्ट भएमा कुराकानी अघि बढाउन सक्नुहुन्छ ।
सामान्यतः यो प्लेटफर्म नि:शुल्क प्रयोग गर्न सकिन्छ । तर नि:शुल्क संस्करणमा म्याच भेट्टाउन गाह्रो नै पर्छ ।
तर यसका प्रिमियम सेवा लिन भने भीआईपी क्लबमा जोडिन पर्ने हुन्छ । भीआईपी क्लबमा छ महिनाको १० हजार रुपैयाँ, वार्षिक १५ हजार रुपैयाँ र आजीवन सदस्यताका लागि ४९ हजार रुपैयाँ तिर्नुपर्छ । यसलाई डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
टनटन (Tantan)
विशेषगरी एसियाली बजारलाई लक्षित गरी बनाइएको यो डेटिङ एपमा कसैको प्रोफाइल मन परे दायाँतिर स्वाइप गर्ने र मन नपरे बायाँतिर स्वाइप गर्न मिल्छ । दुवै प्रयोगकर्ताले दायाँतिर स्वाइप गरेपछि उनीहरू एक-अर्कासँग कुराकानी गर्न सक्छन् ।
तर आफूलाई कसैले मन पराएको छ भन्ने जानकारी पाउनका लागि भने शुल्क तिर्नुपर्छ । यो एपमा मासिक ९.०४, तीन महिनाको २०.१५ डलर र वार्षिक ६४.७५ डलर तिर्नुपर्छ ।
टनटन डाउनलोड गर्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।
हिन्ज (Hinge)
२०१३ मा डेटिङ एपको बजारमा भित्रिएको हिन्जलाई कतिपयले टिन्डरको विकल्पका रूपमा लिने गरेका छन् । यसमा अन्य प्रयोगकर्तालाई मेसेज पठाउन प्रोफाइल (विवरण) मिल्न आवश्यक छैन ।
त्यस्तै प्रोफाइल स्वाइप नगरी प्रयोगकर्ताले एक-अर्काको विशेष फोटो अथवा व्यक्तिगत प्रम्प्टलाई ‘लाइक’ गरेर अन्तर्क्रिया गर्छन्, जुन प्रयोगकर्ता आफैंले राख्न सक्छन् । यसको प्रिमियम फिचर चलाउन भने मासिक १० डलर तिर्नुपर्ने हुन्छ ।
एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।
यी लगायत विभिन्न एपले प्राय सबै उमेर समूहका लागि उपयुक्त जोडी खोज्न मद्दत गर्छन् । आजकलको व्यस्त जीवनशैलीमा कोहीसँग भेट्न र कुरा गर्न गाह्रो हुन सक्छ । यी एपले तपाईंलाई आफ्नो घरबाटै नयाँ साथी बनाउन र कुरा गर्न सजिलो बनाएका छन ।
तर, यी एप प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । सकेसम्म आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नुहोस् ।
अब प्रेमी-प्रेमिका पनि डेटिङ एपमार्फत एआईले नै खोजिदिने !
संसारको सबैभन्दा ठूलो डेटिङ प्लेटफर्मको रूपमा रहेको म्याच ग्रुपले हालै एआईमा थप लगानी बढाउने र आउँदो मार्चमा नयाँ उत्पादन ल्याउने घोषणा गरेको छ।
अहिलेसम्म नाम स्पष्ट नभइसकेको कम्पनीको एआई असिस्टेन्टले डेटिङका लागि मुख्य कामहरू गरिदिनेछ । जस्तै; धेरै प्रतिक्रिया आउने फोटोहरू चयन गर्ने, बायोमा समावेश गर्नुपर्ने जानकारीबारे सुझावहरू दिने । यसले प्रयोगकर्तालाई उपयुक्त जोडी खोज्न सहयोग गर्ने बताइएको छ ।
एआईले प्रयोगकर्तासँग मौखिक अन्तर्वार्ता लिएर उनीहरूले आफ्नो डेटिङ अनुभवबाट के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनेछ र रुचिको आधारमा म्याच भएका व्यक्तिलाई के मेसेज पठाउने भन्ने सल्लाह दिनेछ ।
कम्पनीका अनुसार एआईले 'सङ्घर्ष गरिरहेका प्रयोगकर्ताहरूका लागि प्रभावकारी कोचिङ' समेत प्रदान गर्नेछ । जसमा आफ्नो प्रोफाइलमा कसरी अरूको ध्यान खिच्ने भन्ने कुरा थाहा पाउन नसकेर असफल भइरहेका व्यक्तिहरूका लागि टिप्स समेत समावेश हुनेछन् ।
म्याच ग्रुपका प्रमुख कार्यकारी बर्नार्ड किमले लगानीकर्ताहरूलाई कम्पनीले नयाँ चरणको सुरुवातका लागि 'एआई रूपान्तरण' मा ध्यान केन्द्रित गर्नु पर्ने बताइसकेका छन् ।