close

नोइज क्यान्सिलेसन इयरफोन वा इयरबड्सले सुन्ने क्षमता कमजोर बनाउँछ ?

टेकपाना टेकपाना

फागुन ५, २०८१ १८:५३

नोइज क्यान्सिलेसन इयरफोन वा इयरबड्सले सुन्ने क्षमता कमजोर बनाउँछ ?

 

काठमाडौं  । आजकल यात्रामा होस् या बजारमा, चर्को आवाजबाट बच्न धेरैले नोइज-क्यान्सेलेसन विशेषता भएका इयरफोन तथा इयरबड्स प्रयोग गर्छन् । तर, लामो समयसम्म यस्ता इयरबड्सको प्रयोगले सुन्ने क्षमतामा समस्या आउन सक्ने बीबीसीको एक रिपोर्टले देखाएको छ ।

रिपोर्ट अनुसार लामो समयसम्म नोइज क्यान्सेलेसन इयरबड्स लगाउँदा सुन्ने कुरामा ध्यान दिन नसकिने समस्या हुनसक्छ । यो समस्या अडिटरी प्रोसेसिङ डिसअडर (एपीडी) पनि हुन सक्छ । एपीडी एक दिमाखी अवस्था हो, जहाँ हाम्रो दिमागले आवाज र बोलिएका शब्दहरू बुझ्न कठिन महसुस गर्छ ।

यस्तो समस्या भएका व्यक्तिहरूलाई आवाज सुने पनि कताबाट आइरहेको छ भनेर ठम्याउन गाह्रो हुन्छ । धेरै मानिसहरू जम्मा हुने ठाउँमा लामो समय बिताउन पनि उनीहरूलाई समस्या पर्ने उक्त रिपोर्टको निष्कर्ष छ ।

नोइज क्यान्सिलेसन इयरफोनको प्रयोगले श्रवण क्षमतामा कस्तो असर पुर्‍याउँछ भन्नेबारे धेरै अनुसन्धान हुन बाँकी छ । तर पछिल्लो पुस्तामा श्रवण क्षमता भने बिग्रिँदै गएको छ । अडिटरी प्रोसेसिङ डिसअडर (एपीडी) दिमाखी समस्या भएका, मस्तिष्कमा चोट लागेका वा बाल्यकालमा कानमा संक्रमण भएका व्यक्तिमा देखा पर्ने गर्छ । तर कतिपय अवस्थामा सामान्य देखिएका व्यक्तिहरूमा पनि परीक्षण गरेपछि आवाजहरूको पहिचानमा समस्या हुने गरेको पाइएको छ ।

श्रवण विशेषज्ञहरूले बाहिरी कारणले पनि श्रवण क्षमतामा समस्या आएको हुन सक्ने आँकलन गर्न थालेका छन् । उनीहरूले एपीडी देखा पर्नुमा नोइज-क्यान्सेलिङ हेडफोनलाई मुख्य दोषी मानेका छन् ।

नोइज-क्यान्सेलिङ हेडफोनले कसरी सुन्न सक्ने क्षमतामा ह्रास ल्याउँछ ?

नोइज-क्यान्सेलिङ हेडफोनका आफ्नै फाइदाहरू छन् । तर यसको लामो समयसम्म प्रयोग गर्दा बाहिरी हल्ला आउन रोक्ने कानलाई बिगार्न सक्छ । यस्तो समस्या गीत सुनिरहेको समयमा पनि देखा पर्छ ।

ब्रिटिस एकेडमी अफ अडियोलोजीकी उपसम्पादक क्लारी बेन्टनका अनुसार लामो समयसम्म बाहिरी आवाजबाट टाढा रहँदा दैनिक जीवनमा सुनिने आवाजहरू दिमागले बिर्सिँदै जान्छ । त्यसैले कानले ती आवाज सुने पनि दिमागले ती आवाजलाई अनावश्यक सोचेर हटाइदिन्छ ।

उनका अनुसार उच्च स्तरको श्रवण क्षमता विकास हुने क्रम किशोरावस्थाको अन्त्यतिर पुगेर मात्र रोकिन्छ । यो उमेरमा नोइज-क्यान्सेलिङ हेडफोन लगाएर आफ्नो वरिपरि नक्कली वातावरण सिर्जना गर्दा हल्ला र कसैले बोलिरहेको कुरालाई प्रोसेस गर्ने क्षमता विनाश हुँदै जान्छ ।

अहिले मानिसहरूलाई बाहिर हिँड्दा नोइज-क्यान्सेलिङ हेडफोन लगाउने कुरा सामान्य भएको छ । आवाज राम्रोसँग सुन्न सक्ने अनलाइन भिडिओहरू पनि थप बुझ्ने भन्दै सबटाइटल राखेर हेरिरहेका हुन्छन् । एउटा सर्वेक्षणअनुसार १८ देखि २४ वर्ष उमेर समूहका ६ १ प्रतिशत युवाहरूले भिडिओहरू सबटाइटल राखेर हेर्न रुचाउँछन् । यसले उनीहरूको श्रवण क्षमतामा झनै समस्या निम्त्याउने चिन्ता बढेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०८१ १८:५३