close

के नेपालका प्रधानमन्त्री सूचनाका लागि सामाजिक सञ्जालमा निर्भर हुनुपर्ने हो ?

टेकपाना टेकपाना

फागुन ६, २०८१ १६:५

के नेपालका प्रधानमन्त्री सूचनाका लागि सामाजिक सञ्जालमा निर्भर हुनुपर्ने हो ?

काठमाडौं । सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट राखे । उनले पोस्टमा भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको रहस्यमयी मृत्युको विषयमा आफ्नो धारणा राखेका थिए ।

फेसबुक पोस्टमा प्रधानमन्त्री ओलीले नेपाली आईटी विद्यार्थी प्रकृति लम्सालको विषयमा आफूले समाचार माध्यम र सामाजिक सञ्जालबाट जानकारी पाएको उल्लेख गरेका थिए ।

“भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,” प्रधानमन्त्री ओलीले लेखेका थिए, “यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।”

प्रधानमन्त्रीको यही फेसबुक पोस्टलाई आधार बनाएर धेरै समाचार बने । अहिले भने सरकार प्रमुख नै सूचना प्राप्त गर्न सामाजिक सञ्जालमा निर्भर हुनुपर्ने अवस्था देखिएको भन्दै आलोचना भइरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘के प्रधानमन्त्रीले यस्ता संवेदनशील सूचना प्राप्त गर्न सामाजिक सञ्जालमा निर्भर हुनुपर्ने हो ?, के सरकारसँग सूचना प्राप्त गर्ने अन्य कुनै आधिकारिक माध्यम छैनन् ?, प्रधानमन्त्रीलाई सूचना दिने अरु कोही छैनन् ?’ भन्दै प्रश्न उठाइरहेका छन् । 

फेसबुकमा साकार कोइराला लेख्छन्, “सरकार प्रमुखले भन्छन् - ‘मिडिया र सोसल मिडियाबाट थाहा पाएँ ।’ यो भन्दा लज्जास्पद कुरा अरू के हुन सक्छ ? मानौं, उनी कुनै सामान्य नागरिक हुन्, जसको पहुँच कुनै औपचारिक सूचना संयन्त्रमा छैन ।”

उनी अगाडि लेख्छन्, “हाम्रो भारतस्थित दूतावास र वाणिज्य दूतावासहरूको भूमिका के हो ? के उनीहरूलाई यो घटनाको जानकारी थिएन ? यदि थियो भने, परराष्ट्र मन्त्रालयलाई किन जानकारी गराइएन ? र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई किन सूचित गरेन ?”

“प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरूको काम के हो ? के उनीहरूको जिम्मेवारी यस्ता संवेदनशील मामिलाहरूमा तत्काल कारवाही गर्नु होइन र ? बिडम्बनाको कुरा त के छ भने, यस्तो गम्भीर विषयमा सरकार प्रमुखले सर्वसाधारण नागरिक जस्तै सामाजिक सञ्जालबाट जानकारी पाउनु परेको छ । यसले हाम्रो कूटनीतिक संयन्त्र र सूचना प्रवाह प्रणालीको कमजोरीलाई उजागर गर्छ ।”

प्रधानमन्त्रीले यस्तो संवेदनशील जानकारी फेसबुकबाट थाहा पाएँ भन्दा सरकार प्रमुख र सर्वसाधारणबीच फरक के भयो भन्ने उनको प्रश्न छ । उनी थप्छन्, “यो त्यस्तो विषय होइन, जसमा औपचारिक माध्यमबाट जानकारी नआएको हुन सक्छ ।”

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता भूपेन्द्र जीसी लेख्छन्, “मिडिया र सामाजिक सञ्जालमार्फत देशको प्रधानमन्त्रीले थाहा पाउनु, यो भन्दा ठूलो लाजशरम अरू हुँदैन ।”

आफूलाई ‘एन्जो प्राजा’ भनेर चिनाउने अर्का प्रयोगकर्ता लेख्छन्, “सामाजिक सञ्जालमार्फत थाहा पाएको रे, हेर लाजको पसारो ।”

“भनेपछि प्रधानमन्त्रीले सोसल मिडियाबाट थाहा पाउँदा रहेछन् । दूतावासहरूले पनि थाहा पाएनछन्, कठै !” दिक्दार भावमा रोशन खड्का काजी लेख्छन् । 

त्यस्तै सुनी पौडेल लेख्छिन्, “हाम्रो प्रधानमन्त्री ज्यूले त मिडिया र सामाजिक सञ्जालबाट थाहा पाउनु हुने रैछ यस्तो संवेदनशील विषय । प्रधानमन्त्री हुन् कि घरको छतमा घाम ताप्दै उपरखुट्टी लगाएर बसेको हजुरबा हुन् ?”

केही प्रयोगकर्ताले भने जसरी भए पनि सूचना पाउने त हो भन्दै प्रधानमन्त्री ओलीलाई समर्थन जनाएका छन् । “सूचना कहाँबाट पायो, कसरी पायो भन्ने प्रश्नभन्दा यसलाई कसरी सम्बोधन गर्छन् भन्ने विषय महत्त्वपूर्ण हो,” एक प्रयोगकर्ता लेख्छन् ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८१ १६:२६