काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी र गालीगलौजप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले गम्भीर चिन्ता व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै महासचिव पोखरेलले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा देखिएको घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृतिको अन्त्य नभए देशको अधोगति कसैले रोक्न नसक्ने उल्लेख गरेका छन् । “आजभोलि नेपाली समाजमा, विशेषगरी सामाजिक सञ्जालमा जुन प्रकारको घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भएपनि जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधोगमनलाई कसैले रोक्न सक्तैन,” पोखरेलले भनेका छन् ।
कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्वप्रति भरोसा, भविष्यप्रति आशावादीता, काम गर्न सक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण आवश्यक पर्ने उनको भनाइ छ । “सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निराशातर्फ मात्र धकेल्दछ,” उनले थपेका छन् ।
उनले नेपाली समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरू यस्ता कुरामा गम्भीर हुनुपर्ने बताए । आइतबार प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनको अवसरमा राखेको पोस्टमा सयौँ नकारात्मक कमेन्ट आएका थिए । उनलाई जन्मदिनको शुभकामना दिएर राखिएका अन्य पोस्टहरूमा समेत सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश र घृणा पोखेका थिए । प्रधानमन्त्री ओलीकै फेसबुक पेजको पोस्टमा सयौँ नकारात्मक कमेन्ट आएपछि यस विषयमा चर्को बहस समेत भइरहेको छ ।
प्रधानमन्त्री ओली आफैँले पाँच महिनाअघि डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भइरहेको भन्दै पोस्ट राखेका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त पोस्टलाई बुस्ट गर्दै डिजिटल कारोबारको सवाल समेत उठाएका छन् ।