close

अब क्यूआर कोडबाटै जिमेल भेरिफिकेसन, एसएमएसको झन्झट हट्ने

टेकपाना टेकपाना

फागुन १४, २०८१ १६:३३

अब क्यूआर कोडबाटै जिमेल भेरिफिकेसन, एसएमएसको झन्झट हट्ने

काठमाडौं । गुगलले जिमेल अकाउन्ट भेरिफिकेसनका लागि एसएमएस कोडको सट्टा क्यूआर कोड प्रयोग गर्ने तयारी गरेको छ । अब नयाँ डिभाइस वा प्लेटफर्ममा जिमेल लगइन गर्नुपर्दा एसएमएसमार्फत कोड प्राप्त गर्ने झन्झट हट्नेछ ।

हाल जिमेल लगइन गर्दा प्रयोगकर्तालाई ६ अंकको ओटीपी (वन टाइम पासवर्ड) एसएमएसमा पठाइन्छ । यसलाई इनपुट गरेपछि मात्रै लगइन गर्न सकिन्छ । तर कहिलेकाहीँ एसएमएस ढिलो आउनु, नआउनु वा ह्याकिङ तथा स्क्यामको जोखिम बढ्नुजस्ता समस्याले प्रयोगकर्तालाई असहज बनाएको छ ।

यी समस्यालाई समाधान गर्न गुगलले एसएमएसको साटो क्यूआर कोडमार्फत भेरिफिकेसन गर्ने प्रणाली ल्याउने तयारी गरेको हो । जिमेलका प्रवक्ता रोस रिचेन्डफरका अनुसार अब भेरिफिकेसनका लागि मोबाइलको क्यामेराले क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । यसले ह्याकर वा स्क्यामरले कोड चोर्ने सम्भावना हटाउने बताइएको छ ।

एसएमएस भेरिफिकेसनभन्दा क्यूआर कोड सुरक्षित मानिए पनि प्रयोगकर्ताका लागि अलि झन्झटिलो लाग्न सक्छ । यद्यपि, यसले अकाउन्टलाई सुरक्षित बनाउने भएकाले निकट भविष्यमा एसएमएसको साटो क्यूआर कोडमा रूपान्तरण गरिने गुगलले उल्लेख गरेको छ । कम्पनीले यो प्रणाली कहिलेदेखि उपलब्ध हुन्छ भन्ने जानकारी दिइसकेको छैन । 

 

पछिल्लो अध्यावधिक: फागुन १४, २०८१ १६:३४