काठमाडौं । गुगल सर्च विश्वमा सबैभन्दा बढी प्रयोग हुने सर्च इन्जिन हो । वर्षौँदेखि हामी यही सर्च इन्जिन प्रयोग गरेर चाहिएका सूचना र जानकारी खोज्ने गरिरहेका छौँ । तर, यसका लागि पछिल्लो समय भने गुगलभन्दा पनि च्याटजीपीटी अझ प्रभावकारी बनेको छ । च्याटजीपीटी किन र कसरी गुगलभन्दा उपयुक्त छ त ? आज हामी तपाईँलाई यही विषयमा जानकारी दिँदै छौँ ।
१. अनावश्यक लिङ्कभन्दा पनि च्याटजीपीटीले सिधै सोधिएको प्रश्नको उत्तर दिन्छ
च्याटजीपीटी प्रयोग गर्नुको मुख्य फाइदा भनेको यसले कुनै प्रश्न सोध्यो भने अनेकौँ लिङ्क दिएर थप अन्योलता सिर्जना गर्ने काम गर्दैन । यदि गुगलमा तपाईँले केही जिज्ञासा राख्नु भयो भने सर्च इन्जिनमा प्रश्न सोधेर इन्टर थिच्नुपर्छ । त्यसपछि तपाईँ आफैँले सहयोगी लागेका लिङ्क खोलेर आफूलाई चाहिएको जानकारी लिनुपर्ने हुन्छ ।
तर च्याटजीपीटीलाई प्रश्न सोध्दै हुनुहुन्छ भने यो सबै झन्झट ब्यहोरी रहनु पर्दैन । तपाईँलाई आवश्यक पर्न सक्ने लिङ्कहरूबाट सूचना लिएर चाहिएको सूचना चाहेकै ढाँचामा तयार पारेर उपलब्ध गराउँछ ।
२. तपाईँले धेरै स्रोतबाट लिइएको जवाफ पाउन सक्नुहुन्छ
गुगल लगायतका सर्च इन्जिनको प्रयोग गरेर तपाईँले एक पटकमा एउटा स्रोतको लिङ्क खोलेर मात्र जानकारी हेर्न पाउनु हुन्छ । एउटा लिङ्कमा भएका महत्त्वपूर्ण जानकारी अर्कोमा नहुन सक्छन् । त्यसैले तपाईँले खोजेको सूचना पाउन पाँच ओटा थप अरू लिङ्क खोल्नुपर्ने अवस्था आउँछ ।
तर च्याटजीपीटीले तपाईँलाई आवश्यक पर्ने जानकारीहरू एकै पटकमा दिन्छ, त्यो पनि स्रोतसहित । जस कारण तपाईँले एकै पटकमा सबै जानकारी पाउन सक्नु हुन्छ र दिइएको स्रोतमा गएर ती जानकारी सही छन् कि छैनन् भनेर क्रस भेरिफाई पनि गर्न सक्नुहुन्छ ।
३. च्याटजीपीटी चलाउँदा विज्ञापनले हैरान बनाउँदैन
सर्च इन्जिनमा कति विज्ञापन आउँछन् भन्ने सन्दर्भमा गुगल एउटा गतिलो उदाहरण हो । जब गुगल भर्खरै सार्वजनिक भएको थियो, त्यसले कुनै पनि विज्ञापन नदिइकन चाहिएजस्तो राम्रा उत्तरहरू उपलब्ध गराउँथ्यो । तर अहिले गुगलमा केही सर्च गर्दा जवाफभन्दा बढी विज्ञापनले भरिएको हुन्छ ।
च्याटजीपीटीमा भने कुनै किसिमको विज्ञापन आउँदैन । यदि तपाईँ कुनै सूचना पाउनका लागि च्याटजीपीटी प्रयोग गर्नुहुन्छ भने सहजै कुनै विज्ञापन बिना चाहेको जवाफ पाउन सक्नु हुन्छ । तर भविष्यमा च्याटजीपीटीमा पनि विज्ञापन नआउला वा अहिलेको जस्तै अवस्था सधैँ रहला भन्न चाहिँ सकिन्न ।
४. च्याटजीपीटीले तपाईँको व्यक्तित्व अनुसारको नतिजा दिनसक्छ
सर्च इन्जिन प्रयोग गर्नुभन्दा च्याटजीपीटी प्रयोग गर्नुको अर्को थप फाइदा पनि छ । च्याटजीपीटीलाई तपाईँ कस्तो खालको जवाफ चाहनु हुन्छ भनेर जानकारी गराउन सक्नुहुन्छ । त्यसअनुसार भविष्यमा प्रश्न सोध्दा च्याटजीपीटीले तपाईँको प्राथमिकता वा अनुकूलताका आधारमा जवाफ दिन्छ ।
यदि च्याटजीपीटीलाई तपाईँले आफ्नो बच्चाका बारेमा जानकारी पहिले नै दिनुभएको छ भने जन्म दिनको उपहार दिनका लागि सुझाव माग्दा तपाईँको बच्चाको उमेरअनुसारको उपहारहरूको सुझाव दिन सक्छ ।
यस्तै तपाईँले च्याटजीपीटीलाई स्रोतहरू दिनुभयो भने ती स्रोतबाट आवश्यक सूचना मात्र लिन सक्नुहुन्छ । वा चाहेको सूचनाका लागि आवश्यक स्रोत पनि खोज्न सक्नुहुन्छ।
५. तुलना गर्नका लागि च्याटजीपीटी प्रयोग गर्न सक्नुहुन्छ
केही सामग्री किन्दै हुनुहुन्छ भने कुन राम्रो हुन्छ भनेर तुलना गर्ने गरिन्छ । प्रविधिसँग जोडिएका विभिन्न वेबसाइटमा ती प्रोडक्ट तथा उत्पादनहरू आपसमा तुलना गरेको पनि पाउन सक्नुहुन्छ । जसलाई हेरेर तपाईँको आवश्यकताअनुसार कुन सामग्री किन्न ठीक होला भनेर निर्णय लिन सक्नुहुन्छ । गुगलले यस्तो तुलना गरेको वेबसाइट भएमा मात्र नतिजा उपलब्ध गराउन सक्छ ।
तर च्याटजीपीटीलाई भने कुनै सामग्रीको तुलना गर्नु छ भने सोही अनुसारको प्रश्न राखे पुग्छ । तपाईँको प्रम्प्टअनुसार यसले आवश्यक सूचना सहित सुहाउँदो तुलना गर्छ । तर कुन सामग्री खरीद गर्ने भनेर चाहिँ तपाईँ आफैँले निर्णय गर्नुपर्छ ।
६. तपाईँको सर्चको जासुसी भइरहेको हुँदैन
गुगलले तपाईँको वेब सर्चमा विज्ञापन र स्पोन्सर गरेका लिङ्क राखेर पैसा मात्र कमाउँदैन । यसले तपाईँको सर्च इन्जिनमा के कस्ता सामग्रीको खोजी गरी रहनु भएको छ भनेर जासुसी पनि गर्छ ।
गुगलले तपाईँले खोजी गर्ने कुरा, साइटहरू, युट्युब हिस्ट्री ट्र्याक गर्छ । जसको आधारमा तपाईँले गुगलका जुनसुकै प्लेटफर्म प्रयोग गरिरहँदा पनि त्यससँग सम्बन्धित विज्ञापनहरू देखाइन्छ । तर यदि तपाईँले च्याटजीपीटीको प्रयोग गरेर केही कुरा खोजी गर्नुहुन्छ भने गुगलले जसरी जासुसी गर्दैन । यद्यपि तपाईँले यसलाई सोधेका प्रश्नहरू, अकाउन्टका जानकारी र च्याटजीपीटीमा अपलोड गरेका सामग्रीहरूको जानकारी यसले राखिरहेको हुन्छ ।
अहिले च्याटजीपीटीले तपाईँको जानकारी विज्ञापनका लागि प्रयोग गरिरहेको छैन । तर, भविष्यमा पनि प्रयोग नगरी रहला भन्न चाहिँ सकिन्न । तर हालका लागि भने यो मामलामा च्याटजीपीटी गुगलभन्दा विश्वसनीय छ ।
७. गुगलले दिन नसकेका जवाफ पनि च्याटजीपीटीले दिन सक्छ
परम्परागत रूपमा प्रयोग गर्दै आएको गुगल सर्च इन्जिनभन्दा च्याटजीपीटी प्रयोग गर्नु पर्ने यो एउटा प्रमुख कारण हो । च्याटजीपीटीले तपाईँले राखेका जिज्ञासालाई सकेसम्म प्राकृतिक भाषामा सहज तरिकाले बुझाउँछ ।
च्याटजीपीटीलाई ‘नेपालमा भएका जनआन्दोलन (विसं २०४६ साल बाहेक) के के हुन् ?’ भनेर सोध्दा ०४६ साल बाहेक २००७ सालदेखि २०७२ सालको जनआन्दोलनका बारेमा जानकारी दियो । तर यही प्रश्न सोध्दा गुगलमा भने सबैभन्दा पहिला २०४६ सालको जनआन्दोलनका जानकारी भएको वेबसाइटको लिङ्क देखा पर्यो ।
त्यसैले प्रम्प्ट राख्दा च्याटजीपीटीले तपाईँ कुन जानकारी चाहनुहुन्छ भनेर ख्याल राख्न सक्छ, तर गुगलमा भने यस्तो सुविधा छैन ।
अन्त्यमा, लामो समयदेखि सूचना खोज्नका लागि गुगल सर्चको प्रयोग गरिँदै आइएको छ । तर यसको विकल्पमा अन्य च्याटबट पनि छन् । तर, च्याटजीपीटी नै सर्वोत्कृष्ट च्याटबट भने होइन । तपाईँ आफूलाई सहज लागेको कुनै पनि च्याटबट प्रयोग गरेर सूचनाहरू खोज्न सक्नुहुन्छ ।