close

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पत्रकार महासंघले सुटुक्क हटायो छात्रवृत्ति सम्बन्धी सूचना

टेकपाना टेकपाना

फागुन १६, २०८१ १४:८

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पत्रकार महासंघले सुटुक्क हटायो छात्रवृत्ति सम्बन्धी सूचना

काठमाडौं । नेपाल पत्रकार महासंघले पोलिगन कलेजसँगको छात्रवृत्ति सम्झौतासम्बन्धी सूचना हटाएको छ । महासंघले आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भन्दै बिहीबार सूचना सार्वजनिक गरेको थियो । तर, सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि महासंघले सार्वजनिक रूपमा कुनै आधिकारिक जानकारी नै नदिई उक्त सूचना हटाएको हो ।

सूचनामा सात जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिने उल्लेख थियो । यसमध्ये दुई महिलाले साढे ५० हजार रुपैयाँ तिर्नुपर्ने र बाँकी पाँच जनाले कलेजले तोकेको तीन लाख रुपैयाँको आधा मात्र छुट पाउने बताइएको थियो ।

सामाजिक सञ्जालमा पत्रकार तथा अन्य प्रयोगकर्ताले पोलिगनसँगको यस सहकार्यलाई ‘छात्रवृत्तिको नाममा व्यापार’ भन्दै आलोचना गरेका थिए । कतिपयले पत्रकार महासंघका मिम र ट्रोल बनाएका थिए ।​ ​

यसैबीच, महासंघका महासचिव रामप्रसाद दाहालले गल्ती स्वीकार गर्दै भविष्यमा निर्णय लिँदा थप सावधानी अपनाइने बताएका छन् । “यस्ता निर्णयहरू लिँदा विस्तृत रूपमा अध्ययन र तयारी गर्न आवश्यक छ,” टेकपानासँगको कुराकानीमा उनले भने, “समयमै सच्याउनुपर्छ भन्ने पाठ मिलेको छ ।”

छात्रवृत्ति कार्यक्रमबारे सूचना हटाइएसँगै महासंघ र पोलिगन कलेजबीचको सम्झौता पनि हाललाई स्थगित गरिएको छ ।

यस्तो थियो सूचना 

May be an image of text

पछिल्लो अध्यावधिक: फागुन १६, २०८१ १४:३४