काठमाडौं । हिजो (बिहीबार) देखि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मोबाइल चार्ज गर्ने क्रममा एक व्यक्तिको ज्यान गएको समाचार प्रकाशित भइरहेको छ । सञ्चारमाध्यम र फेसबुक पेजहरूले जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३१ वर्षीय इन्द्रलाल मोक्तानको मोबाइल चार्ज गर्ने क्रममा ज्यान गएको भन्दै जानकारी राखेका छन् । तर, टेकपाना फ्याक्टचेकले उक्त समाचार भ्रामक रहेको पत्ता लगाएको छ ।
दाबी
बिहीबार, १३ मार्च २०२५ देखि विभिन्न सञ्चारमाध्यमले सामाजिक सञ्जालका माध्यमहरूमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको समाचार सम्प्रेषण गरे । उक्त समाचारमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीका ३१ वर्षीय इन्द्रलाल मोक्तानको मृत्यु भएको दाबी गरिएको छ ।
समाचार माध्यमले राष्ट्रिय समाचार समिति (रासस) ले उपलब्ध गराएको समाचारलाई आधार बनाएको देखिन्छ । यसैगरी विभिन्न फेसबुक पेजले पनि तिनै समाचार माध्यमका समाचारलाई आधार बनाई पोस्ट राखेका छन् ।
सेतोपाटीले ‘मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु’ शीर्षकमा समाचार प्रकाशित गरेको छ (ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क हेर्नुहोस्)।
त्यसैगरी उकालोले ‘मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु’ शीर्षकमा समाचार राखेको छ (ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क हेर्नुहोस्) । यही समाचार राख्ने अन्य सञ्चारमाध्यमको सूची यहाँ क्लिक गरेर हेर्नुहोस् ।
तथ्यजाँच
राससका ग्राहक भएका अधिकांश समाचारमाध्यमले मोबाइल चार्ज गर्ने क्रममा युवकको ज्यान गएको जानकारी प्रकाशित गरेपछि टेकपानाले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई सम्पर्क गर्यो । अर्यालका अनुसार घटनाबारे सोधपुछ गर्ने क्रममा सुरुमा मृतक मोक्तानको परिवारले प्रहरीलाई मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको जानकारी दिएको थियो ।
“सुरुमा हामीलाई मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएको भन्ने जानकारी आयो । तर, अनुसन्धान गर्ने क्रममा खोलामा करेन्ट लगाई माछा मार्न खोज्दा करेन्ट लागेर घाइते भएको देखिएको छ,” अर्यालले टेकपानासँग भने ।
प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मोक्तान बिहीबार कैलाश गाउँपालिका वडा नम्बर ४ मा रहेको नहर खोलामा माछा मार्न गएका थिए । करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेपछि उनी घाइते भए । त्यसपछि उपचारका लागि युवकलाई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा लगियो । उपचारकै क्रममा मोक्तानको बिहीबार करिब साँझ ६ बजे ज्यान गएको हो ।
घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक विशाल सापकोटाले आफूहरूलाई सुरुमा मृतकको परिवारले मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएको जानकारी दिएको बताए । “उनीहरू (मृतकको परिवार)ले जाहेरीमा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएको उल्लेख गरेका छन्,” प्रहरी निरीक्षक सापकोटाले भने, “विस्तृत रिपोर्ट आउन बाँकी छ । प्रारम्भिक अनुसन्धान अनुसार मोबाइल चार्जका क्रममा नभइ माछा मार्ने क्रममा घाइते भई उपचारको क्रममा मृत्यु भएको देखिन्छ ।”
दाबी
मकवानपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३१ वर्षीय इन्द्रलाल मोक्तानको ज्यान गयो ।
दाबीकर्ता
रासस, सेतोपाटी, उकालो लगायतका समाचार माध्यम र फेसबुक पेज ।
तथ्य
मोबाइल चार्ज गर्ने क्रममा नभई माछा मार्ने क्रममा मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीका इन्द्रलाल मोक्तानलाई करेन्ट लागेको थियो र उपचारको क्रममा ज्यान गएको हो ।
निष्कर्ष
सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमले दाबी गरेजस्तो इन्द्रलाल मोक्तानको मृत्यु मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर नभएको खुलेको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा उल्टै करेन्ट लागेपछि उनी घाइते भएका थिए र उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा शनिबार उनको निधन भएको हो ।
प्रतिक्रिया
तपाईंले हाम्रा सामाजिक सञ्जालका ह्यान्डल वा info@techpana .com मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नुहुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।