काठमाडौं । मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा कम्प्युनिटी नोट्स फिचर सार्वजनिक गरेको छ । बिहीबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले यो फिचरको परीक्षण सुरु गरेको जानकारी दिएको हो ।
यो प्रणाली अन्तर्गत प्रयोगकर्ताले नै मेटाका विभिन्न प्लेटफर्ममा अपलोड हुने कन्टेन्ट सही हुन् वा होइनन् भनी मूल्याङ्कन गर्न सक्नेछन् । यससँगै मेटाले हाल प्रचलनमा रहेको तेस्रो पक्षीय तथ्य जाँच्ने प्रणाली (Third-party Fact Checking) लाई हटाउने भएको छ ।
मेटाले जनवरीमा नै यो कार्यक्रम अमेरिकाबाट सुरु गर्ने घोषणा गरेको थियो । आगामी १८ मार्चदेखि यो नयाँ प्रणाली परीक्षणको रूपमा सुरु हुने ब्लगमा उल्लेख छ । करिब दुई लाख प्रयोगकर्ताले यसमा योगदान दिन साइनअप गरिसकेको र यो सङ्ख्या अझै बढ्ने क्रममा रहेको मेटाले जनाएको छ ।
यो प्रणाली सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर)को कम्युनिटी नोट्स प्रणालीसँग मिल्दोजुल्दो हुने बताइएको छ । मेटाले आफ्ना विभिन्न प्लेटफर्ममा अपलोड हुने कन्टेन्टबारे प्रयोगकर्तालाई उनीहरूको धारणा राख्न र थप जानकारी दिन सक्ने अधिकार दिएको छ । तर, मेटाले कुन टिप्पणीलाई मूल्याङ्कन गर्ने वा प्रकाशित गर्ने भन्ने निर्णय गर्ने छैन । यसको सट्टा यो काम कम्युनिटीमा हुने सदस्यले नै गर्नेछन् ।
कुनै पनि प्रयोगकर्ताले कम्युनिटी नोट्स कमेन्ट गरिसकेपछि त्यो प्रकाशित हुनका लागि विभिन्न विचारधारा भएका प्रयोगकर्ता सहमत हुनुपर्नेछ । यसले गर्दा विभिन्न पूर्वाग्रह रोक्न मद्दत पुग्ने कम्पनीको भनाइ छ । प्रयोगकर्ताले एउटा कम्युनिटी नोट्समा ५०० क्यारेक्टर (अक्षर)भन्दा लामो कमेन्ट लेख्न पाउने छैनन् । र, जुन कुराको विरोध वा समर्थन गरिएको हो, त्यसलाई समर्थन गर्ने लिङ्क पनि समावेश गर्नुपर्नेछ ।
सुरुमा कम्युनिटी नोट्समा कमेन्ट गर्ने व्यक्तिको नाम देखिने छैन । यसले गर्दा कमेन्टको मूल्याङ्कन व्यक्तिको पहिचानबाट नभई उसले दिएको तर्क र धारणामा आधारमा गर्न सकिने मेटाको विश्वास छ ।
१८ वर्षभन्दा माथिका, ६ महिनाभन्दा पुरानो अकाउन्ट भएका र भेरिफाइड फोन नम्बर भएका प्रयोगकर्ताले यसमा योगदान दिन सक्नेछन् । यो सुविधा सुरुमा अङ्ग्रेजी, स्पेनिस, चिनियाँ, भियतनामी, फ्रेन्च र पोर्चुगिज भाषामा उपलब्ध हुनेछ । विज्ञापन बाहेक अन्य सबै प्रकारका सामग्रीमा प्रयोगकर्ताले कमेन्ट लेख्न सक्नेछन् ।
मेटाले एक्सको ओपनसोर्स एल्गोरिदमलाई नै प्रयोग गर्ने बताएको छ । यसले एक्सले बनाएको प्रणालीमा आधारित भएर आफ्नै प्लेटफर्मको लागि थप सुधार गर्न मद्दत गर्ने कम्पनीको अपेक्षा छ ।
मेटाले यो नयाँ प्रणाली तेस्रो पक्षीय तथ्य जाँच प्रणालीभन्दा कम पक्षपातपूर्ण हुने अपेक्षा गरेको छ । तथ्य जाँच गर्ने संस्थामा राजनीतिक पूर्वाग्रह देखिएकाले यो प्रणाली विकास गरिएको मेटाको भनाइ छ । कम्युनिटी नोट्सले धेरै मानिसलाई विभिन्न प्रकारका सामग्रीमा आफ्नो विचार राख्न अनुमति दिनेछ ।
यो प्रणाली सफल भएमा मेटाले यसलाई विश्वभर विस्तार गर्ने योजना बनाएको छ । तर, अन्य देशमा यो प्रणाली सुरु नभएसम्म तेस्रो पक्षीय तथ्य जाँच्ने प्रणाली यथावत् रहनेछ ।