close

चार महिनामै ३० लाखले बढे टेलिकमको मोबाइल डेटाका ग्राहक

टेकपाना टेकपाना

चैत ३, २०८१ १४:१६

चार महिनामै ३० लाखले बढे टेलिकमको मोबाइल डेटाका ग्राहक

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पछिल्लो चार महिनामा मोबाइल डेटा तर्फ करिब ३० लाख नयाँ ग्राहक थप्न सफल भएको छ । प्राधिकरणको एमआईएस रिपोर्ट अनुसार कम्पनीले असोजपछिको चार महिनामा डेटा सेवामा २९ लाख ९७ हजार ३८१ नयाँ ग्राहक बनाएको हो ।

यस अवधिमा कम्पनीले थ्रिजी तर्फ ५ लाख ४५ हजार ३३१ र फोरजीमा १८ लाख ५२ हजार ५० नयाँ ग्राहक बनाएको छ । उसले पछिल्लो दुई महिनामा मात्रै एक लाख १७ हजार २५९ नयाँ डेटा प्रयोगकर्ता थप्न सफल भएको छ । उता निजी दूरसञ्चार कम्पनी एनसेलले भने डेटा सेवामा पनि आफ्नो बजार गुमाउँदै गएको छ ।

पछिल्लो दुई महिनाको अवधिमा मात्रै कम्पनीले डेटा तर्फ दुई लाख दुई हजार ९२९ ग्राहक गुमाएको छ । प्रतिवेदन अनुसार मङ्सिरको अन्त्यसम्म एनसेलको डेटा प्रयोग गर्ने ग्राहकको सङ्ख्या एक करोड २१ लाख ६३ हजार ८४० रहेकोमा माघसम्म आइपुग्दा घटेर एक करोड १९ लाख ६० हजार ९११ मा खुम्चिएको छ ।

यद्यपि पछिल्लो चार महिनाको अवधिमा कम्पनीले गुमाएको डेटा प्रयोगकर्ताको सङ्ख्या २५ हजार ९४७ मात्र देखिन्छ ।

एक महिनामै झन्डै २ लाखले घटे एनसेलका मोबाइल ग्राहक

पछिल्लो एक महिनाको अवधिमा एनसेलका मोबाइल ग्राहक करिब दुई लाखले घटेका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआईएस रिपोर्टले माघ महिनामा मात्रै कम्पनीका ग्राहक एक लाख ८४ हजार १५ ले घटेको देखाएको हो ।

प्रतिवेदन अनुसार एनसेलको नेटवर्कमा पुस मसान्तसम्म एक करोड ४७ लाख ३७ हजार २०५ ग्राहक रहेकोमा माघ मसान्तसम्म आइपुग्दा घटेर एक करोड ४५ लाख ५३ हजार १९० मा सीमित भएका छन् । जब कि यही अवधिमा प्रतिस्पर्धी नेपाल टेलिकमले भने ९३ हजार १४२ नयाँ ग्राहक थप्दै आफ्नो ग्राहक आधार विस्तार गरको छ । यससँगै उसको नेटवर्कमा मोबाइल सेवामा ग्राहक सङ्ख्या एक करोड ४९ लाख एक हजार ६६७ पुगेको छ ।

पछिल्लो चार महिनाको तथ्याङ्क हेर्ने हो भने एनसेलले तीन लाख ५३ हजार ४९३ ग्राहक गुमाउँदा नेपाल टेलिकमले पाँच लाख ५६ हजार १४६ ग्राहक थप गरेको छ । दुई ओटा मात्र दूरसञ्चार कम्पनी रहेको नेपालको मोबाइल सेवामा हाल नेपाल टेलिकमको हिस्सा ५१.२७ प्रतिशत र एनसेलको बजार हिस्सा ४८.७३ प्रतिशत रहेको छ । 

 

पछिल्लो अध्यावधिक: चैत ३, २०८१ १४:१७