काठमाडौं । ‘नेपाल बिजनेस समिट २०२५’ को दोस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेसन्स इन्टरनेट पार्टनर बनेको छ । आगामी ७ वैशाख २०८२ मा काठमाडौंमा आयोजना हुने समिटमा वर्ल्डलिंकले इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो ।
शुक्रबार वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का कार्यकारी अध्यक्ष विशाल गैरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा हुने सम्मेलनमा विभिन्न मन्त्रालय, स्थानीय तह, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायहरूको सहभागिता रहनेछ ।
वर्ल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष अग्रवालले स्टार्टअप, नवप्रवर्तन र सूचना प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रियस्तरमा आयोजना हुने यस्ता सम्मेलनले सरकारको नीति निर्माणमा सहजीकरण गर्ने र निजी क्षेत्र मैत्री वातावरण निर्माणमा सहयोग पुग्ने उनको विश्वास छ ।
नेपाल बैंकर्स संघ (एनबीआई) को आयोजनामा हुने सम्मेलनमा विभिन्न क्षेत्रका गरी ५०० बढीको सहभागिता रहने बताइएको छ ।
एनबीआईका कार्यकारी अध्यक्ष गैरेका अनुसार सम्मेलनमा संघीय सरकारका उच्च अधिकारीदेखि स्थानीय निकायका प्रमुखसम्मको उपस्थिति रहनेछ । यसका साथै स्वदेशी तथा विदेशी विषयविज्ञ, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अगुवाहरू पनि सहभागी हुनेछन् । बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारी, उद्योगी, व्यवसायी, युवा, महिला र विद्यार्थीहरूको पनि उपस्थिति रहनेछ ।
यस वर्षको सम्मेलन ‘इकोनोमी फर अ सस्टेनेबल एण्ड रेजिलिएन्ट फ्युचर’ भन्ने नाराका साथ आयोजना हुँदैछ । सम्मेलनमा अर्थतन्त्र, बैंकिङ, उद्योग, व्यवसाय र उच्च सम्भावना भएका क्षेत्रका समसामयिक विषयमा छलफल हुनेछ । स्वदेशी तथा विदेशी विज्ञहरू, युवा उद्यमी र महिला उद्यमीहरूले गहन छलफल र बहस गर्नेछन् । यसले दिगो र उत्थानशील भविष्यका लागि मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।
उक्त बहस सत्रबाट प्राप्त हुने दूरगामी महत्त्वका बहुउपयोगी सुझाव समावेश भएको निष्कर्ष प्रतिवेदन बनाई उचित कार्यान्वयनका लागि तीनै तहका सरकारहरूलाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ ।