चार महिनादेखि एनसेलका ग्राहक लगातार घटेका घट्यै, गुमायो साढे ५ लाख बढी प्रयोगकर्ता
चैत १२, २०८१ १३:४
काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले पछिल्लो चार महिनादेखि लगातार रूपमा ग्राहक गुमाउँदै गइरहेको पाइएको छ । गत कात्तिकपछिका हरेक महिनामा कम्पनीका ग्राहक लगातार घट्न थालेका हुन् ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआईएस रिपोर्ट अनुसार कात्तिक २०८१ मा एनसेलको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या एक करोड ४९ लाख ९१ हजार १६ रहेको थियो ।
तर त्यसयता फागुन मसान्तसम्म आइपुग्दा कम्पनीले ५ लाख ५७ हजार ७५८ ग्राहक गुमाएको देखिन्छ ।
हाल उसको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या एक करोड ४४ लाख ३३ हजार २५८ रहेको छ । उता प्रतिस्पर्धी नेपाल टेलिकमले भने यस अवधिमा सुधार गरेको छ ।
नेपाल टेलिकम र एनसेलको पछिल्लो ६ महिनाको ग्राहक आधार
|
सेवाप्रदायक |
असोज |
कात्तिक |
मङ्सिर |
पुस |
माघ |
फागुन |
|
नेपाल टेलिकम |
11,759,610 |
13,933,869 |
14,039,732 |
13,933,872 |
14,156,991 |
14,112,594 |
|
एनसेल |
11,986,858 |
12,152,828 |
12,163,840 |
12,065,203 |
11,960,911 |
11,890,948 |
स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण
कात्तिकमा एक करोड ४६ लाख २९ हजार ८०४ ग्राहक रहेको कम्पनीले त्यसपछिका हरेक महिनामा ग्राहक वृद्धि गरेको तथ्याङ्कमा देखिन्छ । कात्तिक यताको चार महिनामा टेलिकमले ३ लाख ९९९ ग्राहक थप गर्दै कूल ग्राहक आधार एक करोड ४९ लाख ३० हजार ८०३ पुर्याउन सफल भएको छ ।
यससँगै नेपालको टेलिकम बजारमा नेपाल टेलिकमको बजार हिस्सा ५१.५२४% र एनसेलको ४८.४७२% हुन पुगेको छ ।
पछिल्लो अध्यावधिक: चैत १३, २०८१ २३:५२
