close

सामाजिक सञ्जालको ट्रेन्डिङमा कुलमान र बालेन

टेकपाना टेकपाना

चैत १२, २०८१ १४:३५

सामाजिक सञ्जालको ट्रेन्डिङमा कुलमान र बालेन

काठमाडौं । सामाजिक सञ्जाल यतिबेला कुलमान घिसिङ र बालेनमय बनेको छ । कुलमानलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट हटाउने मन्त्रिपरिषदको निर्णय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले फेसबुकमा आफ्नो कर्मचारीले तलब नपाएको आक्रोशसहित राखेको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले तीव्र प्रतिक्रिया दिइरहेका छन् । 

एक्स (पहिलेको ट्वीटर)मा ‘​कुलमान घिसिङ’ नेपालको ट्रेन्डिङ वनमा परेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारीबाट हटाएको खबर बाहिरिए लगत्तै एक्स प्रयोगकर्ताले आफ्ना प्रतिक्रिया राखेका छन् ।

त्यस्तै फेसबुकमा पनि कुलमान घिसिङ ‘पपुलर नाउ’ (Popular Now) मा परेका छन् ।  उनीबारे सयौं पोस्ट तथा हजारौं कमेन्ट गरिएका छन् ।

घिसिङको कार्यकालमा भएको लोडसेडिङको अन्त्य र विद्युत आपूर्तिको सुधारलाई लिएर अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको समर्थन गरेका छन् भने मन्त्रिपरिषदको निर्णयको आलोचना गरेका छन् । 

सरकारको आलोचना गर्नेमा सत्तापक्षकै नेतादेखि विपक्षी दल र सर्वसाधारणसम्म छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मन्त्रिपरिषद्को निर्णय बाहिरिए लगत्तै सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति असहमति जनाएका थिए । यसैगरी, कांग्रेस नेता डा. शेखर कोइरालाले पनि सरकारको कदमको विरोध गरे ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' देखि रास्वपा सभापति रवि लामिछाने र अन्य विभिन्न नेता तथा कार्यकर्ता र सर्वसाधारणले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति असन्तुष्टि पोख्दा केहीले भने सरकारको बचाउ गरेका छन् । 

फेसबुकमा घिसिङको तस्बीरमा फोटो क्याप्सन राख्दै अन्जु तामाङ लेख्छिन्, “प्रतिस्पर्धा त निकाल्नेकै चलेको थियो नि । कुलमानले बत्ती, सरकारले कुलमान ।” 

यस्तै ‘ishkaa’ नामको एक्स ह्यान्डल भएकी प्रयोगकर्ता लेख्छिन्, 'kulman ghising was removed, but corruption stays. load-shedding on the way, jobs disappearing, youth fleeing—Nepal is sinking while the corrupt call themselves leaders.we do not deserve darkness again — बोल्ने कि फेरि मैनबत्ती बाल्ने ?'

ओली सरकारको विरोध गर्दै डा. मित्र परियार लेख्छन्, “राम्रो पर्फमेन्स गरेका कुलमान घिसिङलाई हटाएर ओली सरकारले चरम भ्रष्ट र जातिवादी कर्म गरेको छ ! सायद अदालतले न्याय देला ! Government has shown its casteist character by firing Kulman Ghising - a Tamang who’s efficiently led the electricity authority.”

'डेभिल कान्छो' ह्यान्डल भएका एक्स प्रयोगकर्ताले पुराना नेताको विकल्पमा नयाँ पार्टीले देशको जिम्मेवारी लिनुपर्ने आशयको पोस्ट गरेका छन् । 

 यस्तै दिनेश लामिछाने फेसबुकमा लेख्छन्, "कुरा यत्ति हाे ... लोडसेडिङका वेला उद्योगीहरूले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा उपयोग गरेको बिजुलीको जरिवानासहित आठ अर्ब २६ करोड उठाउने अडानमा कुलमान थिए ।" तर...उनलाई हटाइयाे ! #kulmanghising #loadsending छ्या ! सरकारकाे जति विराेध गरेपनि कम हुन्छ ।"

 

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले फेसबुकमा घिसिङसँगको तस्बिर राख्दै “कुलमान नेपाली कुलकै उज्यालो हुन । अन्धकार बनाउन हुँदैन थियो ।”


यसैबिच सोमबार राति १०:१७ बजे कामपा मेयर बालेनले फेसबुकमा स्टाटस राखे । सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीको तलबलगायत सबै आर्थिक कारोबार रोकिएपछि उनले संघीय सरकारप्रति चर्काे असन्तुष्टि जनाउँदै धम्कीपूर्ण शैलीमा स्टाटस राखेका थिए ।

“काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाएका छैनन्, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु ! त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !!” बालेनले लेखेका छन् ।

यो समाचार तयार पार्दासम्म उनको स्टाटसमा तीन लाख ९१ हजार रियाक्ट आएका छन् भने करिब ७६ हजार कमेन्ट छन् । साढे २७ हजारले भने स्टाटस शेयर गरेका छन् । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले बालेनको समर्थन गर्दा केहीले जिम्मेवार जनप्रतिनिधिले प्रयोग गर्ने शब्द चयन र शैलीलाई असहज र असंवेदनशील भएको टिप्पणी गरेका छन्।

पछिल्लो अध्यावधिक: चैत १२, २०८१ १५:२१