काठमाडौं । एन्ड्रोइडमा धेरै अगाडिदेखि उपलब्ध मिररिङ फिचर एप्पलले भने आईफोनमा बल्ल ल्याउने तयारी थालेको छ । सोमबार डेभलपरहरूका लागि सार्वजनिक भएको आईओएस १८.४ को बेटा टेस्टर मार्फत कम्पनीले यो फिचर उपलब्ध गराएको हो ।
मिररिङ फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो मोबाइलको स्क्रिन डेस्कटप, ल्यापटप वा टिभीमा पनि हेर्न र प्रयोग गर्न सक्छन् । सामान्य भाषामा बुझ्दा मोबाइलको स्क्रिनलाई ठुलो स्क्रिनमा हेर्न सघाउने सुविधा नै मिररिङ फिचर हो ।
यो फिचर एन्ड्रोइड प्रयोगकर्ताले भने धेरै पहिलेदेखि नै प्रयोग गर्दै आएका थिए । आईफोनमा भने यो व्यवस्था थिएन । कम्पनीका अनुसार यो फिचर आईफोन प्रयोगकर्ताले आफ्नो स्क्रिन म्याकमा मिररिङ गर्नका लागि प्रयोग गर्न सक्नेछन् । अहिले परीक्षणकै अवस्थामा रहेको यो फिचर आईओएस १८.४ सार्वजनिक भएसँगै सबै प्रयोगकर्ता माझ उपलब्ध हुनेछ ।
यद्यपि युरोपका प्रयोगकर्ताले भने यो फिचर प्रयोग गर्न नपाउने एप्पलले जनाएको छ । योसँगै कम्पनीले अन्य विभिन्न एआई फिचरहरू ल्याउने तयारी पनि गरिरहेको नाइनटुफाइभ म्याकले जनाएको छ ।