close

आफ्नो नाममा २० भन्दा बढी नक्कली युट्युब च्यानल खुलेपछि महावीर पुन हैरान

टेकपाना टेकपाना

चैत १३, २०८१ १३:२६

आफ्नो नाममा २० भन्दा बढी नक्कली युट्युब च्यानल खुलेपछि महावीर पुन हैरान

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफ्नो नामबाट नक्कली युट्युब च्यानलहरू खुलेपछि चिन्तित बनेका छन् । आफ्नो युट्युब च्यानल खोलेको केही घण्टामै ‘Mahabir Pun Official’ नाममा २० भन्दा बढी नक्कली च्यानलहरू खुलेपछि उनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अनुभव शेयर गर्दै उनले लेखेका छन्, “नेपालमा रोजगारी नभएर पेट पाल्नकै लागि पैसा कमाउनु पर्ने बाध्यताले गर्दा नेपालीहरूले कतिसम्म फटाहा र अनैतिक काम गर्दा रहेछन् भन्ने एउटा सानो उदाहरण मैले देखेँ।”

यसअघि मंगलबार साँझ पनि उनले फेक आईडीमार्फत आफ्ना भिडिओहरू अपलोड भइरहेको भन्दै त्यस्ता नक्कली च्यानलहरूबाट नझुक्किन अनुरोध गरेका थिए ।

पुनले सोमबार ‘Mahabir Pun Official’ नामक युट्युब च्यानल खोलेका थिए । हालसम्म यो च्यानलमा साढे १५ हजारभन्दा बढी सब्सक्राइबर भइसकेका छन् । उनले आफ्ना च्यानलमा ज्ञानवर्द्धक तथा मनोरञ्जनात्मक सामग्रीहरू राख्ने योजना बनाएका छन् ।

च्यानल खोल्ने क्रममा पुनले युट्युबबाट प्राप्त हुने आम्दानीलाई विशेष काम लागि प्रयोग गर्ने बताएका थिए । “मैले जुन जिम्मेवारी पूरा गर्दै छु, त्यसका लागि छुट्टै आर्थिक स्रोत आवश्यक छ, त्यसैले युट्युब च्यानल खोलेको हुँ,” उनले भनेका छन् ।

यसअघि पुनले आफ्नो आत्मकथा ‘सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीबाट उठेको रकम वीरगञ्ज कृषि औजार कारखानाको मर्मत कार्यमा लगानी गर्ने घोषणा गरिसकेका छन् । उनका अनुसार हालसम्म एक लाख ८० हजारभन्दा बढी प्रति पुस्तक बिक्री भइसकेको छ ।

पुनले आफ्नो नाममा खोलिएका फेक च्यानलहरूबाट बच्न आग्रह गर्दै आधिकारिक च्यानलमात्र फलो गर्न अनुरोध गरेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १३, २०८१ १३:५७