close

भुलवश च्याट ग्रुपमा पत्रकार एड भएपछि खुल्यो अमेरिकी सेनाको गोप्य योजना

टेकपाना टेकपाना

चैत १४, २०८१ १४:४

भुलवश च्याट ग्रुपमा पत्रकार एड भएपछि खुल्यो अमेरिकी सेनाको गोप्य योजना

काठमाडौं । अमेरिकी सेनाको गोप्य च्याट बाहिरिएको छ । युद्धसम्बन्धी छलफल गर्न बनाइएको उक्त च्याट ग्रुपमा भुलवश पत्रकार एड भएपछि सेनाको गोप्य योजना बाहिर आएको हो ।

इन्क्रिप्टेड मेसेजिङ एप ‘सिग्नल’मा भएको उक्त छलफलमा यमनका हुथी विद्रोहीहरूलाई लक्षित गर्दै आक्रमणको योजना बनाइएको थियो । च्याटमा आक्रमणको समय, स्थान, सेना परिचालन र हतियार प्रयोगसम्बन्धी महत्त्वपूर्ण जानकारीहरू समेटिएका थिए ।

उक्त च्याट समूहमा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, रक्षासचिव हेगसेथ, सीआईएका निर्देशक जोन र्याटक्लिफ र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज सहभागी थिए । उक्त च्याट मार्च १५ को थियो, जुन दिन अमेरिकी सेनाले हुथी समूहमाथि आक्रमण गरेको थियो ।

बीबीसीमा प्रकाशित समाचारअनुसार च्याट ग्रुपको नाम ‘Houthi PC small group’ राखिएको थियो, जसमा १९ जना सदस्य थिए । च्याटमा भएका कुराकानीहरू एक हप्तापछि स्वचालित रूपमा मेटिने गरी सेट गरिएको थियो ।

पत्रकार कसरी एड भए ?

अटलान्टिक म्यागेजिनका प्रधान सम्पादक जेफरी गोल्डबर्गले उक्त च्याटको स्क्रिनशटहरू सार्वजनिक गरेका हुन् । उनको भनाइअनुसार अमेरिकी रक्षासचिव हेगसेथले गल्तीले उनलाई समूहमा एड गरे । गोल्डबर्गले आफ्नो लेखमा लेखेका छन्, “मैले बम खसालिनुभन्दा दुई घण्टाअघि नै आक्रमण योजनाबारे जानकारी पाएको थिएँ ।”

गोल्डबर्गले उक्त विषयबारे अमेरिकी सरकारलाई खबर गरेपछि मात्रै आफू च्याट ग्रुपबाट बाहिरिएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पको प्रतिक्रिया

यो विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजले यस घटनाको सत्यता जाँच भइरहेको बताउँदै असम्बन्धित व्यक्ति गल्तीले समूहमा एड भएको हुन सक्ने बताएका छन् ।

यस घटनाले ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षाप्रतिको लापरवाही देखाएको भन्दै विभिन्न सञ्चारमाध्यमहरूले आलोचना गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १४, २०८१ १४:४