close

अनलाइन जुवा खेले/खेलाएको भन्दै देउवा टोलबाट ११ जना भारतीय पक्राउ, भेटियो २ अर्बको कारोबार

टेकपाना टेकपाना

चैत १४, २०८१ १७:२४

अनलाइन जुवा खेले/खेलाएको भन्दै देउवा टोलबाट ११ जना भारतीय पक्राउ, भेटियो २ अर्बको कारोबार

काठमाडौं । अनलाइन जुवा तथा सट्‍टेबाजी खेल्ने/खेलाउने तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा ११ जना भारतीय नागरिकहरू पक्रार परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सो अभियोगमा बुढानीलकण्ठबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-३ देउवा टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणा समेत ११ जना भारतीय रहेका छन् । उनीहरूलाई मङ्गगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुढानीलकण्ठ नगरपालिका-३ देउवा टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरूले अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ परिसर समेतको प्रहरी टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ३४ थान मोबाइल, ५ थान ल्यापटप, १४ थान भारतीय बैंक खाताको चेक बुक, २७ थान भारतीय एटीएम कार्ड र ४० थान भारतीय सिमकार्ड समेत बरामद गरेको छ ।

साथै उनीहरूले हालसम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरेको प्रहरीले उल्लेख गरेको छ । साथै ९६ लाख ३३ हजार रुपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०८१ १७:२४