काठमाडौँ । काठमाडौँ महानगरले पूर्व राजा ज्ञानेन्द्र शाहको नाममा तोकेको जरिबाना तिर्न राजावादीहरूले सामाजिक सञ्जालबाट रकम सङ्कलन थालेका छन् । राजावादी समर्थक रमेशराज बास्तोलाले अहिलेसम्म ४ लाख ५० हजार रुपैयाँ सङ्कलन भएको जानकारी दिएका हुन् ।
गत शुक्रबार राजधानीमा राजतन्त्र पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा फोहोर मैला गरेको र दमकलमा क्षति पुर्याएको भन्दै महानगरले ज्ञानेन्द्र शाहको नाममा सात लाख ९३ हजार रुपैयाँ जरिबाना तोकेको थियो । आइतबार जरिबाना पत्र बुझाउन निर्मल निवास पुगेको महानगर प्रहरीको टोलीले भित्र प्रवेश गर्न नपाएपछि हुलाकबाटै उक्त पत्र पठाइएको छ ।
महानगरले पूर्व राजा ज्ञानेन्द्रको नाममा जरिबाना पत्र काटेपछि राजावादीहरूले काठमाडौँका मेयर बालेन शाहको आलोचना गरिरहेका छन् । पर्यटन प्रवर्धक समेत रहेका र राजतन्त्र पुनर्बहालीका पक्षधर बाँस्तोलाले भने बालेन शाहलाई गाली नगर्न अनुरोध समेत गरेका छन् । "बालेन शाहलाई गाली नगरौँ, उहाँको अधिकार प्रयोग गर्नु भएको हो, तर नाम सच्याउन अनुरोध गरौँ," उनले भनेका छन्, "राजाको नाममा जरिबाना पत्र काट्नु पटक्कै सुहाउँदैन ।"