close

ह्वाट्सएपमा अब आफूले चाहे जस्तै एआई अवतार बनाउन सकिने, स्टाटसमा म्युजिक राख्ने विकल्प पनि

टेकपाना टेकपाना

चैत २७, २०८१ १५:३४

ह्वाट्सएपमा अब आफूले चाहे जस्तै एआई अवतार बनाउन सकिने, स्टाटसमा म्युजिक राख्ने विकल्प पनि

 

 

काठमाडौँ । ह्वाट्सएप प्रयोगकर्ताले अब आफैँले आकर्षक एआई अवतार बनाउन सक्ने भएका छन् । एपमा आएको पछिल्लो अपडेटसँगै प्रयोगकर्ताले मेटा एआई असिस्टेन्टको सहयोग लिएर एआई अवतार तयार पार्न सक्ने भएका हुन् ।

यसअन्तर्गत ‘imagine’ प्रम्प्ट प्रयोग गरी आफूले चाहेको जस्तै अवतार बनाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको भिडिओमा ‘इम्याजिन मी इन अ प्रोफेसनल हेडसट’ वा आफ्नो कपाल वा पहिरन परिवर्तन गर्न चाहने अन्य प्रम्प्ट प्रयोग गरेर एआई अवतार बनाएको देखाइएको छ ।

मेटा एआईले वास्तविक जस्तै अवतार बनाइदिने भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यस्तो एआई अवतार सुविधाका लागि ह्वाट्सएपले लामो समयदेखि परीक्षण गरिरहेको थियो ।

गिफ क्रेडिट: ह्वाट्सएप

यो सुविधा सन् २०२४ मा पहिलो पटक परीक्षणमा देखिएको थियो । प्रयोगकर्ताले ध्यान दिनुपर्ने कुरा के हो भने यो नयाँ सुविधा ह्वाट्सएपको अवतार सेटिङमा उपलब्ध फिचरभन्दा फरक छ ।

यो सुविधा नेपालमा पनि चाँडै उपलब्ध हुने अनुमान गरिएको छ ।

यसबाहेक, ‘ह्वाट्सएप स्टेटस’ अपडेट गर्ने प्रयोगकर्ताले अब कलाकारको संगीत पनि थप्न सक्ने भएका छन् । यो नयाँ सुविधा इन्स्टाग्राम स्टोरीमा लोकप्रिय फिचरसँग मिल्दोजुल्दो छ । स्टेटस शेयर गर्नुअघि प्रयोगकर्ताले माथिको ‘म्युजिक नोट’ आइकनमा ट्याप गरेर फोटो वा भिडिओसँग मिल्ने गीत खोज्न र चयन गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८१ १५:३४